आशा छ | Nepali Poem by Niraj Itani
निःशब्द छु म
निरस छन् यी ओठ,
छैन फेरि त्यही पल सम्झन,
तिमीलाई मुडा भएको हेर्न,
त्यो उर्जाशील मुहार सेलाएको हेर्न,
दियोले पलभरमै आकाशमा उडेको हेर्न
यसरी नै
गुमाउने यहाँ म मात्र कहाँ रहेछु र
आशा छ तिमी उडेको मात्र हौं
केही पल हराएको मात्र हौ,
आशा
आशा तिमी हराएको छौ,
दिउँ कहाँ तिमी हराएको सूचना,
यो सरकार हराएको देशमा,
कुन वर्णको छौ तिमी भनन,
कति छ तिम्रो उमेर,
कहाँ थियौ तिमी,
कहाँ हो तिम्रो ठेगाना
थाहा पाए कसैले खोजी दिने थिए कि
तिमीलाई भेटी सही ठेगाना छोडी दिन्थे कि
डर त्रास अनि वेग्र प्रतिक्षामा छौ,
हरायौ होला तिमी तर भेटिने पक्कै छौ,
आउँछौ नि तिमी एक दिन फर्की एक दिन
गन्दै छु दिन भाँची औंलाहरू
फेरिएला समय अनि यो बेरंगिन ऋतु
थाहा छ, यो मन आतिएको छ,
सम्झँदा तिमीलाई अमिलो भएको छ,
देख्दा यो नगरमा कहर
थुप्रै मन आँगलो हाल्दै छन् आफ्नै काखलाई
थुप्रै कुर्दै छन् आशा तिमीलाई
जुन रूप लिएर आऊ
तर पक्कै आऊ तिमी,
नयाँ सत्ता भई आउ
या एक अक्सिजन सिलिन्डरको ग्यास भइ
या एक डाक्टरको रूपमा
या सदा देखबहाल गर्ने नर्स है
कसैले जन्मेका आशा गुमाए
गुमाए जन्म लिएको कोख कसैले
कसैले घुमी हुर्केको काँध गुमाए
गुमाए हितैषी मित्र कसैले
कसैले भर्खरै सिउँदो भरेको जीवन साथी गुमाए
गुमाए जीवनभर साथ कसैले
गुमाए त सबैले एक आशा
यी हात फैलाइ बसेको छु,
आँखा रसाए नि सहयोगी हात डग्मगाएका छैन,
थुप्रैको मुटु कापेका छन् तर साथ घटेका छैन,
समय झन् सबल हुँदै छ,
एक सबल स्वर अनि त्यसमा साथ थपिँदै छ,
तिमी आउने छौ
भनी थुप्रै आँखा कुरी बसेको छ
धैर्य धारण गरी बसेको छ,
यही आशमा मेरो देश अडिएको छ
आशा छ।
Read More Poem From Niraj Itani:
के लेखुँ र म | कविता | Niraj Itani | काव्यकुञ्ज कविता प्रतियोगिता
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com