जन्म, जीवन र मृत्यु | कथा | Hari Bhakta Dhital -[Offline Thinker]

-Hari Bhakta Dhital

एकजना अर्धबैंसे र एक जना ६० कटेका बुढा मान्छे नजिकै आएर, ‘यिनीहरु नै हुन्?’ भनेर सोधे। म जरै बाट हल्लिए! एकछिन केही सोच्नै सकिन अनि “चाहिएको त एउटै हो तर मिलाएर दिनु हुन्छ भने दुइटै लगम्ला न” भन्ने वाक्यले फेरि पनि झसङ्ग भए! अनि मलाई आमाले अलिक सानो हुँदा सुनाएको उनको जीवन कहानी याद आयो! मनै बाट रुन मन लाग्यो। चपाइरहेको गाँस पनि निल्नै सकिन। अलिक छड्के नजरले त्यो मान्छेको शिरमा भएको ढाका टोपी हेरे, डरको सिमा झन् बढ्यो!
***** ***** ***** *****
आमाले लामो श्वास तानेर भन्ने गर्नुहुन्थ्यो हाम्रो जीवनको रस कसले कति खेर निचोर्छ अत्तो पत्तो छैन बाबुनानी ! जिन्दगी अरुको मज्जा लुट्ने भाँडो बाहेक खासै केही बनाउनै सकिएन! हुन त आफ्ना लागि एक छाक निर्धक्कले खाना त जोहो गर्न सकिन्न ठूला सपना के बुन्नु?अरुले तोकिदिएको मूल्यमा बिकिएर बस्नुको यथार्थ कसले पो बुझ्छ र? यति भनी सक्दासम्म तुरुक्क आँसु चुहाउन भ्याइसक्छिन् आमा, हामी नदेखे जस्तै गर्छौँ!

‘म सायद सानी जत्रै थिएँ’, छेउमै बसेकी बहिनीलाई देखाउदै आमा भन्छिन्। मेरो पहिलो घरका मालिकले अहिलेको मालिकलाई जिम्मा लाउनुभन्दा पहिले। मालिक्नी साह्रै जाती थिइन्। मलाई लुकाएरै भएपनि मीठो-मसिनो छुटाउन्न थिइन्। एकदिन मालिक्नी बज्यै काममा गएकी थिइन्, दुई जना बुढाहरु आएर सोधपुछ गर्न थाले! म तिर चोर औला तेर्साएर धेरै चोटी के-के भने सबै बिर्से तर मलाई अझै याद छ लु यत्तीमा मिलाउनुहोस भनेर सुर्ती प्याच्च मेरै छेउमा थुकी हात पड्काएर मुसुक्क हाँसेको! मालिक बाजेले हुन्न हजुर यस्की आमालाई धेरै दुःखले हुर्काको त्यही उपार यसबाट गर्नु छ भन्ने जवाफ दिएपछि बल्ल मैले प्रश्न बुझे! मनमा उब्जेका बिरहका बाढिले कता डोर्‍याए पत्तै पाइन। आँसु पनि आखाबाट झार्न सकिन, मनमनै रोए।

यत्तिमै मेरो अस्तित्व बिक्यो। हिजोसम्म आफ्नै छोरी जस्तै माया गर्ने बज्यैले पनि केही भनिनन् । मैले हजारौं पटक म जान्न नि भनेर बिन्ती गरे तर अहँ उनीले मेरो पीडालाई रत्ती पनि सुन्नै चाहिनन्।

लु तपाईंका घरमा पनि फलोस् फुलोस् भनेर जिन्दगी नभेटेको मान्छेलाई आशिर्वाद दिन सक्ने हृदय भएका मालिकले ‘लौ नानी राम्रोसँग गएस् नि’ भनेनन्। मलाइ आफ्नै जीवनसँग दिक्दारी लाग्यो। छेउमा सबै कुरा नियालेर सुनेकी आमा निशब्द छिन्। सायद जीवनका चक्रहरु सबै बुझेर हो कि आफ्नो गर्न सक्ने भनेकै म तिर हेरेर केही भए पनि जिन्दगी चलाउने आशा र शक्ति बाड्ने भएर हो, प्रयास भने गरेकी थिइन्।

मलाई त्यो जिन्दगीमा कहिल्यै भेट नभएको मान्छेसँग पछिपछी लागेर जानै मन लागेन। सकेजती बल लगाएर आफू बसिरहेकै ठाउँमा जान खोजे तर सकिन। अनि एकजना ढाकाटोपी वालाले छेउमा भएको रुखको खानेकुरा दिएर फकाउन खोजे । जीवनमा धेरै चोटी चोरी चोरी खाएको आरोपमा मालिकका छोराछोरीले कुटेका थिए तर आज मलाई त्यो खानेकुरा खानै मन लागेन।

घृणाका नजरले टुलुक्क हेरे अनि फेरि ठूलो श्वरले चिच्याए नाइ भनेर। दुई जना मध्य जसले मलाई लग्न खोजेका थिए उनले अगाडिबाट ताने अर्काले धकले। जति नै प्रयास गरे पनि दुईजना पहलमानका बिचमा मेरा प्रयासहरु निरीह रहे। रहर मारेरै भए पनि म उनीहरुका पछि लागे।

अलिक पर गएपछी मन सम्हाल्नै गाह्रो भयो । मैले जानै मन गरिन। सुरुसुरुमा अगाडिकाले फकाउन खोजे म मान्दै मानिन । अनि फेरि पछाडीकाले धकल्न खोजे; म मानिन। अनि छेउको रुखको हाँगो भाँचेर लठ्ठी बनाएर कुट्न थाले।

सुरुसुरुका दुई चार लौरो त खपे तर साह्रै रिसाएर जब पछडीकाले हाने, मैले दिउसै तारा देखेँ। पीडा सहन नसकेर मैले जिउमै तुरुक्क मुतिदिए! ती दुईजना खितिक्क एक अर्कालाई हेरेर हाँसे। केहिबेर पीडाले कराएँ, रोएँ, छेउका मान्छेहरु आफ्नो आगनमा टुक्रुक्क टुक्रुक्क हेर्ने गर्थे। मलाई अब भने उनीहरुको पछी बिना अबरोध कुद्नुको विकल्प थिएन र त्यही अनुसार गरे। करिब दुई घण्टा हिँडेपछि बल्ल नयाँ मालिकको घर आइपुगेछ।

सुइय सुस्केरा हालेर मालिकले लौ ल्याइदिए भनेर मालिक्नीलाई इशाराले समात्न भनी आफूहरु गएर बसे अनि पानी खाए। मलाई त कसैले सोधेनन् पनि। हत्तपत्त मालिक्नीले जात कुन हो भनेर सोधिन्। अनि मोल कति हो सोधिन्, अनि उमेर सोधिन् र बाँकी मनका खुल्दुली पनि।

यता म भने अझै अचेत नै थिए। बिस्तारै मालिक्नीले मलाई सम्हालेर आफ्नै ठान्न थालिन्। यिनै मालिक्नीको मायाले मैले पहिलाकी मालिक्नी बिर्से अनि बिस्तारै आफ्नै आमा पनि बिर्से। आमाले यति भन्दै गर्दा बहिनी साह्रै डराएकी थिइन्। म र आमाले उसलाई काखमै राखेको त्यो रात।

आमा भन्नु हुन्थ्यो उहाँको दाइभाइहरु त झन सबैजना अचानोमा छिनिन्थे अरे। लोग्नेहरुको मृत्यु झनै अचानक हुने गर्थ्यो। अहिले होकि पछि ठेगान छैन।

***************
मेरो दिमाग रनन्न हुँदै थियो। आमा तिर हेरे उनीलाई झन विरह थियो। म रुन्चे अनुहार बोकेर बसेँ । बहिनीले टाउकोले मुसारी। केही राहत भयो। तर फेरि झस्किए ल यसलाई मात्र भन्नुस त्यसो भए भन्ने वाक्यले।
मोलतोल भयो। जन्मिदा हुर्काउदा हृदयदेखि माया गर्नेहरु आज बेचिएर जाँदा खुसी देखिन्थे। म अचम्मित थिएँ। बहिनी र आमालाई छोडेर जान्न भन्ने अडानमा बस्न खोजेँ अनि यत्तिकैमा मालिक्नीको छोराले मलाई च्याप्प समात्यो, मोटरमा कसेर व्यापारीले लग्यो । छट्पट्टिएर मर्नै लाग्दा पनि मतलब गरेन।
मेरो जीवन समाप्त भयो बिहानै उठेर व्यापारी मेरो घाँटी छिनाल्न तयार भयो । म म्या-म्या गर्दै थिएँ, उसलाई के को पर्वाहा। सायद भोलि मेरो मासुको परिकारमा जिब्रो पड्काउदै कतिले खाने हुन भनेर सोच्दै थियो व्यापारीले। यति लामो खुकुरीले घाँटी ताक्यो एकै चोटीमा जिउ एकतिर टाउको एकतिर मैले फेरेको अन्तिम श्वासको मूल्य स्वादमा नापिने छ!
आफ्नो जीवनभरीको कमाइलाई पैसामा नापेर अनि जिब्रोको स्वादमा संसारको खुसी भेट्ने मानव जातिलाई मेरो श्राप!

उहीँ,

आधी जीवन जिउने खसी!

Image by Igor Link from Pixabay
 

You may also like:

मेरा लागि तिमी तिम्रा लागि म: ‘बाबा’ | कविता | Hari Bhakta Dhital | [Offline Thinker]

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *