त्यो सानो झुपडी अनि
पिल पिल मधुरो बत्ती
अँध्यारो कुनाभित्र
ठूलो बटुकामा कालो चिया अनि
छिमेकी बा… र सुर्ती
बिहानको त्यो मिरमिरे उज्यालो
अनि हातमा खिया परेको कच्या र
आधा फाटेको डोको अनि
छिमेकी बा.. र सुर्ती
खाली खुट्टाले भन्दै थियो अब तँ थाकिसकिस्
तर त्यो आफ्नो छोरोको भविष्य निर्माणमा
अझै पाइला चाल्दै आधा च्यात्तिएको दौरा अनि
छिमेकी बा… र सुर्ती
सेतै कपाल ,आधा झरेका दात र
दात नभएको त्यो मुस्कान
त्यो कालो भैँसीको दूध बेचेको पैंसा
अनि छिमेकी बा.. र सुर्ती
छोरो ठूलो होस् भन्दै दसैँमा दिएको आशिर्वाद अनि
त्यो कालो खसीको मासु र त्यस भित्रको स्वादको कुरा
अनि छिमेकी बा.. र सुर्ती
छोरो डाक्टर तर गाउँ नफर्केको
अनि आफ्नो छोरोको खबर बुझ्न्
छिमेकी नातिलाई फोन गर्न लगाउदै
छिमेकी बा… र सुर्ती
दमको रोग तर भोको पेटको प्रेसर
बाउको अवस्था नबुझ्ने छोरो डाक्टर
अनि सुत्ने बेलामा सिरानी मुनिको त्यो
छोरो पढाउदाको खर्चको कागज अनि
छिमेकी बा.. र सुर्ती
अवस्था नाजुक बन्दै गयो हिड डुल गर्न
नसक्ने अवस्था
रात छिपिँदै थियो साथमा लठ्ठी अनि
छिमेकी बा.. र सुर्ती
न छोरो न परिवार ख्वाक ख्वाक आवाज
साथमा लठ्ठी अनि त्यो सिरानी मुनिको
अर्को सुर्तीको पोको अनि
छिमेकी बा.. र सुर्ती
दुःख सुख गर्दा गर्दै त्यो अन्धकार रात
बिस्तारामा निदाउन खोज्दा खोज्दै
सांसारलाई नै बिर्सन पुगेछन् तर
साथमा त्यो मैलो प्लास्टिक भित्र सुर्तीको पोको
अनि छिमेकी बा.. र सुर्ती
अनि छिमेकी बा.. र सुर्ती
-Laxmi Prasad Chamlagain

