भित्तामा झुन्डिएको
माला सहितको तपाइँको तस्वीर
मलाई एकोहोरो हेरिरहन्छ,
घरका ढोकाहरुलाई हावाले धकेल्दा
हजुर आए जस्तै लाग्छ,
आमाले आजसम्म पनि एउटा भाग बढी नै पस्कनुहुन्छ।
घर अब घर रहेन,
बोली नफुटेको बच्चा जस्तै सबै रोइ मात्र रहेछन्,
मौनता र सन्नटाले घरलाई छाड्नै मान्दैन,
खुशी र हाँसो त केवल शब्दमा सिमित छन्,
जीवन जीवन जस्तै रहेन।
आमालाई रोएको कहिल्यै देखेको थिइन्
आज भोलि नरोएको कहिल्यै देख्दिन,
घरका भित्ताहरु पनि भन्दा हुन्
साच्चै घर-घर जस्तै रहेन।
राति ताराहरुमा खोजिरहन्छु,
जूनका दागहरुमा नियाल्छु,
ढुङ्गाहरुमा लेख्छु,
यो हावा सङ्ग बोलिरहन्छु,
कतै मेरो खबर पुर्याइदिन्छ कि??
कुनै कुनै घाउ नभरिएकै राम्रो हुन्छ,
तिनै घाउ कोट्याएरै
कसै सङ्गका
मीठा यादहरु सम्झिएर रुन पाइन्छ,
जिन्दगी जीउने आधार पाइन्छ
तर अफसोच म सङ्ग तिनै यादहरु पनि छैनन।
घरको आगनको दुवो कहिल्यै मर्न पाएन,
मलाई घोडा चडाउने पिठ्युँ,
मलाई बोक्ने काध,
सबै – सबै कहानी बनेका छन।
कयौं वर्षदेखि लुकमारी खेल्न नपाएर छट्पटाइ रहेको आगनको गुनासो म एक्लै कसरी सुनु?
कतै क्षितिज पारीबाट नियाल्दै छ एउटा आत्मा,
म उसलाई कसरी भनुँ,
मुस्कानको खोल ओढेर
गुम्सिएका आँसु खै कतिन्जेल दबाउन सकिएला?
You May Also Like:
Dear Dad, Thank you! -Written by Smritee Neupane [Offline Thinker]
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments