मलाई थाहा छ
विगत बिर्सन सजिलो छैन
विगतलाई बिर्सन पनि हुदैन
तर
विगतले वर्तमानको बाटो नै बन्द गरिदिन्छ भने
अनिश्चित भविष्यलाई झन् अनिश्चित बनाइदिन्छ भने
त्यो विगत बिर्सनै पर्छ।
विगतलाई बिर्सनु भनेको
विगतलाई मेटाउनु होइन
ना कि विगतलाई अनदेखा गर्नु
बिर्सनु भनेको त नसम्झेसम्मको लागि
कतै लुकाउनु मात्र हो
अनि त्यसरी लुकाउँदा तिम्रो वर्तमान सहज हुन्छ भने
किन तिमी विगतदेखि चिन्तित छौँ।
हो, म अनुभूत गर्न सक्छु
विगतले पोल्छ,
विगतले पग्लाउछ,
विगतले जमाउछ पनि
अनि विगतले पलपल सताउछ
र त
वर्तमानका बाटाहरू निकै कठिन हुन्छ
तर सम्झ त,
के विगतले तिमीलाई चयन दिएको छ?
के विगतले तिमीलाई प्रेमको आभास दिलाएको छ?
के विगतले तिमीलाई खुसी दिएको छ?
अहँ छैन।
यदी त्यसो हो भने
लुकाइदेऊ त्यो विगतलाई मनको कुनै कुनामा
सम्मान अर्पण गर त्यो सुन्दर विगत निर्माण गर्ने पात्रलाई
अठोट गर विगतबाट सिक्दै वर्तमानलाई अगाडी बढाउने
अनि
स्वीकार त्यो पात्र जसले
तिम्रो विगतलाई स्वीकार्दै वर्तमानको सारथी बन्न खोजिरहेको छ
अनि
उडान भर त्यो प्रेमिल संसारमा जहाँ
तिमी आफूले चाहेको खुसी र आनन्द भेट्ने छौ।
मुटुको कुनामा लुकाइराखेको विगत्
कहिलेकाहीँ मनमा आउन सक्छ
स्वीकार्नु यो एक सामान्य प्रकृया हो
किनकी
विगतको यादले नै त हो
वर्तमानलाई थप सशक्त बनाउने।
रचना: निर श्रेष्ठ
Read More From Nir Shrestha:
दोष | Poem | Aditya Dahal | [Offline Thinker] | #justicefornirmala
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

