“बा! म स्कूल जान्न” – Nepali Poem | Jivan Pande

बा! म स्कूल जान्न
जान त गाको छु स्कूलमा
पढ्नै मन लाग्दैन स्कूलमा
जति पिर, तनाव अनि मनै नलागे नि
तपाईलाई भनेकै थिइन
इतिहासका मरेका दिनहरु र पढेर अर्थहिन शुत्रहरु
केही जिवनोपयोगी लिइन
स्कूलमा सधै भन्ने गर्छन् ध्यान दिएर सुन, शान्त बस,
मेरा कुरा सुन लेख, यो पढ त्यो पढ, यो गर त्यो गर यस्तै यस्तै भन्दै
दिन, हप्ता अनि वर्ष सकिन्छ तर
कैले सिक्छु था छैन जिवनोपयोगी कलाहरु
सुन्नु छैन मलाई अब ती उपदेशका धारावाहिक शृंखलाहरु
बा! अब स्कूल जाँदिन म
मरेका दिनहरु पढ्न
बा! अब त स्कूल जाँदै जान्न
जँहा, भोलि मैले तपाईले पढाउन लिएको रिणसम्म तिर्न सक्दिन
एक आदर्श छोरा बन्न सक्दिन
मानव बन्न सक्दिन
झन् नैतिकता त दिँदै दिन्न
न रचनात्मक न त कलात्मक बन्न सिकाउछ
केवल त्यहाँ त
रटाईन्छ इतिहासका मरेका दिनहरु
हिडाइन्छ अर्कैले बनाएका बाटाहरु
घोकाइन्छ मानव जीवनमा कामै नलाउने अनेकौ सिद्धान्तहरु गणितका अनगिन्ती शुत्रहरु
मलाई त बाँच्नु छ आउने दिनहरुमा
न कि बितेका मरेका ती पानाहरुमा
इतिहास, शुत्रका ठेली होइन
ती पानाहरुलाई पछाडी नै छाडेर
मलाई त आगाडी बढ्नु छ
नयाँ कुरा, कला, केही नयाँ गर्नु छ
त्यसैले बा! म स्कूल जान्न
कुनै भुगोलका नक्सा होइन  खेलौना बनाएर चलाउन,
उडाउन मन पर्छ
नयाँ नयाँ कुरा सिक्न मन पर्छ
ती सिद्धान्त, शुत्रहरु जीवनमा कहिले? काँ? र कसरी? प्रयोग हुन्छ जान्न मन पर्छ?
असल मान्छे कसरी बन्ने?
कसरी बाँच्ने भनेर सिक्नु पर्ने  ए प्लस (A+) कसरी
लेराउने भनेर मात्र सिक्छौँ जीवनभोर विद्यार्थीमा
जसरी धनी र गरिब वर्ग बीच भेदभाव हुन्छन् समाजमा
हो त्यसरी नै भेदभाव हुन्छ जान्ने र कमजोर विद्यार्थीमा
त्यसैले बा! म स्कूल जान्न
घरका भित्तामा माला सहितको फोटो झैँ इतिहासका ती
फ्रेममा राखिरहने त्यो आदर्शभन्दा
आज सँगै भोलि भोग्न सक्ने आदर्श बन्न
पानीले बाटो आफै बनाएझैँ मलाई पनि आफै बनाएर हिड्नु छ
न कि पुर्खाले बनाएको बाटो सधै हिँड्न
आफ्नै बलमा केही गर्नु छ
सुनौला दिनमा आफैलाई भर्नु छ
पानाका ठेली रटेर होइन
यस धरतीमा जन्मेपछि यसले बोकाएका भार, रिणहरु तिर्नु छ
तीन घण्टाको परीक्षाले मेरो जीवन निर्धारण गरिन्छ भने
मेरो मुल्यांकन गरिन्छ भने
बा! मलाई स्कूल जानु छैन
जहा इतिहास, शुत्रहरु घोकाइन्छ
बा! म स्कूल जान्न
मलाई दु:खसँग जुँध्न सिकाइदैन
आत्मबल बढाउन सिकाइदैन
केवल चार दिवारभित्र थुनेर
जहाँ म भित्रको प्रतिभालाई केलाइदैन
र मात्र सधैँ त्यही पानाहरु रटाइन्छ
त्यसै अनुरुप गराइन्छ
साच्चै बा! यसरी तपाईको छोरो  के ठूलो मान्छे हुन्छ र?
त्यसैले बा! म स्कूल जान्न
मरेका दिन र कामै नलाग्ने शुत्र मात्र घोक्न
बा! म स्कूल जादैँ जान्न
म स्कूल जान्न।।
– Nepali Poem by Jivan Pande
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *