तिमी | Susan Chapagai | Nepali Poem

Susan Chapagain

तिमी पाउने र गुमाउने बीच कहिल्यै परिनौ,
तिमी त हरेक वर्ष मैले उत्तीर्ण गरेका कक्षाहरु जस्तै हौ,
हरेक सामीप्यतासँगै तय भएको नयाँ गन्तव्य।
हार र जितको दोसाधमा तिमी बस् संघर्षको कहानी हौ,
जितमा म रमाउँछु, हारमा मैले गरेको प्रयास रमाउछ।

प्रतिक्षा र धैर्यताको माझमा च्यापिदा
समय बितेको थाहै हुँदैन
तिमी त्यो समय हौ,
घाम डुब्दा र उदाउँदा
देखिने क्षितिजको कुनै अन्त्य हुँदैन,
तिमी त्यो क्षितिज हौ |

तिमी त्यो क्षितिज हौ जसलाई समय कुरिरहेछ,
तिमी त्यो समय हौ जसलाई खुद समय कुरिरहेछ।

तिमी त मैले गरेका हरेक जीवन्त आभाष हौ,
भीड र दौड भन्दा धेरै पर सुस्साएका नदीहरुको संगम,
जहाँ तिम्रो कल्पना बोकेर बगेको छ मेरो मन, बेग सँग,
तिमी त्यो संगम हौ |
तिमी जीवनका ती रहस्य हौ,
जसका पहेलीहरु सुल्झाउन
मलाई समयले सिकाएकै छैन,
पर्खाइरहेछ वर्षौदेखि |

तिमी त्यो संगम हौ, जहाँ रहस्य पौडिरहेछ
तिमी त्यो रहस्य हौ, जसको पहेली खुद एक रहस्य छ।

तिमी छाया हौ,
घामसँगै आउछौ अनि
घामसँगै हराउछौ,
सँगै छौ पनि छैनौ पनि,
कहिलेकाही पूर्णिमाको इन्दु बनेर आइदिनु
घाम डुबेपछि पनि सँगै छौ भन्ने महसुस हुन्छ
तिमी, तिमी हौ
जसको कुनै व्याख्या छैन,
बस् अन्तरमनले महसुस गरेर मुस्कुराइ रहेछ
एक्लै एक्लै वर्षौदेखि |

तिमी स्वतन्त्र सपना हौ,
जसलाई मैले जहाँ जसरी पनि देख्न पाउछु,
तिमी बेलगाम कल्पना हौ,
जसलाई मैले जसरी पनि लेख्न पाउँछु ,
तिमी सानी नानीको रहर हौ,
जति पुरा भए पनि नपुग्ने,
तिमी आमाको काख अनि बाबुको काधको मिश्रण हौ,
जहाँ भारी बिसाउन म कहिल्यै संकोच मान्ने छैन,
जहाँ खेल्नेछन् मेरा मनहरु नवजात शिशु जस्तै,
जहाँ असफल हुनेछन् मेरा आदर्श र दर्शनहरु,
जहाँ म समाहित हुनेछु तिमीभित्र,
जहाँ मेरो एकल अस्तित्व बिलिन हुनेछ हामीभित्र |

तिमी, तिमी हौ
जसलाई हामी बनाउन कति जुनले कति घाम पर्खनु पर्छ?

 

Read More From Susan Chapagain:

शमन | Nepali Poem| Susan Chapagain [Offline Thinker]

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *