समयले नेटो काटेको
परिस्थितिले साथ नदिएको
समाजबाट बहिष्कृत,
अपहेलित,
शोषित,
घृणित पात्र,
सबैको हेर्ने नजर
फेरिएको,
सबैको मुखबाट
श्राप सुन्दै ,
निरस,
निःसहाय,
विवश,
लाचार स्त्री म ।
बाँझी स्त्री म।
हाम्रै समाज
जहाँ म हुर्के,
बढे,
पढेँ,
सिकेँ
तर
बाँझी स्त्री
मलाई नाम दिएको
सम्मानले होइन,
जलनले-ईर्ष्याले,
रिसले,
श्रापले सरापेको
बाँझी स्त्री म।
त्यसैले म
गितारको चुँडिएको तारजस्तै लाग्छ।
तबलाको तार फुटेजस्तै
स्वाद चाखेर
फालेको बोक्राझैँ,
बलेर बिग्रेको चिमझैँ,
रद्दी कागजको खेस्राझैँ,
रद्दीको टोकरीमा मिल्काएझैँ
समाजबाट मिल्काएको
सबैका नजरबाट गिराएको ।
मैले छुँदा बिग्रन्छ रे!
मैले हेर्दा नजर लाग्छ रे!
शुभ कुरा अशुभ हुन्छ रे!
स्वादिलो भोज स्वादहीन हुने रे!
के के हो? के के?
के के हुने रे! के के?
थाहा छैन साइड
उनीहरूलाई।
उनीहरूको शब्दले,
तीर झैं घोप्छ मलाई।
यो कोमल मुटु,
वारपार छेड्छ मलाई।
त्यसैले कैयौं रात
अनिदो बसे,
कैयौँ रात आँसुले
सिरानी भिज्यो।
कैयौँ चोटि सुसाइड
गर्न तम्तयार भए।
भकाउँदै,
रुँदै,
आँसुको घुट्को पिउँदै,
बाँच्न विवश पार्छ मलाई।
वैराग बनाउँछ,
दिनदिनै जिउँदै मार्छ,
जिउने साहस गुमाउँदै,
तर
एकान्तमा
बसी,
एकोहोरिँदै,
रन्थनिँदै,
कालो सोचलाई
बदल्ने,
ज्वारभाटा उठ्छ मनमा।
समाजमा सुनामी ल्याउँदै,
हाहाकार,
कोलाहल,
भुईँचालो,
ज्वालामुखी,
मिसाइल
विस्फोट गराउने
मन छ।
सारा अछुत सोचलाई
चिर्दै,
सारा श्रापलाई आशीषमा
बदल्दै,
स्वच्छ-स्वस्थ समाज
निर्माण गर्न आतुर छ
यो मन।
धन्यवाद

