ला! गल्ती पो गरेछु | Nepali Poem | Sulochana Adhikari

Sulochana Adhikari
ला! गल्ती पो गरेछु | Nepali Poem | Sulochana Adhikari

सायद धेरै पहिले नै उठाउनुपर्ने थियो त्यो हात
ठडाइएका औंलाहरुलाई
मेरा लागि हेरिएको त्यो क्रुर दृष्टिलाई
बोलिएका ती हरेक शब्दलाई
जसले आज पनि घोचिरहन्छ मलाई
हो त्यतिबेला रोकिन
डर थियो कतै म नै गलत त होइन?
सायद उनीहरुले भनेको सहि हो कि ?
गलत ठहराउँदै गएँ आफूलाई
आफैले आफ्नो खुशीमाथि लात्ती हाने
अनि स्वतन्त्रताको केशलाई भुतालिदिएँ
अनि उनीहरुको उत्तरमा आफूलाई ढालेँ
गल्ती भन्दिन म यसलाई
यो त मेरो अबुझपन थियो
नबुझि नबुझि गरिएका गल्ती पनि आखिर के गल्ति?
यो त बदमासी थियो
आफ्नो जिवनसँग गरेको बदमासी
ला! कसैले केहि भन्छ कि?
ला! कसैलाई नराम्रो लाग्यो कि?
कोहि रिसायो कि?
फकाउने कसरी?
उफ्… हरेक पटक यहि सोच्दै म हराइरहेँ
आफैले बुनेको सोचको जालोमा बेरिरहेँ
मलाई फुत्काउन कति धेरै आए
सबैको आफ्नै कुरा थियो
तर म झन बेरिँदै गएँ
उनीहरुको सोचको पर्दामा बेरिदै गएँ
जालो झन झन कस्सियो।

एक मनले नलागेको पनि होइन
छोड यो सब आखिर आफूलाई बाध्ने किन?
तर बदमासी न हो गरिहालियो…..
उठाइसकेका हातहरु अचानक रोक्किए
रिसमा उठेका भावनाहरु डरले बिलाए
फेरी त्यहि म………
अहिले अलिकति प्रकाशमा भएर सम्झन्छु ती समय
अरे म यस्तो थिएँ है…..
कति धेरै गल्ती गरेँ आफ्नो जीवन अरुलाई चलाउन दिएर
सारा कुरा सुम्पी आफू रित्तिएर….
उहिल्यै नै त्यो उठिसकेको हात उठाई
त्यो हान्न नसकेको झापड अरुको सोचमा
सायद दिएको भए
कथा बेग्लै हुन्थ्यो होला
गल्ती पनि अर्कै हुन्थे होला ।

Connect with us at Facebook, Instagram, Twitter.

Read More From Sulochana Adhikari:

म मेरो ‘म’ अनि अरूको ‘तँ’ | कविता | Sulochana Adhikari

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *