रामुको शहर | Nepali Poem | Govinda Prasad Rijal

शहर पसेको रामुले
अचेल गाउँ सम्झेको छ
फेरी एकपटक ।
पोहोर साल,
गाँउमा भोकमरी आयो
उसले गाउँ सम्झेन
किनकी,
ऊ शहरमा थियो त्यसबेला
र शहरमा कुनै कमी थिएन
उसका लागि ।
परार साल,
गाँउमा बाढी आयो
पहिरो आयो,
डाँडाघरेको घर पुरियो पहिरोमा
काका मरे, काकी मरिन
एक हल गोरू र चारवटा बाख्रा मरे,
भाइ बहिनीहरू टुहुरा भए
रामुले सब हेर्यो टिभीमा
तर उसले गाउँ सम्झेन
वेसी गाउँ त जम्मै बग्यो बाढीमा
उ हिड्ने बाटो बग्यो
क-ख पढेको स्कुल बग्यो
खेल्ने चौर, खेत खलियान
गट्टा र लुकामारी खेल्ने
चौतारी बग्यो, आफन्त बगे
साथीसंगति बगे
सबै-सबै पढ्यो अखबारमा
अहँ रामुले
फिट्टिक्कै गाउँ सम्झेन
किनकी,
ऊ शहरमा थियो त्यसबेला
र उसको शहर सुरक्षित थियो
उसको लागि ।
तर आज,
रामुले गाउँ सम्झिएको छ
फेरी एकपटक
किनकी उसले गाउँ सम्झिन पनि
कि भुकम्प आँउनु पर्छ
कि महामारी आउनु पर्छ
त्यसैले मन नलागी नलागी
रामुले आज गाउँ सम्झेको छ
किनकी उसको शहर
असुरक्षित छ गाउँभन्दा ।
आउ रामु,
तिमी जन्मेको गाउँ
खेले हुर्केको गाउँ
पढे बढेको गाँउ
स्वार्थी छैन तिमीजस्तो
दिल खोलेर स्वागत गर्न
आतुर छ
तिमीलाई बचाउन लागि परेको छ ।
तर रामु,
तिमीले यस्तो बेला गाउँ सम्झियौ
गाँउले समेत
बोल्न नसकेको बेला
हाँस्न नसकेको बेला
हिड्न नसकेको बेला
पुरै गाउँ पर्खालभित्र लुकेको बेला ।
रामु,
तिमी हिड्न खोजौला
अहँ हुँदैन
बोल्न खोजौला
अहँ हुँदैन,
वेसी झर्न खोजौला
अहँ हुँदैन
सबै भेला भएर रोधी र मारुनी
नाँच्न खोजौला
त्यो त झनै हुँदैन
साथी-आफन्ती भेट्न खोजौला
सबै अनुहार छोपेर बसेका छन्
के गर्छौ भेटेर
त्यसैले भेट्न त हुँदै हुँदैन ।
त्यसैले रामु,
केही दिन घरमै बस
घरले तिमीलाई बचाउँछ
तिमीले गाँउलाई बचाउँछौ
गाँउले शहर-देशलाई बचाउँछ
बिन्ती छ, रामु तिमी बाहिर ननिस्क
आफ्नो लागि,
तिम्रा प्रिय मान्छेहरुका लागि,
गाँउका लागि,
तिम्रै शहर/देशका लागि
मेरो रामु तिमी केहि दिन
बाहिर ननिस्क ।।
-Govinda Prasad Rijal
Image by Dan Fador
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *