छोरा !
किन कुद्छस यसरी
दिन रात
देश देश भन्दै,
लाग्दैन माया
परिवारको ?
नौ महिना गर्वको पीडा
सम्झन्नस्आफ्नो आमाको ?
के पाउँछस् तैले
पररवारको मायाभन्दा प्यारो,
पढेर ठूलो मान्छे बन्छ भनेको
सानै रछस अझै
ठूलो भा’को भए पो बुझ्थिस्
पीडा परिवारको ।
आमा !
सानोमा खेलौनाको लागि लड्ने छोरो
लड्दैछ आज देशको लागि
कुनै स्वार्थबिहीन
के म ठूलो भइन र ?
माया लाग्छ तपाइँको
तर
मलाई देश महान् लाग्छ,
तपाइँले त
सिर्फ मलाई जन्म दिनुभयो
तर देशले
तपाइँलाई जन्मायो आमा,
आमाको बिधाताको लागि
नलड्ने छोरो
कपुत बन्न सक्दैन ।
बाटोमा उफ्रिएर
के पाउँछस,
मेरो ममताभन्दा
अरु के प्यारो,
परिवार भए पो
देश पूर्ण हुन्छ
आमाको छाती सम्झिएर आइज,
सक्दिन म
सन्तानको चोट हेर्न,
किन मरिन होला
यो देख्नुभन्दा पहिले।
देशको लागि लड्न पाउने
सबै भाग्यमानी हुन्छन्
आमा,
तपाइँहरु दासी भएर बाँचेको
सक्दिन हेर्न म,
तातो गोली अमृत हो
छैन लोभ केहिको,
बस्
देशको छातीमै
निदाउँन चाहन्छु,
छोरो घट्ला भनेर
नरुनु कहिले,
सयौं छोराको लागि
लड्ने तपाइँको छोरा
गर्व गर्ने बन्नेछ ।
ए छोरा,
उठ्, खोल आँखा
हेर तेरो आमा
त बिना एक्ली छे,
ए काल
लैजा मलाई,
फिर्ता दे मेरो छोरा
मेरो प्राण खोसेर
हाँस्न सक्दैनस त,
मेरो बाबु…..
“गोली खाएर
ढल्यो बरै,
अन्तिम सास छउँन्जेल
कराउँदैथ्यो रे,
देश देश भन्दै
कति गर्वान्वित मृत्यु……!”
-मोहन गुरागाईं