आमा हुनु सबै भन्दा सौभाग्यको कुरा हो भन्छन् । एउटी आमाको जीवनमा सन्तान प्राप्ति हुनु सबै भन्दा ठूलो खुसिको कुरा हो ।
हुन पनि किन नहोस् । नौ–नौ महिना आफ्नो गर्भमा राखेर, सारा दुःख कष्ट भोगेर, आफैले सबै स्यहार सुसार गरेर, माया दिएर जन्माएको सन्तान पाँउदा को आमा खुसी हुनुहुँदैन होला र ? ताते–ताते गर्दै हिँड्न सिकाउदा, को खाइ को खाइ गर्दै खाना खुवाउँदा, सुत बाबु सुत गुनगुनाउँदै सुताउदा, बा–बा गर्दै नँया संसारमा घुलाउँदा को आमा खुसी नरहनुहोला र ?
आमा न हो ! बदमास गरे पनि माया लागिहाल्दो होला, चकचक गरे पनि गरोस् हुँदो होला, खाना नखाईदिँदा कसरी फकाएर खुवाऊ हुन्थ्यो होला, रोइ हाल्यो भने के भएछ भनेर चिन्ता लाग्थ्यो होला, हावा चल्यो कि बाबुलाई जाडो भयो होला लुगा लगाइ दिनुपर्यो सोच्नुहुन्थ्यो होला । कति गाह्रो थियो होला आमालाई त्यो बेलामा सायद ।
जाडो महिना आयो रुघाबाट बचाउनु पर्छ, गर्मीमा घमाउरा आउला भन्ने डर, घामले छाला डढाउला, चिसोले ओठ फुटाउला, वर्षामा भिजेर ज्वोरो आउला । कति गाह्रो हो सन्तानलाई हुर्काउन पनि लाग्थ्यो होला कहिलेकाहिँ आमालाई ।
“ओहो, लाम्खुट्टे पो आउदै छ, झुल भित्र राख्नु पर्यो । हरे ! फेरि आछ्यानमै मुत्यो । धोएको लुगा सुक्यो कि सुकेन होला ? आज के खाजा खुवाउने होला ? अफिसमा बिदा पनि दिँदैन । यसपाली अझ अफिसबाट १० दिनको लागि विदेशमा प्रशिक्षण तालिमको लागि लग्दैरहेछ तर बाबुलाई छोडेर कति दिनसम्म बस्नुपर्छ, बरु जाँदिन । कहिले हुर्किन्छ यो ?” यस्तै कुरा सोच्नुहुन्थ्यो होला आमाले सायद ।
तर समय न हो । न कसैले राम्ररी चासो दिए न समयले नै कसैलार्ई पर्खेर बस्यो । बाली फेरेको झै कत्ति छिट्टै बितिहाल्ने रहेछ समय पनि । बाल्य अवस्थामा आमालाई मैले धेरै नै दुःख दिए होला तर बिस्तार बिस्तारै अब म हुर्किन थालेको थिए । बामे सर्ने म अब दुई खुट्टामा हिड्ने भएछु ।
आमा–बाबा, दादा–दिदी, काका–काकी, खाना–नाना, पापा–मिठ्ठु आदि मेरो दैनिक बोलिरहने शब्दहरु भइसकेछन् । लुगा फेर्न आइज भनेको सुन्ने बित्तिकै खुरुरुरु दगुरेर खाटमुनि लुक्न जान्थेँ । खाना खाने बेला खान्न भनेर घुर्कि लगाउन सक्ने भैसकेको थिएँ म ।
केहि महिना मात्र बाँकी थियो अब मेरो स्कुल जाने दिनहरु सुरु हुनको लागि । आमाले मलाई “धेरै पढ्नु, ठूलो मान्छे बन्नु, तैले पछी गएर हाम्रो नाम राख्नुपर्छ, तेरो धेरै जिम्मेवारी छन्, मेहिनेत गर्न सिक है बाबु” भन्नु हुन्थ्यो । यी कुराहरु सुन्दासुन्दै म पढ्न जान थालिसकेछु । बा–बा भन्दै बोल्न सिकेको म आज ‘क देखि ज्ञ’ जान्ने भइसकेछु । अरु साथीहरुको रहनसहन देखेर सिकेको हुनाले मलाई पनि मिठो–मिठो खानु पर्थ्यो, नँया नँया लुगा किन्नु पर्थ्यो , ठूलो कापीमा लेख्नु पर्थ्यो । घरमा त आफ्नो मात्र हकअधिकार जमाएर हुर्किन थालको थिए म ।
बिस्तारै बिस्तारै नर्सिरी देखि दुई कक्षा पुगेँ । अब त आफै खाना खोजेर खाने भएको थिए म । साथीभाइहरुसंग परपर चोकमा खेल्न जान्थेँ, हल्ला गर्थेँ, छिमेकीको बारीबाट गाजर, अम्बा, आरु चोरीचोरी हिड्थेँ । साह्रै बदमास भइसकेको रहेछु म । गृहकार्य गर्न आमाले बोलाउनु हुँदा आज केहि होमवर्क छैन भन्दै ढाटेर साथीको घर गइ भिडियो गेम खेल्थेँ अनि साझपख थकित मुद्रामा घर आएर सर्लक्क कापी कलम झिकेर मैनबत्तीको उज्यालोमा होमवर्क गर्न बस्थेँ ।
त्यो बेलामा दैनिक रुपमा २० घण्टा बत्ती जान्थ्यो । जीवन यसै नै कठिन थियो हामीहरुको । आमालाई अझ मैले कति सताउथिए त्यसको त कुनै सुचि नै छैन । झन् वर्षाको समय पारेर मलाई ज्वरोले ल्याम्मै समात्यो । म एक हप्ताको लागि बिरामी परिदिए । त्यो एक हप्ता मेरी आमाले मेरो हेरचाह नगरिदिनु भएको भए, आफ्नो हप्ता बिदा काटेर घर नबसिदिनु भएको भए यो कथा लेख्न आज म हुने थिएन होला ।
घरमा जहिले सागभातको झोल मात्र तरकारी हुन्थ्यो, खाए खा नखाए ठुसेर खा भन्ने चलन थियो । हाम्रो आर्थिक स्थिति कम्जोर भएर होला जहिले पनि मेरो स्कुलको फिस तिर्ने बेलामा आफन्तसंग गुहार गर्न लानुहुन्थ्यो । संगै घुम्न गएको भने याद नै छैन, कत्ति सानोमा मात्र एक पटक घुम्न गएको थियौँ रे ।
‘अहिले फुर्सद छैन पछि तँ ठूलो भए पछि घुम्न जालास्’ भन्नु हुन्थ्यो । म फेरि साह्रै जिद्दी । एक पटक केहि चाहियो भनेपछी मलाई त्यो जसरी नि चाँहिन्थ्यो । मेरै जिद्दीको कारणले होला सायद एक पटक घरमा ठूलै घरकलह पनि परेको । आफू बच्चै थिए, गरौँ त के गरौँ त्यसैले हेरेरै बसेँ । त्यस दिनदेखि म अलिक बुझ्ने भए सायद । धेरै जिद्दी गर्न हुन्न भन्ने कुरा सिकेँ । घरमा कम दुःख दिन थाले, भनेको मान्न थाले, समय मै घर फर्किएर सबै गृहकार्य गर्न थालेँ र आमालाई अलिअलि भए पनि सघाउन थालेँ । ‘छोरा अलि बुझ्ने पो हुँदैरहेछ क्यारे !’ भन्दै आमाले ठट्टा गर्नुहुन्थ्यो ।
घाम उदाउँदै अस्ताउँदै गर्दागर्दै दिन, महिना, अनि वर्ष बिते । हेर्दा हेर्दै हिजोको सानो फुच्चे म, आज स्नातक तहमा पढ्ने भैसकेँ । फरक छ त एउटै कुरा– आज म हुर्केको जवान केटो भैसकेँ । ममा अथाह जिम्मेवारीहरु थपिएका छन्, म सबै कामहरु सकेसम्म आफै गर्छु, र म मेरो लक्ष्यको लागि दैनिकरुपमा एकाग्रताका साथमा लागि परेको छु।
म, मेरी आमाले चाहेको जस्तै डाक्टर वा इन्जिनियर त बन्न सकिन होला, उहाँका हजारौँ सपना त पूरा गर्न नसकौँला मैले तर एउटा सपना भने सधै पुरा गर्ने नै छु–
म सँधै सफल छोरा हुन नसके पनि असल छोरा रहिरहनेछु । आफ्नो सपनालाई पूरा गर्दै, गन्तव्यलाई अघि राखेर मिहिनत र परिश्रम गर्दै, इमान्दारी पुर्वक आफ्नो कला र सृजनालाई दुनिँयासामु प्रस्तुत गर्दै तपाईहरुको इज्जत र सानलाई माथि उचाल्ने प्रयत्न गर्नेछु ।
मलाई तपाईँहरुको साथ र आशिर्वाद दिनुहोस् आमा । मलाई तपाईँहरुको साथ र आशिर्वाद दिनुहोस् ।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com