पैसा – सुसन चौधरी
पैसा,
एक रुपैँया, पाँच रुपैँया,
पचास कि हजार?
पैसाले कसरी हुन्छ सपना साकार?
जाबो कागजको टुक्रा
नहुनेलाई दिनको छाकको चिन्ता
हुनेलाई लोभको जन्मदाता,
पैसा-पीडाको रचनाकर्ता,
अनि संसार चलाउने सृष्टिकर्ता ।
पैसा,
अंक कोरिएको जाबो पानाको टुक्रा
अंकजाल र अंग बिक्रेता
खुसीको चिनो या मायाको थुंगा?
झगडाको कारण यहि पैसा,
विकासको बोझ, विनाशको दाता,
विलासीको मित्र यहि पैसा।
पैसा,
दुई शब्दको खेल,
दुई दिनको मोज, अनि दुइटा यातना-
उडाउनु कहाँ र लुकाउनु कहाँ
पाए त सबै मेरा, नपाए लाखापाखा
जसरी पनि चाहिन्छ पैसा,
अन्न नखाइ फेरि कसरी बाँच्नु यहाँ?
पैसा,
यहि त हो सबैलाई डुबाउने,
लाचार बनाउने, सताउने, रुवाउने, मुर्छयाउने ।
नभए कराउने, भए नि कराउने
जाबो पैँसा- खान, लाउन, जिउन
हास्न, रम्न, रुझ्न
कति दिउँ पैसा? मन बुझाउन?
पैसा,
एक रुपैँया,
भिख मागेको भएर दिएँ, लिएर जाउ
कमाउन कति गाह्रो छ,
काम, चाकरी गरेर आउ
सेटिङ मिलाउ,दस जनालाई फकाउ
सित्तैमा पैसा दिन देउता होइन म
धनी हुन भिख माग्दै नआऊ।
पैसा,
एक रुपैँया धैरै हो- अरब भए निन्द्रा उड्छ
मागी लाग्छन्, चोरी हुन्छ
बरु सय जनासित माग,
खानेकुरा किन, आजलाई सुत ।
लाख, करोड सबै भुल।
जीवन एउटा पाइन्छ
एक रुपैँयामा आनन्दको जीवन चल्छ
यहाँ एक रुपैँयाले पूर्ण जीवन नै पाइन्छ।
सुसन चौधरीका अन्य लेख पढ्नुहोस्ः
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

