आउ सुनाउँछु कलियुगको एउटा सत्य कथा,
“बुढी आमालाई आश्रम छोडेर,
छोरो पुजा गर्न मन्दिर पस्यो!”
यहि थियो २१औँ शताब्दीमा केही आमा-बुबाको ठूलो व्यथा!
मर्ने हजारौं उपाय,
जन्मिने एउटै उपाय-“आमा”
त्यही आमालाई आश्रम पुर्याएर गुमायो,
कुलङ्गारले भगवानको छत्र-छाँया!
८ वर्ष अगाडि मरेका “बुबा”,
स्वर्गबाट हेरेर रोए धुरुधुरु,
मनमा उनको आँधी भयो सुरु,
र लागे भगवानको घरतिर खुरुखुरु!
भगवान त परे अन्तर्यामी,
ज्ञान र सद्भावका खानी,
त्यही पनि,
त्यही पनि बुबाको समस्या के थियो,
बुबाको मुखबाटै सुने पुरै कहानी!
बुबाले सुनाउँदै गए,
“संसारमा पाइला राख्दा मेरो छोरो धेरै रोएको थियो!
सोचेको थिएँ मैले प्रभु,
रोएको हुनुपर्छ आमाको पीडा हेर्न नसकी,
नत्र जन्मिदै गरेको शिशु के बुझेर रुन्छ र,
हुर्कायौँ बढायौँ धेरै दु:ख कष्ट सहेर,
एक्लो छोरो थियो नि,
हरेक खुसी दियौँ,
हरेक इच्छा पूरा गरिदियौँ!
तर,
आज हेर्नुस् न प्रभु,
आफ्नी आमालाई आश्रममा छोडेर आयो,
सोच्दै छ होला,
धेरै ठूलो आनन्द पायो,
अब,
तपाई आफै न्याय गर्नुस् प्रभु,
र उत्तर दिनुस् मलाई,
के यो संसारमा,
यो कलियुगमा,
यो २१औँ शताब्दीमा,
आमाको ममताको मोल नै हरायो?”
भगवान केही बोल्न सकेनन्,
भए मौन,
केही क्षण पछि हिम्मत जुटाए,
आफ्नो मौनता फुटाए,
र बुबालाई भने,
“तपाईं स्वर्ग तिरै फर्कनुस् बुबा,
चिन्ता नगर्नुस्,
म अवस्य न्याय गर्छु,
आमा पनि त मेरो नै स्वरुप हो,
तपाइँको छोराले साथ छोड्यो,
आमाको ख्याल राख्न,
म स्वयं अगाडि सर्छु!”
त्यसपछी बुबा आफ्नै बाटो फर्किए,
घर फर्कनु अगाडि,
बुबाको मनमा न्यायको आश हुर्किए!
छोरो पुग्यो मन्दिर,
भगवानलाई हेर्न,
आफ्नो निर्जीव चाहनालाई,
भगवानको आशिषले बेर्न,
माग्यो उसले अनेकौंँ “मोह-माया”,
भगवान अचम्म परे,
र भने,
“कठै नि बरै,
कति मुर्ख रैछस् नि तँ,
आमा भन्दा अनमोल सम्पत्ति केहि हुन्न,
आमालाई आश्रममा छोडेर,
आइस् तँ यहाँ मोह-माया किन्न,
आमा रुँदै छिन् तेरो यो व्यवहार देखेर,
संसार सामु आफ्नो मुख छेकेर,
जा,
त्यो आमाको आँसुको श्राप दिएँ तँलाई,
तेरो घरको दैलो समेत म छुन्न,
धन सम्पत्ति त के,
तेरो शरीरमा सास रहुन्जेल,
अलिकती खुसी पनि तेरो भागमा हुन्न!”
“याद राख नालायक,
तेरो पनि एउटा छोरो छ,
आफ्नो कर्मको फल पाउने,
यो संसारमा सेरोफेरो छ,
मर्नु अघि भोग्नेछस्,
तैँले आफ्नो कर्मको फल यहिँ,
सम्झेर रुने छस् तँ अब,
आफ्नो पापको भार कहिले-काहिँ!”
समय त कहाँ रोकिन्छ र,
बित्दै गयो!
दिन बिते,
हप्ता कटे,
महिना बिते,
साल फेरिए!
भगवानले बुबालाई दिएको वचन पालना गरे,
आमाको ख्याल राखे,
र एक दिन,
आमालाई स्वर्गको बाटो देखाए!
अन्त्यमा आमा पनि स्वर्ग पुगिन्,
तर पनि उनी खुसी थिइनन्,
किनकी छोरोको ख्यालमा डुबिन्,
“के खायो होला?
के लायो होला?
सुखी छ कि छैन होला?
कतै केही दु:खमा त छैन होला?
सबै आरामै त होला नि?”
अनेकौं प्रश्नले भरियो आमाको मन,
आखिर “आमा” नै त परिन् उनी,
ममताकी खानी!
धेरै उत्सुक भएको खोजिन् छोरो,
आखिरमा स्वर्गबाट देखिन् छोरो,
र,
देख्ने बित्तिकै भईन एकोहोरो!
छोरो त दु:खको भुमरीमा फसेछ,
पीडा नै पीडाको सागरमा डुबेछ,
याद छ नि तपाइँहरुलाई त?,
केही वर्ष अगाडि भगवानले दिएको श्राप?,
त्यही श्रापको असरले,
छोराको सुख,
आनन्द,
धन-सम्पत्ती,
ज्ञान,
सम्मान,
सबै कुरा त दैवले चुँडेछ!
आमा छ्क्क,
भईन दिक्क!
सोधिन् बुबालाई पुरै कहानी,
सुनाए बुबाले सबै घटना भगवान बारे आफ्नै जुबानी,
खसे आँसुका धारा बररर,
र फेरि,
आमा पनि लागिन् भगवानको घरतिर सररर!
अगाडि नै भनिसकेँ नि मैले,
भगवान हुन् अन्तर्यामी,
ज्ञान र सद्भावका खानी,
यस पटक पनि सबैकुरा थाहा थियो उँहालाई,
त्यै पनि आमाबाटै सुने रामकहानी!
आमाले भनिन्-
“हे प्रभु,
माफ गर्दिनुस् मेरो छोरालाई!
दया गरेर,
मेरो छोराको खुसी फिर्ता दिनुस्,
हजुरको श्राप बरु मलाई नै दिनुस्,
थाहा छ मलाई,
भयो मेरो छोराबाट गल्ती,
संसारको मोहमा फसेर,
भर्न खोज्यो आफ्नो खल्ती,
तर म त आमा परेँ प्रभु,
उसले हरेक खुसी पाओस् भन्छु,
यदि म उसको जीवनमा नहुँदा उ खुसी हुन्छ भने,
म उसको खुसिको लागि,
आफ्नो ज्यान नै दिन्छु!”
भगवान परे अचम्मित,
र सम्झाउन खोजे आमालाई!
तर आमा मान्दै मानिनन्,
छोरालाई सजाए दिनु उचित ठानिनन्,
“छोराले पाप गर्यो,
सजाए भोग्न दिनुस् आमा!”- भगवान भन्थे,
तर आमा भने,
छोराको हरेक कर्तुत माफ गर्दै जान्थे!
आखिरमा भगवानको केही जोर लागेन!
आफ्नो श्राप फिर्ता लिन विवश भए,
सबै खुशी छोरालाई फिर्ता दिए!
आमा एकदम खुसी भईन र स्वर्ग फर्किन् आखिरमा!
तर भगवानको मनमा एउटा कुरा चल्यो,
मनमनै भन्दै थिए-
“सायद मैले गल्ती गरेछु!
अमृत चाहिँ आफ्नो लागि राखेर, म त अमर भएँ,
तर संसारको सबै भन्दा अमूल्य रत्न “आमा” भने मैले मानिसहरुलाई दिएँ!
भाग्यशाली रहेछन् मभन्दा पनि मनिसहरु आमा पाएर,
आमाको प्रेमजस्तो केही पनि पाइँन मैले,
के अर्थ भयो र मैले अमृत पिएर,
के अर्थ भयो र मैले अमृत पिएर!”
-Secret Thinker


2 Comments