मेरी श्रीमतीले चिया बेच्दै गरेको
म ओछ्यानबाट चियाएर हेर्न बाहेक
केही गर्न सक्दिन।
यदि चियाउँदा चियाउदै मरिहाले भने
चिहानमा पुर्याउने यै बुडी त छे।
सन्तान नभएको होइन हाम्रा
हामीलाई हेर्ने छोरो छ एउटा
तर न बोल्न सक्छ न सोच्न सक्छ
र्याल चुहाएर टोलाई बस्छ
म ओछ्यानबाट छोराले दुःख दिइरहेको
हेर्न बाहेक केही गर्न सक्दिन
लठेब्रो छोरोलाई यसो गर्नु हुन्न है बाबु भन्दै संस्कार सिकाइरहन्छे।
यदि संस्कार बुझिहाल्यो भने
हामी मरेपछि दाहसंस्कार गर्ने
यही एउटा छोरो त छ।
सम्पति पनि नभएको होइन
बाटो छेउको ऐलानी जग्गामा टहरो छ
बिहान त्यै टहरो चिया पसल बन्छ
अनि बेलुका त्यै सुत्ने घर बन्छ।
निर्धक्कसँग निन्द्रा कहा लाग्छ र
बाटो बढ्छ रे अब छिट्टै
भन्छन् अब ठूलै विकाश हुन्छ
त्यै विकास नै हाम्रो उठिबास हुने
ठूलो डर बन्छ।
अब उनीहरूको बिजोग हुने भयो भनिरहेको ओछ्यानबाट सुन्नु बाहेक म केहि गर्न सक्दिन।
यै सुन्दा सुन्दै यो सुन्निएको शरीर लादेर हिडने मलाई मेरी बुढी र छोरो त छन्।
बिहानको चियाको चुस्की लिने भन्दा
बेलुकीको लोकल whisky पिउनेहरुकोभीड हुन्छ हाम्रो पसलमा ।
चियाको चुस्की लिनेहरुले कुरा काटेर जान्छन्।
रक्सी पिउनेहरूले भोलि दिन्छु है
भन्दै ढाँटेर जान्छन्।
कसैले एक्ली आइमाई देखेर र्याल काढेर जान्छन्।
त्यो सब्बैकुरा बुझेर पनि बुझपचाउन बाहेक अरु केही गर्न सक्दिन।
आखिर मेरो चितामा आगो लगाउन
मेरो लठेब्रो छोरो अघि बढ्दा
यसरी गर् है बाबु भनेर सिकाउन जाने
यिनै त हुन।
आखिर मेरो चितामा आगो लगाउन
मेरो लठेब्रो छोरोलाई खर्च जुटाउन
चर्को ब्याजमा भएपनि ऋण दिनसक्ने पनि यिनै त हुन।
म त मृत्युलाई पर्खिएर बसेको छु।
आजभोलि भन्दै दिन गन्दै बसेको छु।
निभ्न लागेको दियोमा बुढिले थपेको तोरीको तेल जस्तै भएको छ मेरो भाग्य।
त्यही दियोमा हाल्ने तोरीको तेलको
जोरजाम गर्न ।
मेरो मनको सलेदो निमोठीएको पनि
थाहा पाएको छु कालो रातहरुमा।
तर निदाएको जस्तो गरेर, केही थाहा नपाएको जस्तो गरेर लम्पसार पर्नु बाहेक केही गर्न सक्दिन।
आखिर मन पगालेर मेरो सलेदोलाई
जिवित पार्ने प्रयास गर्ने यही बुडी त छे।
जवानीमा परिवर्तन ल्याउन
बन्दुक बोकेका यी हातहरू
आजकल चल्दैनन्।
आफ्नो जिन्दगी ओस्सिएको बारूद भई सक्दा पनि कोही किन बोल्दैनन् ?
म मरिसकेपछि झण्डा ओढाउन
तयार बसेकाहरु
चिसोमा यो मुढो जस्तो शरीरमा
तन्ना सम्म ओढाउन कहिले किन भ्याउँदैनन।
जवानी लुटाए, जिन्दगी बिताए
शरीर अपाङ्ग बनाए ,
हिरासतको चरम यातना भोग्दा
न कहिले डराए ।
परिवर्तनको नाममा जिब्रो काटिदा समेत न कहिले हार खाए।
आजकाल कोठाको भित्तामा रहेको मेरो उ बेलाको तस्बिर हेरेर आफूलाई स्वीकार्न, हकार्न , धिक्कार्न बाहेक केही गर्न सक्दिन।
आखिर मलाई म भनेर चिनाउने यै एउटा तस्बिर त छ।
आज आएर सोच्ने गर्छु
राजनीति भनेको त्यही उधारो चिया जस्तै गुलियो हुँदो रहेछ।
परिवर्तन भनेको त्यही झुट बोलेर खाएको लोकल whisky जस्तै टर्रो हुँदो रहेछ।
दिउँसो कुरा काट्ने, बेलुका ढाट्ने
कालो रातमा मजबूरीको फाइदा उठाउने, लुट्न सकेजति लुट्ने।
लाचार बनाएपछि आखिर जे गर्दा नि त भो।
मेरी श्रीमतीले उधारो चिया बेच्दै गरेको
म ओछ्यानबाट चियाएर हेर्न बाहेक
केही गर्न सक्दिन।
यदी चियाउँदा चियाउदै मरिहाले भने
चिहानमा पुर्याउने यै बुडी त छे।
छोरालाई संस्कार सिकाउँदा सिकाउँदै हामी मरेपछि दाहसंस्कार गर्ने
यै एउटा छोरो त छ।
आखिर मेरो चितामा आगो लगाउन
मेरो लठेब्रो छोरोलाई खर्च जुटाउन
चर्को ब्याजमा भएपनि ऋण दिनसक्ने पनि यिनै त हुन।
आखिर मन पगालेर सलेदोलाई
जिवित पार्ने प्रयास गर्ने यै बुडी त छे।
उधारो चिया बेचेर भएनी
आफूलाई उधारेर भएनी
मेरो घाउका खाल्डाहरुमा मलमले
भर्ने यै बुडी त छे।
त्यसैले म ओछ्यानबाट चिहाउन बाहेक
केही गर्न सक्दिन।
यदि चियाउँदा चियाउदै मरिहाले भने
चिहानमा पुर्याउने यै बुडी त छे।
Read: धारा | Nepali Poem | Saujan Dhakal
Also Read: स्वर्गकी आप्सरा | Nepali Poem | Saujan Dhakal
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com