एउटा तरूणी वृक्ष
हरियो वस्त्रले सुसज्जित
केसमा सेता पुष्पले लरक्क कपाल बाटेकी
पवन पनि मात्तिदै आउँछ अङ्गालोमा बेर्न
हावाको स्पर्षले पातहरू
बजाउन थाल्छ्न् सारंगी र्याईर्याई
नृत्य गर्छन् हाँगाका डालीहरू छमछमी
सोरठी र सालैजो तालहरूमा
मुसाफिर पक्षीहरू,
घामपानीको टोकसोबाट आत्तिदै आउछ्न्
शीतल छाहारीभित्र आश्रय लिन
भोजन गराउछे आफ्नो भकारी रित्ताएर ।
एउटा वृद्ध वृक्ष,
दाँत सबै झरेर थोते
कपाल झरेर उजाड
छाला उप्किएर कुरुप
पवन पनि आउँछ उसका हड्डीहरू भाच्न
पंक्षीहरू बसाइँ सरेर गए
फर्किएर आएनन् हालचाल सोध्न।
तिमीले बिर्सियौ होला त्यो वृक्षलाई
तर ममताकी खानी
परोपकारको सिद्धान्त बिर्सेको छैन वृक्षले
अझै पनि,
तिम्रा भोक मेट्न जलेर तिमीलाई सहयोग गर्नेछ
तिमीले संसार छोड्दा
तिम्रो देहलाई जलाएर दुर्गन्धित हुनुबाट बचाउनेछ।
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com