हाम्रो घरको अघि मेरो डोली सजिदै गर्दा
राता र निला कपडाले डोली रंगिदै गर्दा
कहीँकतै त्यसको सुन्दरतामा अझ पनि फिक्का लाग्दैछ
सायद मेरो डोली तिम्रो हातले नसजिएरै होला
त्यो रंगहरूको रंगीबिरंगी डोली अझै पनि फिक्का लाग्दैछ ।।
मेरो जीवनको नयाँ सुरूवात हुने दिन
जीवनरूपी किताबको नयाँ पाना पल्टिने दिन
यस घरकी छोरी कसैकी बुहारी त कसैकी पत्नी बन्ने दिन
जन्म घरलाई घर भन्ने मौका गुमाउने दिन
अनि तिम्रो प्यारी दिदी सोह्र श्रृंगारमा लत्पतिएर टाढिने दिन
मलाई फिक्का लाग्दै छ।।
मलाई मेरो प्यारो मान्छेको अभाव एकदमै फिक्का लाग्दैछ
तिमीले सधैं पकड्ने मेरो कुमको पछ्यौरी आज घुम्टो बन्दै गर्दा
तिम्रो हात समाएर तिमीलाई ताते गराएका मेरा हातहरू रंगिदै गर्दा
तिमीलाई जति हेरे नि नअघाउने मेरा आँखाहरू आज टाढिदै गर्दा
हामीले खेल्ने आँगनीमा तिम्रो र मेरो बाल्यकाल जलाइँदै गर्दा
मलाई साह्रै फिक्का लाग्दै छ ।।
मेरो अंश तिमी
मेरो मुटुको प्यारो टुक्रा तिमी
तिम्रो अभावमा आज फिक्का लाग्दैछ
त्यही भएरै होला बेलाबेला हावाका झोक्काहरूले
तिम्रो यादका सुवासहरू मेरो सामु ल्याउँदैछ
तिमीलाई हेरेर कहिल्यै नथाक्ने मेरा आँखाबाट
तिम्रो माया आँशु बनी बग्दै गर्दा फिक्का लाग्दै छ
मेरो आँशु पुछिदिने तिम्रा हात
र अनि मलाई सधैं हसाइरहने तिम्राे अभाव
आज साह्रै फिक्का लाग्दै छ।
साह्रै फिक्का लाग्दै छ
जन्म घर छाडी कर्म घर जाने दिन आज।।
-Sisam Thapa
Read More From Offline Thinker:
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

