संस्कारले साटिएकी गुक्ची
विविध किसिमको परम्परा, चालचलन र रीतिरीवाजले सजिएको थारु संस्कृतिमा राम्रो पक्षका साथै केही नराम्रा संस्कारहरु पनि विद्धमान छन् । जस्तैः झाँगा तिर्ने (केटीको आमाबुबालाई केटा पक्षले पैँसा र अन्न तिर्ने चलन), साटासाट विवाह गर्ने (एक घरको दाजुबहिनी अर्को घरको दिदीभाइसँग साटासाट गरी विवाह गर्ने चलन), अनमेल विवाह गर्ने र बालविवाह गर्ने।
हाल कतिपय ठाँउमा यस्तो विवाहको परम्परा लोप हुँदैछन् भने तराईका अविकसित, अशिक्षित ठाँउमा अझै पनि रही रहेको यदाकदा सुनिन्छ ।
कुरा १० वर्ष अगाडिको हो । दाङको एक थारू गाँउका दाजु बहिनी खेम प्रसाद चौधरी र गुक्ची चौधरीको साटासाट विवाहको कथा हो यो । ती दाजुबहिनीको बाल्यकाल त कस्तो रह्यो त्यो मलाई थाहा छैन तर तिनीहरुको विवाहको अवसरमा ‘कचरीक बरिया’ अर्थात मासको बडी भने पक्का खाएको थिएँ । थारु जातिको विवाहमा कचरीक बरिया अनिवार्य हुन्छ ।
बडो धुमधामसँग पञ्चेबाजा बजाएर ती दाजुबैनीको विवाह सम्पन्न भएको थियो । विवाहको बेला त्यो घर कति सजिएको थियो, घरका सदस्य कति खुसी थिए, त्यो अवर्णनीय छ ।
पहिलो दिन विहान दाजु खेम प्रसादको जन्ती लिन पल्लो गाँउमा गयो। साँझ दुलही ल्याए। भोलि पल्ट खेम प्रसादको ससुराली अर्थात खेम प्रसादको सालोको जन्ती आयो बैनी अर्थात दुलही गुक्चीलाई लिन । साँझ गुक्चीको विदाई पनि राम्ररी नै भयो । यसरी साटासाट गरी दाजुबहिनीको विवाह सुसम्पन्न भयो ।
यो दैवको रचना भनौ, भाग्यको खेल, या त फेरि आमा-बाबुको लापर्वाही अथवा विवशता……। खैर जे भने पनि २-३ महिना पछि खेम प्रसादको अंग दुर्वलताका कारण उसको वैवाहिक जीवनमा विस्तारै-विस्तारै खल्लोपना आउन थल्यो। उता भने गुक्चीको वैवाहिक जीवन पूर्ण रुपमा सफल हुँदै थियो। गुक्ची गर्भवती पनि भैसकेकी थिई ।
हेर्दाहेर्दै आखिर एकदिन खेम प्रसादको लोग्नेस्वास्नीबीच छुट्टापत्र गर्ने स्थिति आयो । यस घटनाले गुक्ची र उसको श्रीमानबीच ठूलो भूँइचालो ल्यायीदियो । साटासाट विवाहको नियम अनुसार छुट्टापत्र पनि दुई परिवार पक्ष र गाँउका बुज्रुकबीच बैठक बसेर गरिन्छ । आखिर जे नहोस् भनिएको थियो त्यही भयो ।
खेम प्रसादको स्वास्नीले कुनै हालतमा खेम प्रसादको घरमा नबस्ने निधो गरेपछि खेम प्रसादको आमाबाबुले पनि आफ्नी छोरी गुक्चीलाई जवर्जस्ती आफ्नै घर ल्याए ।
त्यस बखत मैले दुईटा प्रश्न सोधेको थिएँ- ‘गुक्चीलाई किन फर्काइयो ? गुक्चीको पेटको बच्चा कस्ले लिन्छ ?’’
यसको जवाफ थियो- ‘गुक्ची नफर्केसम्म खेम प्रसादले स्वास्नी पाँउदैन। अब खेम प्रसादले जहाँबाट दुलही ल्याउँछ गुक्चीलाई त्यही घरमा दिनुपर्छ र उसको बच्चा नँया बाबु जो बन्छ उही नै हुन्छ ।’
मलाई त्यो जवाफले चित्त बुझेको थिएन । त्यो घटनाले अझै पनि पिरोली रहन्छ मलाई। पेटको बच्चलाई नँया बाबुले के आफ्नो बच्चा जस्तै माया गर्छ ? अर्को विवाह गर्दा गुक्ची साँच्चै सुखी, खुशी र सन्तुष्ट हुन्छे त ? र समाजले गुक्चीसँग कस्तो व्यवहार गर्छ, आदि, इत्यादि।
आँखै अगाडि दाजु बहिनीको दुःखदायी वैवाहिक जीवनको कथा नाँची रहेको थियो। र धिक्कार्दै थियो ती कूसंस्कार र साटासाट विवाहको परम्परालाई । साँच्चै नै निर्मुल पार्ने आवश्यकता महशुस भएको थियो । तर थाहा भएन पछि उनीहरुको जीवनले के मोड लियो?
मात्र यति भन्न सक्ने अवस्थामा थिए कि- गुक्चीको जस्तो अन्य गुक्चीले आफ्नो चोखो प्रेममा लात मार्न नपरोस् । आफ्नो भावी सन्तातसँग झूँठो बोल्न नपरोस्। मान्छेको जुनी पाएर पशु जस्तो साटिन नपरोस् ।
अडिओ कथा सुन्नुहोस्ः
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

