आमाको आशा, बुवाको सपना
पूरा गर्न
आफ्नो योवन धितो राखी
हिँड्दैछु ।
आफ्ना रहर र इच्छालाई
मनमै मारी
जीवनको यात्रामा अल्झदैछु ।
भोको पेट र अनिद्रो आँखा
हराएको जोश जाँगर लिएर
एकाबिहानै खटिन निस्कन्छु ।
आफ्नो आजको रहरलाई बिर्सिएर
अन्जान भविष्य निको पार्न खोज्दै छु।
साथी भाईको गफगाफमा
साहुको गाली बिर्सन्छु,
घरको ऋणको आडमा
मीठो खाने लगाउन बिर्सन्छु,
फर्किन्छु घर थकित शरीर लिएर
एक सर्को चुरोटमा,
नपुगेका चाहनाहरु सम्झन्छु।
आधा रातमा जीवनको बोझबाट
उम्कने उपायहरु खोज्छु।
ती उपायहरुले निकास नदिँदा,
आफ्नै अवस्था सम्झेर हाँस्छु।
मस्तिष्कमा यी सबै कुरा खेलिरहँदा
आँखा बन्द गर्छु।
भोलि फेरि उठेर आफ्नै मलामी पनि त जानु छ।
Read More Nepali Poem by Sajira Shrestha:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your secret writings at connect.offlinethinker@gmail.com
‘याद आउछ घरको तर देशको आउदैन’ | Sajira Shrestha | Nepali Poem

