त्यो दिन, म जन्मेको दिन, सायद
हजुर बा को मन खुसीले नाचेको थियो होला
सायद बा को अनुहारमा सूर्य जतिकै चमक अनि
मन, चन्द्रमा जतिकै शितल भएको थियो होला l
कसैले “नाति भयो कि नातिनी?” भनी सोध्दा सायद
आकाश जतिकै विशाल छाती फुलाइ
शिर, हिमाल जतिकै उच्च बनाइ, बा ले
“नाति भयो, एक नाति अनि एक नतिनी भए अब”
भनी मुसुक्क हाँस्दै अनि
ठट्टा शैलीमा “बोक्नलाई एउटा काध बढ्यो”
भन्नु भयो होला सायद ।
कसैले “तपाईको भाग्य कति चम्किलो । ओहो, नातिनी पनि नाति पनि पाउनु भयो है” भनी भनेको सुन्दा
तपाईको मन अझ बढी हर्षले उफ्रेको थियो होला,
है बा ।
हजुरबाको रुप,ओहो,
शिरमा ढाका टोपी शरीरमा दौरा सुरुवाल
अनि टमक्क परेको इस्टकोट
कालो कपडाको जुत्ता ती पाउमा
यी सङ्गै दायाँ हातमा बाँसको लौरी
आहा! उधुमै सुहाएको,
अनि बायाँ हातको चोरी औंला समातेर
ओराली उकाली हिँडेको म
कहाँ सजिलैसङ्ग भुल्न सकुँला र बा ।
दराजमा राखिएको काजु, बिस्कुट, घिउ, मिस्री,
आदि इत्यादि सुटुक्क “ला खा” भनी दिनुभएको
अनि कहिले २ रुपैया त कहिले ५ रुपैया
हातमा “खाजा खा है” भनेर थमाइ दिनुभएको मलाई
मैले कहाँ सजिलैसँग भुल्न सकुँला र बा ।
बाहिरी कुशक्तिको प्रभाव पर्दा ती पवित्र
हत्केला फिजारी मलाई बचाउनुभएको
अनि संस्कार, संस्कृती, संघर्ष र कर्मको
मीठो ज्ञानसङ्गै बताउनु भएको
ती मनोरञ्जनात्मक कथा मलाई
मैले कहाँ सजिलैसँग भुल्न सकुँला र बा ।
“यो खेती म गर्छु बा” भन्दा
त्यो हर्ष मुहारमा झल्कदा
सबै काम सकि म पसिनाले नुहाएर घर आइ
थचक्क बस्दा तपाईंले “ला तलाइंँ खर्च”
भनी १०० २०० रुपैया दिनुभएको मलाई
मैले कहाँ सजिलैसँग भुल्न सकुँला र बा ।
“ल हिड पहिरोमा बाख्रा पाठा चराउन”
भनी सङ्गै गोठालो बनाइ लैजानु भएको
अनि चिया पसलमा पुर्याइ
चिया र बिस्कुट किनि दिनुभएको मलाई
मैले कहाँ सजिलैसँग भुल्न सकुँला र बा ।
यस्तै गरि समयको नदिमा बगिरहेको जीवनको डुङ्गा
कहाँ ठोकियो अत्तोपत्तो भएन
जन्मिसकेपछि मृत्युको सामना गर्नु पर्छ है भन्ने
प्रकृतिको नियम नै रहेछ भन्ने अत्तोपत्तो रहेन ।
बा! ए बा! भनी बोलाको मैले कति कति
नचलेको देख्दा तपाईंको शरीर र श्वास
स्थिरमा थिएन, बिग्रीएका थिए मेरो मन र मति
मौन थियो सब मौन हुनुहुन्थ्यो तपाइँ
त्यो दु:खका आँसु, त्यो मौनता र त्यो कालो दिन
मैले कहाँ सजिलैसँग भुल्न सकुँला र बा ।
साथ तपाइँको अहिले नभएपनी
तपाईंले छोडी गएको प्रेम, संस्कार,
संघर्षसंगै कर्मको ज्ञान अझै पनि अमर छ्न् बा
चयन गर्दैछु म सधै गरिरहन्छु पनि
तपाइँका ती अमृतरुपी शब्दहरु बा ।
शिर ठाडो पारी, छाती ठूलो बनाइ
हिड्छु आजभोलि म बा।
सम्झना सधै आउँछ बा तपाईको
अनि तपाईंले गर्ने माया मलाई
मैले कहाँ सजिलैसङ्ग भुल्न सकुँला र बा
मैले कहाँ सजिलैसङ्ग भुल्न सकुँला।
Read More From Anup:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

