रिटायर्ड लाइफस्टाइल | Retired Lifestyle
मैले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं-३, भद्रवास अवस्थित श्री आदर्श माध्यमिक विद्यालयमा शिक्षण पेशा गरे । म शिक्षण पेशामा मिति २०४९।०१।०१ मा स्थायी नियुत्ति (अस्थायी सेवा वाहेक) लिएर लामो सेवा गरी मिति २०८१ साल बैशाख महिनाको ३ गतेदेखि अनिवार्य अवकाश पछि घर बस्न थालेँ ।
अन्तिम सात वर्ष प्रधानाध्यापक भई कार्य गर्ने अवसर पाँए ।
अब अहिले अवकाश पछि जीवनशैली भने केही फरक भएको छ ।
नियमित समयमा विद्यालय जाने, दिनभरी शिक्षक-विद्यार्थीसंग शिक्षण क्रियाकलापमा सहभागीभई घर फर्किने दिनचर्यामा परिवर्तन आएको छ । विहान हतार हतार गरी खाना खानु परेको छैन । विद्यार्थीहरुको शिक्षण सिकाइ सुधार्न, दैनिक विद्यालयको शैक्षिक प्रशासनिक क्रियाकलाप सञ्चालन गराउन चिन्तन मनन् गर्नुपरेको छैन ।
अवकाश पछिको दैनिकीलाई कसरी रमाइलो, सरल, सहज, खुसी बनाउने तिर ध्यान जान्छ र सोही अनुसार गर्ने प्रयास गर्छु ।
अवकाश पछि साथीभाईहरुसँग भेट्दा आउने प्रश्नहरू-
“दिनचर्या कसरी वित्दै छ?”
“स्वास्थ कस्तो छ?”
मैले पनि आफू भन्दा अगाडि अवकाश पाएका साथीहरुलाई यस्तै प्रश्न गर्थेँ क्यारे !
चितवन स्थायी घरबाट उच्च शिक्षा अध्ययन् गर्ने क्रममा काठमाडौं आएदेखि मैले आफ्नो लागि खाना आफै पकाउन सुरु गरेको हुँ। त्यसैले खाना पकाउन मलाई अल्छी लाग्दैन । मेरो प्रायः दिनचर्या बिहान बेलुकी खाना पकाउन घरका सदस्यहरुलाई सघाएर बित्छ ।
दिउँसोको समय बिताउने विभिन्न उपायहरु थाँतेको छु ।
कहिलेकाही एक मनमा लाग्छ फेरी शिक्षा क्षेत्रमा फर्किउँ। आफ्नो अनुभव, ज्ञान र सीप अरुसँग साट्न र बाँड्न फेरी शिक्षा कार्यमा आवद्ध हौं। कहिले अन्य पेसा वा व्यवसायमा अनुभव लिउँ लिउँ लाग्छ ।
फेरि अर्को मनले भन्छ आफ्नो समयमा, आफनो उमेरमा मन भर्ने गरी जागिर सेवा गरिसकेँ, अब आराम गरेर बस्नुपर्छ । राज्यबाट पाउने पेन्सनले घर खर्च चलिहाल्छ । यतिले सामान्य जीवन बिताउन खासै समस्या नि पर्दैन होला।
यी विचारबिच म आजभोलि आफू जस्तै अवकाश पाएका फुर्सदिला साथीहरुसँग गफिदै बस्दै आएको छु। भेटघाट गरी समसामयिक विषयहरुमा चासो राख्दै कुराकानी गर्ने गरेकोछु । एकअर्कोको घर गई भलाकुसारी गर्ने गरेका छौं ।
कहिलेकाहीँ चिया पसलमा चियाको चुस्कीमा रमाउँछु। चिनी नभएको चिया बाहेक अन्य मसालेदार खाजामा खासै रुचि जाँदैन मेरो। मेरै उमेर समूहमा कतिपय साथीहरुले सुगर-प्रेसरको औषधि खाइरहेको देखेर पनि यस्तो खाजामा कम ध्यान गएको हुन सक्छ।
बरू खाजा भने धेरैजसो आफ्नै घरमा खान पुग्छु ।
चिया खान जाँदा धेरैजसो चिया पसलमा युवाहरु चिया र चुरोट पिउँदै मोबाइलमा व्यस्त भएको देखिन्छ । धेरै हल्ला पनि हुँदैन । कुनै ग्रुप भविष्यका भावी योजनामा छलफल गर्दै हुन्छन्, कोही राजनीतिक टिप्पणी र देश विकासमा चासो राखेको सुनिन्छ ।
हामी साथीहरूबीच पनि देश विकासबारे टाइमटाइममा गहन बहस पर्छ। पढेलेखेका अनुभव र भोगेका परिस्थितिलाई थाती राख्दै देश विकासको रफ्तारका बाधाअर्चन बारे हामी पनि चासो लिन्छौं। विविध पक्षका कमीकम्जोरी केलाउछौं। नेता, उच्च पदस्थ कर्मचारीहरु र हरेक नागरिकहरु आफ्नो स्थानमा इमान्दार भई कार्य गरे देश उभो लाग्न समय लाग्दैन भन्ने निश्कर्ष निकाली सबै आआफ्नो घर फर्किन्छौं।
रिटायर्ड लाइफ कटाउन म साथीहरूहरू समय जुराइ नयाँनयाँ पर्यटकिय क्षेत्र घुम्न जाने योजना पनि बनाउछु। मौका मिले घुम्ने निस्कि हाल्छु। जागिरे जिन्दगीमा बिदा लिन १० पटक सोच्नुपर्थ्यो, अहिले फुरूङ फुरूङ डुल्न निस्किहाल्छु। अवकासे जीवनको एउटा फाइदा !!
नातागोतासँग भेटघाट गर्ने काम पनि यदाकता भइरहन्छ ।
भर्खर अवकाश प्राप्त चिनजानका साथीहरु रोगले थलिएको पनि देखेको छु। आफन्त, इष्टमित्रका असामयिक निधनका खबरले समय समयमा झक्झकाइरहन्छ पनि । चनाखो पनि बनाएको छ आफ्नो स्वास्थ्य प्रति । त्यसकारण कहिले व्यायम योगा गर्ने, विहानी-साँझ पैदलयात्रा गर्ने दैनिकी बनाएको छु।
दिन कटाउन म संगित सुनेर पनि आन्नद लिन्छु । नेपाली रियालिटी सो जस्तै कि नेपाल आइडल, भोइस अफ नेपालहरूको घण्टौ लामो कार्यक्रममा प्रत्यक्षदर्शी जस्तै पुरै सुन्ने गरेको छु। त्यो पनि लगभग नियमित नै।
ल्यापटपमा फुटबल, भलिबल, क्रिकेटहरु जस्ता टुर्नामेन्टहरू मौका पाए सम्म हेरी भ्याउछु । समसामयीक विषयमा राजनीतिक विश्लेषकहरुको आवाज सुन्छु । कहिलेकाहि विविध विषयका पुस्तकहरु अध्ययन गरी दिन बिताउँछु ।
आफूसँग खासै सिर्जनात्मक क्षमता नभएकोले अरुको सिर्जना, अरुको प्रगतिमा रमाउँछु।
यसरी हेर्ने हो भने म आफै अहिले खासै रचनात्मक काममा अभ्यस्त नभए पनि आफूलाई स्वस्थ राख्न, खुसी राख्न केहि न केहि गरिरहेकै हुन्छु।
जागिर गर्दा काम व्यस्तताले गर्न नपाएको काम, घुम्न नपाएको ठाँम, साथीभाइसँगको रमझम अहिले रिटायर्ड लाइफमा गर्दैछु। नयाँ अनुभव अंगाल्दैछु।
जिन्दगीसँगै रमाउँदै छु।
जिन्दगी रंगाउँदै छु।
Read More at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

