मेरो बर्दिया म बर्दियाली | Nepali Poem by Anil Tharu

Anil Tharu

Nepali Poem by Anil Tharu

प्रत्येक दिन सूर्यास्त पश्चात
अन्धकार छाँउछ बस्तीमा
अनि वथानका वथान
वन्यजन्तुहरु लस्करै
निस्कन्छ्न् गस्तीमा!

केही हुल पैदवारहरु
वर्ष भरीको खर्च जोहो गर्ने
मेरो सपनाको बारीमा मध्होस् भइ
परेट खेल्छ्न् मस्तीमा अनि
म अत्तालिएर प्रतिकारमा
उत्रिँदा निकुन्जले मलाई
चोरी सिकारको बिल्ला
टाँसी दिन्छ ।

म सहर्ष स्वीकार्छु किनकी ?
म बर्दियाली हुँ।
म संरक्षण प्रेमी बर्दियाली
म संरक्षण सुत्छु, संरक्षण उठ्छु
मेरो दिनचर्या संरक्षण !!
आफ्नो घरको सदस्य ढालेर पनि
आफ्नो गाँस कटाएर वन्यजन्तु पालेर पनि
म प्रशासनको नजरमा संरक्षण विरोधी !!

मलाई जीवन भन्दा प्यारो जनावर लाग्छ
मलाइ परिवार भन्दा प्यारो पर्यावरण लाग्छ
र त जोखिमको आवरण च्यातेर पनि
मेरो सेरोफेरोको वातावरण संरक्षणमा
होमिन्छु!
र त दिनहुँ परिवारको सदस्य गुमाउँदा पनि
विक्षिप्तता, आक्रोस र क्रोधको बावजूद
मौन छु ! आफ्नो घर उजांड पारेर पनि
प्रकृतिलाइ हरियाली छर्छु किनकी ?
म संरक्षण प्रेमी बर्दियाली ।

न त कसैसङ्ग सम्झौता गरे न त सवाल
खै जीवनसङ्ग जोडिएर आउने ?
जीवनयापन, जीन्दगी निर्बाहाको
लागि रोजगार? खै ?
मेरो जीविकोपार्जन, आय आर्जन अनि
खै अर्थोपार्जन …?
सिप र प्रविधि खै विकास
कहाँ छ सम्वृद्धि ?

विश्वभरीका पाहुनाहरुलाई
प्राकृतिक अनुपमको रसपान गराउने बर्दिया
विश्वभरिका प्रकृति प्रेमीहरुलाई
जैविक विविधताको सगुन दिलाउने बर्दिया
राज्यलाई डलरको बर्सात गराउने बर्दिया
अझ भनौ विश्वले मानेको र चिनेको बर्दिया!

विश्वलाई संरक्षणको विश्वास दिलाउने बर्दिया
तर राज्य अनि केन्द्रले नचिनेको बर्दिया
जनप्रतिनिधी र नेतृत्वबाट ठगिएको बर्दिया
सम्वृद्धि र विकासबाट अपहेलित बर्दिया
प्रयोग गर्न नसकि श्रोत, साधन कुहाएको बर्दिया,
आम जन समुदायले मुल्यांकन गर्न
नसकेको बर्दिया,
आन्तरिक पर्यटकहरुले पहिचान गर्न
नसकेको बर्दिया,
मेरो बर्दिया कठै बर्दिया
कठै बर्दिया !!

-अनिल थारु

 

Also Read:

https://offlinethinker.com/ohhuman-poem/
https://offlinethinker.com/importance-of-loving-yourself-sneha-jha/embed/#?secret=fKJEw1pz1L

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *