Story by Bishnu Mijar
एकाविहानै उनको फोन आयो।
‘के गर्दै?’ उनले सोधिन।
‘कफि पिउँदै छु।’
उनले जिस्काउँदै भनी, ‘मलाई नदिने?’
म नि के कम। जिस्किदै नाके स्वरमा ‘नाई’ भने।
‘कस्तो छुच्चो है हजुर त।’
‘एउटा किस देउ न त?’ मलाई जिस्किन अझै पुगेको थिएन।
‘उम म्वा,,,,।’
फोनको स्क्रिन उनको ओठ ठान्दै दंग पर्दै भने, ‘आहा! कस्तो मीठो। रियलमा कहिले दिन्छौँ?’
‘उमममम….खै’ यति भन्दै कुरा टारी, ‘अहिले फोन राख्छु है। हजुरको अफिस जान ढिलो होला म सँग गफमा भुलेर। बाई।’
त्यतिकैमा फोन काटियो।
मलाई उनीसँग जिस्कन पुगेको थिएन। मन नहुँदा नहुँदै ‘हुन्छ बाई’ भनेँ।
खाना खाएँ अनि अफिसतिर लागे।
****
बिहानीपखको उनको भर्जुअल किसले दिनभर शरिरमा छुट्टै उर्जा मिलेको थियो। आजकाल मेरो मुहारको चमक देखेर घरका सदस्यहरुले, साथीहरूले, अझ अफिसमा पनि व्यंग हान्न थालेका छन्।
‘के हो आजकल त खुब फुरुङग देखिन्छस् नि?’
छु त के गर्छस् भन्न मन भए पनि ‘हैन केही होइन भनेर कुरा टार्थेँ।’
मेरो बानी फेरी म आफ्ना कुरा हतपत अरुलाई भन्न रुचाउँदिन। झन यो माया-प्रेमका कुरा त कसैलाई खोल्नु हुदैन भन्ने लाग्थ्यो।
एक दिन त अफिसको म्याडमले थाहै पाए जसरी सोध्नुभयो,
‘के हो माया प्रेमको जालमा पर्नु भयो कि के हो सर?’
‘हैट! म्याडम पनि। अफिसमा नि यस्तो कुरा गर्ने हो त।’ भन्देको ‘ए अ है साच्ची भनेर लुखुरलुखुर आफ्नो कामकोठा लाग्नुभयो।
लकडाउनका कारण भने आजभोलि हाम्रो भेट अनलाइनमा प्रशस्त हुन थालेका छन्। बिहान एक पटक उनीसँग बोल्नै पर्थ्यो। यदि मैले बिहान कल गरिन भने वा भुले भने मैले सजाय स्वरुप उनको बोली सुन्न अर्को १ हप्ता कुर्नुपर्थ्यो। किनकी उनको सर्त थियो- बिहान कल गर्ने पालो मेरो अनि बेलुका उनको।
मैले कल नगरे उनलाई निउ नै त्यही हुन्थ्यो झगडा गर्ने। तर उनले मलाई कल नगर्दा चाहिँ पछि मैले नै के भयो तिमीलाई प्रिय भन्दै कल गर्नुपर्थ्यो। जे होस् फोन गरे पछि हाम्रो रङ्गिन कुराकानी सुरु भइहाल्थ्यो। समय गएको पत्तै नहुने।
कोभिडको माहामारीले हाम्रो फक्राउन लागेको प्रेममा बाधा ल्याउन खोज्दै थियो। अझ बन्दाबन्दी अर्को कारण। र त भर्चुअल माध्यमबाट हृदयको अर्गानिक प्रेम दर्शाउनु परेकोछ। र पोख्नु परेको छ च्याटका पानाभरी अतृप्त असिमित मायाका छालहरु। यसमा स्पर्श छैन केबल अनुभूत छ। सामिप्यता छैन केबल सम्झना छ। त्यही टिप्न नमिल्ने भिडियोकलमा देखिने आकृती अर्को भेट नहुँदासम्म रहिरहन्छ। त्यही आवाज गुन्जि रहन्छ। आशा। सपना। आखिर त्यहीभित्र रुमल्लिएको त रहेछ प्रेम।
यसरी नै हाम्रो दिनहरु रमाइलोसँग बित्न थालेका थिए। हामी दुईको सामिप्यता बढ्दै गयो भनौँ। भेटने र नजिक हुने बाहानाहरु खोजी रह्यौँ। लकडाउन भएता पनि भेट्ने चाहे हामीलाई गाह्रो थिएन किनकि कार्यक्षेत्र नजिक नजिक नै थियो। दुवै सरकारी जागिरे। उनी स्वास्थ तथा जनसंख्या मन्त्रालयमा कार्यरत अनि म युवा तथा खेलकुद मन्त्रालय।
कोरोना महामारी बढेकाले उनको ड्युटी बढेको थियो। मेरो चाहिँ हप्तामा ३ दिन गए पुग्ने। भेट्ने हो भने पनि मिल्थ्थो। तर उनी आफ्नो काम र कर्तव्यप्रति इमान्दार थिइन। त्यसकारण भेट्न कर गरिन। बरु टाढा रहेर पनि हाम्रो माया डिजिटल माध्यमबाट जोडिरह्यो। फक्रिरह्यो। हामीले वाइफाइको दुँनियामा नयाँ-नवीन सपना बुनिरह्यौँ।
एक दिन बेलुकी डायरीमा केही लेख्दै थिए। फुरेका केही शब्दहरु उनलाई पनि सुनाउन मन लाग्यो। ती शब्दहरु म्यासेन्जरमा टाइप गर्न थाले–
‘प्रेम चुम्बक जस्तो हुन्छ। यसले जो जसलाई तान्दैन। चुम्बकमा जस्तो समान ध्रुवमा विकर्षण भने जस्तै प्रेममा पनि विपरित ध्रुवमा आकर्षण हुन्छ। प्रेम अटेरी हुन्छ। डराउदैन। प्रेम ज्वाला हो जो दन्किन्छ। सुरुमा जोड लगाउनु परे नि पछिपछि यो आफै बढ्दै जान्छ। यसमा वासना हुन्छ। वासना अनेकन फ्लेवरका हुन्छन्। फेरी वासना मिल्दैमा प्रेम हुन्न नि। फ्लेवर पनि मिल्न जरुरी हुन्छ।’
यति लेखी पठाएँ।
तुरुन्तै मेसेज सिन भयो। रिप्लाईको पर्खाइमा थिएँ।
मेसेन्जर टुंग बज्यो।
‘खुब गफ दिने हुनु भएको छ है?’
हतार हतार जवाफ फर्काएँ, ‘संगत कसको?’
‘अस्तिसम्म माया प्रेम भन्ने शब्द सुन्न नचाहनेले आज कसरी मलाई यो कुरा गरिरहनु भएको छ?’ व्यंगात्मक रुपको यस प्रश्नको जवाफ दिन मैले केहि बेर सोच्नै पर्यो।
फेरि टाङप गर्न थाले।
‘माया भाव हो । यो पग्लिन्छ र जम्छ पनि। यो सायद पूर्वनिर्धारित हुन्छ र अजम्बरी पनि। गर्छु भनेर गरिदैन माया, यो आफै हुन्छ। भनौ भइदिन्छ। न यो मागेर पाउने चिज हो, न दिन्छु भनेर। दिन मिल्ने पनि हैन। हावा हो यो जो बहन्छ। छाल हो हो यो जुन छछल्किन्छ। मायामा स्वार्थ कहिल्यै मिसिदैन तर मायामा दया मिसिन्छ। यसले लिङ्ग छुट्याउदैन न त जात नै। यसको छुट्टै धर्म हुन्न। हुन्छ यसमा केवल मानवता। र मानवता नै धर्म हो भन्छ मायाले।’
मेसेज पठाएर यसो सोचेँ। अलि धेरै नै लेखेकी क्या हो?
‘खुब माया प्रेमको कुरा गर्नु हुने हुनुभएको छ है। बरु यसो भेटेर कुरा गरौ न हुन्न?’
‘भेट्न त मन छ नि तर कोरोनाले भेट गराउने छाटकाट नै गर्दैन। अझै २ महिना पछि धकेल्ना जस्तो देखिन्छ। तिमीलाई के लाग्छ?’ भट्न मन हुँदा हुँदा यो लेखी पठाएँ।
‘लाग्छ नि। सायद लम्बिन्छ होला। तर हजुरलाई मन छ भने भेट्न नसकिने हो र? अफिस छुट्टी भए पछि भेट्म न त?’ उनले मलाई भट्न कर गरी।
‘भट्न मन नभएको कहाँ हो। तर तिमी काममा व्यस्त छौ अनि म पनि। तैपनि यस्तो महामारीको बेला भेटि हाल्नु भनेर त्यसो भनेको हुँ।’ मैले मेरो कुरामा अडान लिन खोजेँ।
‘उम्! त्यो पनि हो। ठिकै छ अब पछि भेटौला अहिले म खाना पकाउन लागेँ भोलि कुरा गरौँला है ।बाई।’
‘हस। बाई।’ यति भनेर हामी छिटियौँ।
उनलाई भन्न नसकेका उकुस मुकुस भएर बसेका मनका भावनाहरु मैले डायरीमा लेख्न थाले–
‘अहिले नभेट्दा पनि दुःखी भने छैन किनकी बिहान बेलुका हुने फोन गफ म्यासेज र च्याटले खुसी नै छु। खुशी हुनु पनि त जीवनको अर्को पाटो हो। जुन दिनदेखि तिमीसँग कुरा हुन थालेको हुँ त्यस दिनदेखि म निकै खुशी छु। माया प्रेमका कुरा साटासाट हुन थालेका छन्। माया प्रेम मात्रै कहाँ हो र? भविष्य अनि छोरा छोरीको नामबारे समेत कुरा हुन थालेको छ अचेल त। घुमाउरो पारामा उनले अनेक कुरा गरेर मेरो जीवनलाई रंगीन बनाएकी छिन्। अनि कहिलेकाही त कल्पना गर्छु उनले अङगालोमा बेरिएर दिन कटाएको। यस्तै कल्पनाहरुका साथले सबै चिजहरुमा आनन्द भेट्न थालेको छु । उनीसँग तीता मिठा गफ गर्दा मन हलुङ्गो हुन्थ्यो। सायद उनी पनि त्यही महशुस गर्छिन् होला। हामी बिचको मित्रता झाँगिदै जाँदा बिस्तार बिस्तारै उनी प्रतिको आकर्षण पनि बढ्दै थियो। एकले अर्कोलाई कहिले पनि ‘आइ लभ यु’ नभनेता पनि हामी बिचको सम्बन्ध निकै अगाडि बढिसकेको थियो।’
हाम्रो दिनहरु जसोतसो बितिरहेका थिए। कहिले रमाइलो गफगाफ त कहिले गम्भीर गफ गर्दै। एक दिन अचानक यसरी नै बेलुका फेसबुकमा कुरा गर्दै जाँदा उनले एकाएक प्रश्न माथि प्रश्न प्रहार हानिन्।
‘के हजुर मलाई साच्चै माया गर्नुहुन्छ र?’
उनको यो घुमाउरो प्रश्नलाई चिन्तन गर्दै म्यासेज टाइप गर्न थाले।
‘म प्रेम गर्छु किमार्थ भन्न सक्दिन। किनकी भनाईले प्रेम दर्शाउदैन। बरु यो भन्छु कि म तिमीलाई प्रेमको महशुस गराउनेछु।’ मैले थप्दै गएँ, ‘आखिर प्रेम मलाई अमूर्त लाग्छ। गहिरिएर सोच्ने हो भने ठ्याक्कै गणितको सुत्र वा विज्ञानको नियम जस्तो एउटै विश्वव्यापी परिभाषा भेट्दिन म।
मैले मेसेज लेखिरहँदा उताबाट केहि जवाफ आएको थिएन।
‘आकर्षणलाई प्रेम ठानेर भ्रमित मस्तिष्कहरु दौडन्छन् अर्थहिन यात्रामा।’ मैले भने शब्दमा शब्द थप्दै गएँ। ‘फगतको दौडाईले थकित भइ उत्तार्धामा आफ्नै बेहोसिपनसँग झोक्किन्छ्न्। तिमी अहिल्यै नै सजग हुनु। तिम्रो यो आकर्षण हो या प्रेम?’
प्रश्नको जवाव प्रश्नमा टुंगाइदिए। अब उत्तरको पर्खाइ थियो।
फ्याट्ट मेसेज आयो। ‘भो मलाई यतिको कुरा बुझ्नु छैन।’
‘छैन?किन?’
किनलाई बेवास्ता गर्दै सोधी, ‘हजुर के चाहनु हुन्छ र?’
‘म चाहन्छु मलाई तिम्रो स्वरुपसँग हैन, तिम्रो आत्मासँग प्रेम होस्। तिम्रो नयनसँग हैन, तिम्रो दृष्टिकोणसँग प्रेम होस्। तिम्रो ओठसँग हैन, तिम्रो मुस्कानसँग प्रेम होस्।’
‘अरु?’
‘मलाई तिम्रो स्पर्शसँग हैन तिम्रो कोमलतासँग प्रेम होस्। तिमी व्यस्त रहनु तर व्यस्ततामा पनि “म तिमीलाई सम्झिरहेको छु” भनिदियौ भने म पक्कै खुसीले उफ्रिनेछु।’
‘ओके, सकियो?’
‘छैन।’ मैले थपेँ, ‘मलाई खुसी हुन ठूला कारण चाहिँदैन। म साना कुरामा नै रमाउँछु। म दुःखी भएको छु भने तिमी मेरा हात समाई निधारमा चुमीदिनु। साच्चै भन्दा म यहीँ चाहन्छु।’
म यतिमा मात्रै रोक्किन। अझै भन्न थाले, “प्रेम– खहरेमा उर्लने भेल हैन। यो एक विशाल नदी हो जहाँका हजारौ करोडौ माछाहरु अनन्तकालसम्म पौडी रहन्छन् रमिरहन्छन्। अनि जीवन जिउने कुराहरु बनाइ रहन्छन्।’
‘प्रेम बगैंचामा रोपेको एक सुन्दर फूल हो जसलाई फुलाइ रहन गोडमेल रेखदेख र नजिकबाट हेरचाह आवश्यक पर्छ। प्रेम ती छितिजमा देखिएका विशाल खुला निला गगन झै उदार हुन्छ। त्यो हृदयमा बस्छ। प्रेम एउटा अमिट छाप हो जो दुई मुटु एक बनी जीवन जिउन तत्पर हुन्छ। र पण्डीत बाजेका ती सात फन्कासँगै भविष्यका निम्ति छाप लागि समाजमा उदाहरण बनी दौडीरहन्छन्, चलिरहन्छन्! प्रेम ती कोरा कागजमा कोरिएका तीन अक्षर भन्दा भिन्न हुन् जुन पहिले आकर्षण, अपनत्व त्याग हुँदै जीवन बन्छ।’
‘हजुर कुन प्रेमको कुरा गरिरहनु भएको छ?’ अल्मलिँदै उनले सोधी।
म उनको म्यासेजले एकछिन झसंग भएँ। कस्तो सोझी भएर सोधिरहेकी छिन्।
फेरी टाइप गर्न थाले…
‘कुन प्रेम, कस्तो प्रेम त्यो त थाहा छैन तर यति भन्छु प्रेम त्यही हो जसलाई मैले हृदयबाट बुझेको छु अनि जिवन्त बुझिरहनेछु। अपनाइरहनेछु। म ती विशाल सागरमा पौडिन तिमीसँगै सपना देखिरहेछु। हो, म यही प्रेमको कुरा गरिरहेको छु।’
मेरो यति लामो म्यासेज देखे पनि उसको रिप्लाई एक वाक्यमा आयो।
‘भो यति भावनामा पनि नडुब्नु।’
म अक्क न बक्क परेँ। के भनेकी यिनले सोँच्दा सोँच्दै थप म्यासेज आयो-
‘यो कोभिड–१९ को भाइरसले भन्दा पनि हजुरको प्रेमको भाइरसले पो मर्छु होला म त’ उनले प्रसंग मोड्दै म्यासेज पठाइन।
‘अरे वा कति शक्ति छ है मेरो मायामा’ मैले जिस्कदै भनेँ।
‘हजुर त जे कुरा नि सामान्य रुपमा लिनुहुन्छ।’
‘सरि नि त डियर!’
‘ल ल! अब भोलि कुरा गरौला है। म अब खाना बनाउन लागे।’ उनले भनी
‘हुन्छ’ भन्दै फोन राखेँ।
****
भोलिपल्ट बिहान उठेर म्यासेज गरे तर उनको रिप्लाई आएन। धेरै समय पर्खिरहे तर पनि रिप्लाई नआएपछि फोन गरेँ। फोन अफ रहेछ। त्यो दिनदेखि अचानक उनीसित मेरो ‘भिडियो कल’ रोकियो। उसको म्यासेज पनि आएन। फोन पनि लागेन। उनले आफै झन गर्दै गरिन।
उनलाई अनलाइन आएको नि कहिले देखिँन। सम्पर्कबिहिन भइ त्यो अन्तिम कुराकानी पछि। उनी कुन हालतमा होली? के गर्दै होली? यिनै कुरा खेलाउँदै फेरी फोन गरेँ। मोबाइल स्वीच अफ भन्यो।
कामले बिजी भइ होला भनेर मनलाई फकाएँ। अफिस गएँ। एक पटक फेरी फोन गर्न मन लाग्यो तर सोचेँ अहिले उ पनि ड्युटीमा होला। डिस्टर्ब हुन्छ। बेलुकी गर्छु। जाँगर नलागीनलागी काम गरेँ र छाँडै घर फर्केँ।
कोठा छिर्नुसाथ वाईफाई अन गरेँ र मेसेन्जर खोलेँ। उनलाई अफलाइन देखायो।
त्यो दिनदेखि आजसम्म पनि म दिनको ५०चोटी भन्दा बढी मोबाइल चेक गर्छु। एउटा आशामा कि उसको फोन वा मेसेज वा केहि खबर आउँछ। तर खै उनी कता हराइन कता।
मेरी प्रिय तिमी कहाँ हरायौँ मलाई एक्लै छोडेर!
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com