अंश-वण्डा | कविता | Nepali Poem

अंश-वण्डा

याद छ भाइ तँलाई त्यो रात ?
ज्वरोले च्यापेर सिकिस्त बनाएको बेला,
आमाले रुँदै तँलाई च्यापेर सुतेको दिन ?
तर आज अंश माग्दा,
तैँले आमाको काख माग्न सकिनस्?

Photo by juan pablo

 

तैँले त त्यो दिन पनि बिर्सेछस्!
नभए आज अंश माग्दैगर्दा
बाको काँध कसरी छुटाउँथिस् होला र ?
जुन काँधमा चड्न
तेरो र मेरो झगडा पर्ने गर्थ्यो !

भाइ,
मैले चाहिँ कसरी भुल्न सकेँ हुँला है?
तँलाई सहरमा राखेर पढाउँदा
बेँसीको तीन रोपनी जग्गा बेचेको ?

अनि कसरी बिर्सेँ होला
तेरो बिहे खर्चको लागि
पाखोबारी सस्तैमा बेचेको ?

आमाले कुँडेमा दूध तताएर कुराउनी कोर्दै गर्दा,
बाहिरबाट मलाई चुकुल लगाइदिएर,
तँ नै भान्सामा छिटो पुग्थिस्!
तर आज ,
बालाई दमले गार्हो पार्यो भन्दा
तँ तेरै घरको ढोकाको
भित्रबाट चुकुल लगाएर बसेको छस् !
अनि आइपुगेको छस्
बाको सास गएपछि
सबैभन्दा अन्तिममा?

मलाई अझै याद छ !
मेरो बिहेमा
“माथिल्लो घरको बस्नेत दाइको कोट”

“तल्लो घरकी थपिनी भाउजूको सुन”
पैँचो मागेर,
मैले मेरो बिहे उतारेको दिन,
याद त मलाई त्यो पनि छ,
तेरो बिहेमा तीन तोला सुन,
दुईवटा खसी,
चारवटा गाडी!
तेरो बिहेमा तँ खुसी भइनस् सायद,
जति तेरो बिहेमा म खुसी भएँ!

Photo by Jennifer Burk

 

आमालाई महिला समूहमा मिस्री बाँडेको दिन,
आमाले कान्छाले खाओस् भन्नुहुन्थ्यो!
अनि तँ मुख चबाउँथिस्,
तर गुलियो मलाई हुन्थ्यो!
आज तैले अंश माग्दा,
मेरो माया अलिकति दे किन भनिनस् ?

भाइ ,
तैँले परालको कुन्यूमा अन्जानमै आगो लगाइस्!
बालाई मैले हो भनेर बाको पिटाइ मैले सहेँ!

तर,

आज अंश माग्दै गर्दा,
त्यो दिनको पराल लान्छस् दाइ भनेर किन सोधिनस् ?
तैँले अंश खोजेर सम्पति लिएर गइस्,
अनि मैले आमालाई पाल्ने होइन,
आमासँगै बस्ने सौभाग्य पाएँ !

ए सहरमा बसेर वकालत पढेको मेरो भाइ?
अब तँ आफैँ भन् त,
यो “रगतको युद्धमा”
मैले जितेँ कि तैँले जितिस् ?

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments
We are Writers who do not want to reveal our names. If you wish the same, mention #nonameplease on top of your writing and your name will be secret too.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *