आज धेरैपछि ल्यापटपमा एम.एस. वर्ड (MS Word) खोलेर केही लेख्न प्रयास गर्दैछु । पुरानो वर्ड २००७, सायद २०२० पछि आफैलाई केही लेख्न भनेर खोलेको याद छैन । २०२० मा कोरोनाको समयमा, क्लब हाउसका गफ र साहित्यप्रतिको मोहले कहिलेकाहीं खोलेको थिएँ। तर फेरि उही केही शब्द लेखेपछि जम्थे दश औंलाहरू ।
दिमागमा छन् हजारौं प्रसंग, ओठमा सयौं प्रश्न तर लेख्न भनेपछि किन केही फुर्दैनन् ?
कोरोना पछि त झन न कुनै दिन लेख्ने हिम्मत गरेँ, न जाँगर, न आँट ।
हुन त म लेख्ने पढ्ने मान्छे हुँ, केही सायरी र कविता लेखेको छु । कसैले राम्रो लेखेको पढ्दा, जाबो यति त म लेखिहाल्छु नि जस्तो लाग्छ ।
कतै, घुमिरहँदा, आहा ! यसको बारेमा त म घर पुग्ने बित्तिकै लेख्छु भनेर कल्पिन्छु । आँखा जुधे माया बसेका कुरा कतै कोरिहालौं जस्तो लाग्छ । तर अहँऽऽऽ, चल्दैनन् औंला ।
सायद म आफैसँग डराउँछु, मेरो वास्तविकतासँग डराउँछु, केही भन्न त चाहन्छु तर शब्दमै हराउँछु ।
आजकाल त फुर्काउने साथीभाइ पनि छैनन् । तँ राम्रो लेख्छस्, ‘लेख न’ भन्ने पनि छैनन्। कति पटक त ‘भो यो केटा केटीको रहर हो’ भनेर मन बुझाएको छु।
तर वास्तविकतामा म लेख्न चाहन्छु ।
मेरा जीवनका प्रसंगको काव्य बनोस् चाहन्छु । त्यो त सम्भव भएन, तर हप्तामा एक पटक भए पनि लेखे त हुन्थ्यो, यहाँ त वर्षौं बितिसक्यो केही नलेखेको । सायद जीवन शून्य भएर हो कि ?
देवकोटाको जस्तो चुरोटको नशा नभएर हो कि, बालकृष्ण समको जस्तो ऐश आराम नभएर हो कि, लेखनाथ पौडेलको जस्तो ममता नभएर हो कि, या बीपी जेल बसेको जस्तो समय नभएर हो !
सायद म पनि कतै जेलमा, कालकोठरीमा वर्षौं बस्न नपाएर हो कि, कहिल्यै नसकिने फेसबुक, इन्स्टाको रिल्सलाई घिसार्दै सिद्ध्याएर सक्छु भनेर हो कि, खै मैले लेख्नै सकिन !!
तर
कुनै दिन,
लेख्न बसेर,
बिना अर्थ उठे जस्तै हुने छैन,
म केही लेख्ने छु,
अनि तिमीले पढ्नेछौ, अनि तिमीलाई लाग्नेछ-
‘जाबो मैले नि यति त लेख्न सक्छु, म नि कुनै दिन लेख्दिन्छु’ भन्नेछौ…..
Read More From Aarjit Pandey:
“ऊनको स्विटर”- जसले चिसो बनायो आँखा, न्यानो बनायो मन | Movie Review | Aarjit Pandey
Read More at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

