आज, विरह भाकामा विलाशी मनको व्यथा सुनाउँदैछु।
सुनौलो भविष्यको आशामा, वैशालु आँट लिएर मातृभुमि छोडी हिडेको गाथा सुनाउँदैछु।
आज, जोस र जागरले, ‘ल! अब बाटो लागौं है त’ भनिरहँदा ,
कठै, एकादेशको कथा सुनाउँदैछु।
गुमनाम यो जीवनमा, उत्कृष्टताको उपनाम हासिल गर्ने ती कलिला रहरहरु।
तिनै रहरहरुभित्रका, थकित चित्रहरु अनुवाद हुने ती सपनाका सहरहरु।
जहाँ …. शरणार्थीहरुको, ठूलो भिँड थियो ।
सुखी अनि सम्पन्न जीवनयापनको, सुकिलो सपना सजाइ…रमाइलो वैशका, गहकिला क्षणहरुसँग, सम्झौता गर्न तयार ।
त्यहाँ…. जोसिला युवाहरुको ठूलो भिड थियो।
आत्मीयताको, माधुर्य डोरीले बाँधिएका ती गाउँले सम्बन्धहरु पनि त्याग्न तयार।
त्यहाँ…. अन्जान यात्रीहरुको, ठूलो भिँड थियोे ।
यता,
म बिना मेरो घर त, इटा र सिमेन्टको भित्तो पो भएछ।
म हुँदाहुँदै पनि, कठै मेरी आमाको काख रित्तो पो भएछ।
मिहिनेत गरे आफ्नै माटाेमा सुन फल्छ ,
हिम्मत नहारे आदर्शकै बाटाेमा शत्रु गल्छ,
बाबु नजान…भन्दै आमाले भनेको सत्य पो रहेछ।
वीर पुर्खाले रचेको त्यो विकासको अधुरो अध्यायलाई तिम्रो अठाेट प्रयासले पूर्णता दिनेछ,
बुबाको त्यो सम्बोधन, सफलताको तथ्य पो रहेछ।
हेर,
रित्तो गोजीले तिम्रो अस्तित्वको खोजी गर्ला ,
तिमी अपरिचित देशमा, अपरिचित भेषमा,
आफ्नो परिचय कहिल्यै नखोज्नु।
अवसरको अभावमा पनि, तिम्रो विश्वासको स्वभावले उर्जाको श्रोत अवश्य पाउँनेछ।
आफ्नो संस्कारको सौन्दर्यता, अनि संस्कृतिको पवित्रता तिमी कहिल्यै नभुल्नु ,
नेपाल आमाको स्वाभिमान इतिहासमा अवश्य अमर रहनेछ।
देशको अन्योल भविष्यको निराशामा, आशाको अनुराग हौ तिमी,
ती अन्जान गल्लीहरुमा आफ्नो गौरवको बिलौना नगर्नु,
आफ्नै देशमा, ती संघर्शका साहसी टाकुराहरुमा समृद्धिको सन्तोसी आभाष अवश्य पाउनेछौ।
-जागृति।
Read More Nepali Poem:
प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com