माेतीराम चाैधरी `रत्न´
कैलाली
म
माघमा ढुमरु गाउँछु।
बर्खामा थकाइ मार्न
सजना गाउँछु।
भाेजमा पगरी बाँध्ने
माँगर,
डानु रि डाडा गिट गाउँदा-गाउँदै
मादलकाे ट्रासन सुन्ने बितिक्कै
मञ्जिरा छनछन बज्ने
आवाजमे रमाउँछु।
म दशैँमा सखिया नाच्छु।
झुम्रा, डिननचुवा, राटनचुवा
कठघाेरी, लट्ठी नाच
भिन्न-भिन्न नाचकाे पैँया लाग्छु।
गाेलाे-गाेलाे लाम्चाे ढिक्रीसँगै
खँरिया,बरिया,
पाेँई, सिढ्रक टिना,
अन्डिक भाट
चरङ्गिक टिना
सुरिक सिकार
घाेँङ्घी सुरुक्क पार्छु।
रसिलाे गुलियाे जाँरकाे झाेल
च्वाट्ट पार्छु।
म,
आफ्नो पहिचानमा रमाउँछु।
पसिनकाे कमाही खान्छु।
वड्रा, बरेरुवा
झपकनिया, डिलिया
खाेँघिया
टापीमा माछा मार्दै।
बाँझाे जमिनमा
लहटा, मस्री
धान गँहु मकै
फलाउँछु।
जल जमिनमा रमाउँछु।
म
फरुवा खेलाउन बिर्सेकाे छैन।
माघकाे भुरा खेल
बिर्सेकाे छैन।
न त
बिर्सेकाे छु ।
पसिना बगाउँदै
सिँन्की बनाउन
जाँर बनाउन
गुर्ही मनाउन
लेनदेन
हिसाब किताब
काम कर्तव्य बिर्सेकाे छैन।
यस्तै हाै हामी थारु
हाम्राे यशि हाे पहिचान।
हाम्राे भलमन्सा
गाउँरुपि राज्य चलाउँछन।
अघारी
कार्यपालिका,
चाैकीदार
सुचना सञ्चार मन्त्रालय हेर्छन।
गुरुवा-बैडवा
बिदेश मन्त्रालय सवारछन्।
घरमा सहयाेग चाहे
रानपराेस् जुटछन्।
भाेजकाजमा
गाउँ भरिका गाउँलेहरु
एकसाथ रमाउँछन।
मरणी-करणीमा
गाउँलेहरु
रातभरी जाग्राम बस्छन्।
कट्नीमा
जाेट्नीमा
धनकट्नीमा
घरछवनीमा
सँगसँगै रमाउँदै मनाउँछन्।
यस्तै हाै हामी थारु
यही हाे हाम्राे पहिचान।
Read More Nepali Poem at Offline Thinker:

