व्यथाले कुप्रो परेको
मासुको थुप्रो म,
सगरको छाना र बगरमा
बनेको सानो झुप्रोमा,
भोको पेट तर चोखो मन र
दु:खको पोको बोकी
बाँचिरहेको छु केवल
एक छाक मिठो
खाने धोकोमा ।
हे अन्नदाता आनन्ददाता
भनिदेऊ न मलाई,
मैले मान्नु जीवन जिउने
आधार के लाई?
मस्तिष्कमा पीडा,
मुटुमा छिया र
हृदयमा छ चिन्ता
बरू खोसिदेऊ यो जीवन
पुर्याइदेऊ मलाई चिता ।
नसोध मलाई कसरी
पोल्छन् हृदयका घाउहरु,
नसोध मलाई कसरी
ठेस्सिन्छन् गोडा र पाउहरु,
मन पोलिरहेछ
ज्वालासरि भतभति,
पाउ खाँदिएछन्
ढुङ्गासरि खतखति ।
मलाई,
आफ्नो बाटो आफैं
तुल्याउनु थियो नदिसरि
तर,
सारा सपनाहरू
बगिगए छालसरी
अरूको देश, अरूको काम
हातमा छन् हतकडी
के गर्नु?
आफ्नै देश पनि आफ्नो
हुँदो रै’नछ हर घडी ।
Read More From Rhythm Bhetwal:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments