Nepali Poem | टुहुरा बाबू आमा / खेताला मलामी / कुन्ठा | Abin Thatal

Nepali Poem Abin Thatal Offline Thinker

मेरो बाबु आज म टुहुरो भएको अनुभूति गरे बा !
माउ नभएर गुँडमा बचेराहरु जसरी एक्लो अनुभूति गर्छ्न्
बा……त्यसरी
जसरी कोदालो बिडसँग छुटिन्छ,
जसरी हलो जुवासँग छुटिन्छ ।
त्यसरी म एक्लो भएको छु

मेरो बाबु मेरो जीवनदेखि जगत सबै बाजो छ बाबु यहाँ हँ हँ गर्दै जोत्ने बाबु पनि छैन
हँ हँ गर्दै हिडेका यी पैताला मुसार्ने बाबु पनि छैन ।
आज तिमी खेलेको गाउँ उजाड हुँदै गएको छ
यहि गाउँका उजाड बाबु आमा तिमीलाई पर्खिरहेको छ्न्
आज तिमी नुहाएका खोलाहरु पनि सुक्खा हुँदै गएका छन् यहि खोलाका ढुङाहरु जहाँ तिमी नुहाएर घाम ताप्न तप तप पानी चुहाउँदै बस्थियौ आज त्यही ढुंगा सुख्खा भएर तिमीलाई पर्खी रहेको छ ।
तिमीले सधैँ खाइरहने अम्बाको रुख तिमीलाइ नै पर्खिरहेको छ ।

बाबु तिमीले पहिलो पटक हेरेको ‘क’ अक्षरले कहिले कता तिर पुर्यायो थाहा भएन तर मैले तिमीलाई पुर्याएको ‘क’ अक्षर त काध थियो ।
बाबु तिम्रो आमाले एउटै टालो टाल्टुल पारी एकावन चोटी पखाली फेरेको दिनहरु मलाई ताजा छ । बाबु तिमीले त्यो टालो फेरे सरि आफ्नो सपना न फेर्नु ।

बाबु तिमी जुन टालोमा लडिबुडी गर्दै हुर्कियौ ।
जुन टालोमा बाधिएका सिक्काले तिमीले राते मिठाई खान्थियौ ।
तिमी जुन टालो लगाएर सिकुवामा बसेकी राधाको थुन चुसिरहनथियौ ।
जुन टालोले त्यो तिम्रो अहंकार पूरा गर्थियो ।
त्यो टालो लिएर म तिमी सधै नुहाउने खोलामा बगाउँदै छु ।
तिमीसंगै गएका तिम्रा साथीहरुले आफ्ना बाबु आमालाई समेत लिएर समतलमा बसाइ सरे
आज तिम्री आमाको एक काध फेर्ने मलामी पनि छैनन् बाबु तिम्रा बाबुसँग ।
तिम्रा बाबुसँग त पैतालाका चालहरुमा झरेका मरेका आशहरु बाहेक केही छैन ।
तिमी त्यो लोकका चित्रबाट यहाँ कुनै बेस घुम्न आयौ भने यो मगजको चिठीलाई हेर्नु
सुन्छु समुन्द्र पारीका शहरमा बाबु-आमा किन्न पाइन्छ रे ! छोरा छोरी किन्न पाइएछ भने मलाई खबर गरी दिनु है बाबु……
शून्यमा शून्य सरि बिलायो
न चरीले गुड पायो न भुमरीले भुइ पायो
न आकाशको दोष छ, न यो सकसको
एउटा आँधी आयो बेस्सरी हावा चलायो
शून्यमा शून्य सरि बिलायो ।।

लेखक : अबिन ठटाल

Read More From Abin Thatal:

https://offlinethinker.com/nepali-poem-abin-thatal-kathmandu/
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *