Nepali Poem | खै देश | Abin Thatal

Abin Thatal nepali poem

भन्छौ देश ।
खै देश ?
तिमी उभिएर टेक्दा पायौ त देश?
कि बसेर पो पायौ देश?
खै देश ?

कि यहिका पेटको माड बेचेर पायौ देश?
सपना देख्दा देख्यौ त तिमीले देश?
कि बिउझँदै देख्यौ तिमीले देश?
रुँदै गरेको नागरिक देखेर के पायौ त तिमीले देश?

हिजो हाँस्दै गरेकी चेली अर्काको देशमा रुँदै गुलामी गर्दा
पायौ क्या हो देश?
आफ्नै बारीको तरकारी मासेर अर्काको बारीको तरकारी किनेर पो पायौ देश?
युवा खाडीलाई बेचेर पायौ त तिमीले देश?

जुम्लाका स्याउहरुले तिमीलाई नै हेरि रहेको छ देश
कर्णालीका कलिला मानवीय बोटहरुले तिमीलाई नै हेरी रहको छ देश ।
पूर्वका हिम तालले तिमीलाइ नै हेरेको छ ।
पहिचान खोजी समतलले तिम्रै बाटो हेरेको छ ।

चारपाटे आँगनमा उभिएर माडको आशमा बसेकी
आमा तिमीलाई नै हेरिरहेकी छिन् ।
माडको आहारा खोज्न गएका छोरा बालुवाले पुरेको शहरमा तिमीलाई नै हेरिरहेको छन् ।

ए देश खै कहाँ छौ देश
सुन्दैछु लाजको भकारी बोकाएर हिडाउदैछन् रे तिमीलाई
बिन्ती मेरो अगाडि तिमी नलजाइ देउन देश ।
भन्छौ देश
खै के बाँकी रहयो अब देश ।

Nepali Writer: Abin Thatal 
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *