थोपा थोपा पानीसँगका यादहरु | Suprabha Bhusal

पानी परेको बिहान अलार्म बन्द गर्दै १५ मिनेट अझ सुत्न पाउँदा कस्तो आनन्द लाग्छ । न्यानो सिरक भित्र गुटुमुट्टु गर्दै आफैसित लुटुपुटिदै गर्दा, बाहिरको सिमसिमे झरीको आवाजले मनमा अनगिन्ती क्षणहरुका याद आउछन् ।

ती दिनहरु पनि क्या दिन थिए । तातो चिया सुर्लुपसुर्लुप पिउदै, बादल हेर्दै पानीको थोपा गन्दै, पानीमा भिजेर घर फर्किदाको दिन नि कत्ति रमणीय थियो । गड्याङगुडुङ गर्दा डरले साथीहरु चिच्याउदा म एकलै मरी मरी हास्थेँ । नहाँस् तेरो हाँसो बादल गर्जेको भन्दा धेरै डरलाग्दो छ भन्दै मेरै बेइज्जत गरेको सम्झिदा, आज कोठामा एक्लै बस्नुपर्दा न्यास्रो लागेर आउछ ।

याद छ तपाईलाई? रमझम पानी परेपछिको आकाश खुला हुन्छ, निलो रंगमा उज्यालो सूर्यको प्रकाश ठोकिँदा मन नै उज्यालो भएर आउछ । पानी रोकिएपछि बाहिर हिड्न छुट्टै रमाइलो हुन्छ । रुखका पातहरु हावासँगै नाचिरहेको देख्दा, चरी चारैतिर चिर्बिराउदै उडेको देख्दा, सडक सफा शान्त टल्केको देख्दा, साथीभाइसँगै हिड्न कत्ति रमाइलो हुन्थ्यो । अहिलेको परिस्थिति नै त्यस्तै छ कि कोठामै बसेर मोबाइलमा सबैसित जोडिन बाध्य छौँ हामी । बाहिर निस्किन नि अथाह मन छ, तर मनको कुरा सुनेँ भने अर्को जोखिम निम्तिएला भन्ने डर ।

केहि समय अरु त हो नि लकडाउन झनि सबै सामान्य हुन्छ भनेको पनि महिनौ कटिसकेछ तर मेरो केहि समय अझै आएन । पर्खी बसेको छु सम्झि कलेज जाँदाका दिन, अफिसमै बसेर काम गरेको समय, साथीभाइ सितको भेटघाटका याद अनि एक्लै बानेश्वरमा लमकलमक हिडेको साझ ।

यो पारिरहेको पानीलाई देखेर पनि धेरै कुरा खेल्छन् मनमा । लाग्छ यहिँ वर्षामा भिजेर कत्तिले आफ्ना दुःख बिर्सिदिए होला, कत्तिले आफ्नो आशु लुकाउन पानीमा रुझिदिए होला, कत्तिको बाढीले घर बगाइदियो होला, कत्तिको पहिरोले खेत उजाड्यो होला ।

हामीले गर्न पनि के नै सक्छौँ र? प्रकृतिको नियम हो । ननिम्तयाती आइहाल्छ । नहुनु पर्ने भइहाल्छ, तर वर्षा नै नभए के हुन्थ्यो होला है? वर्षा नै नभए बालीनै हुनेथिएन । वर्षा नै नभए गर्मीको के अर्थ? वर्षा नै नँए बादलको के काम नै हुन्थ्यो होला है?

चाहिन्छ वर्षा । घाम नि चाहिन्छ । परिवर्तन नि चाहिन्छ । दुःख नि चाहिन्छ, सुख नि चाहिन्छ । जीवनको उतारचडाब दिनबाट हामीलाई विस्राम नि चाहिन्छ । यो लकडाउनको सयमलाई विभिन्न अनुभव संकलन गर्ने अवसरको रुपमा लिएर हेर्नुस त । वर्षाको पानीको थोपा थोपासँगै अनगिन्ती यादहरु साटेका छौँ हामीले । अहिले कोठामै बसेरै पनि पानी परेको हेर्दै नयाँ यादहरु नै बटुल्दैछौ । अलि भिन्न जीवनशैली भएको छ, अलिक अप्ठ्यारो भइरहेको होला तर अझै केहि बिग्रेको छैन ।

आज बजेको अलार्म बन्द गर्दै १५ मिनेट सुत्न पाइरहेको छौ । यो पनि त याद नै हुनेछन् पछि । जीवनको दौडाइमा यसरी धेरै बेर सुतेर समय खेर फाल्न फेरिफेरि कहाँ पाइन्छ र? दुःख मानेर महामरीलाई सराप्नु भन्दा दैवको वर्दान मानेर सकुसल रहेकोमा धेरै धन्य हौँ बरु ।

बरु आफै चिया बनाएर, साथीहरुलाई मोबाइलबाटै भिडियो कल गरी, एकताल लामो गफ गरी हेर्नुस् त । थोपा थोपा पानीसँगै एउटा नयाँ याद तपाईँको जीवनमा थपिने छ । भोलि यिनै दिनलाई सम्झी, आजको १५ मिनेटको छोटो सम्झनाले तपाईँको भोलिको दिनमा मीठो आभास दिलाउने छ ।

तपाईँको दिन शुभ रहोस् ।

-Suprabha Bhusal

 

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *