हुन त तीज नेपाली महिलाहरू विशेषतः हिन्दु धर्मावलम्बीहरूको एक महान् पर्व हो। धार्मिक तथा ऐतिहासिक दृष्टान्तहरूलाई केलाएर हेर्ने हो भने यस पर्व नारी उत्पिडनको विरुद्धको शान्तीपूर्ण क्रान्ती र नारी स्वतन्त्रताको वकालत गर्ने माध्यमको रूपमा लिइएको देखिन्छ।
पौराणिक कथाको अनुसार माता पार्वतीले आफ्नो विवाह विष्णुसँग गराउन लागेको थाहा पाएपछी आफ्नो विवाह शिवसँग नै होस् भन्नको लागि जङ्गलमा गएर व्रत बसेका थिए। यस प्रसङ्गलाई हामी नारी स्वतन्त्रताकै क्रान्तीको रूपमा लिन सक्छौँ। पहिले पहिले जुन समयमा सञ्चारको विकास भएको थिएन अनि जब यातायातको विकास नभएको बेला विवाह गरेर गएका छोरीचेलीहरू भनेको बेला माइत जान पाउँदैनथे, त्यसबेला तीज पर्व नै एक मात्र माध्यम हुन्थ्यो जब सबै छोरीचेलीहरू एकै ठाउँमा भेला भएर आफ्नो दुःख, पिरमर्का र शोषणहरू गीतसङ्गीतको माध्यमबाट पोख्दै शान्तीपूर्ण तरिकाले स्वतन्त्रताको वकालत गर्ने गर्थे।
समयक्रमअनुसार महिलाहरूको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक स्थितिमा सुधार हुँदै गएको छ। केहि दशक अघिको तुलनामा हालको स्थितिमा निकै परिवर्तन आएको छ। यसले गर्दा तीज मनाउने तरिका र शैलीमा परिवर्तन आउनु स्वभाविक हो। तर अहिलेको तीज मनाउने शैली र तीजको सन्दर्भ पारेर तयार गरिएका गीतसङ्गीतहरू सुन्ने हो भने यसले नारी उत्पिडनको विरोध र स्वतनत्रताको वकालत गरेको भन्दा पनि अनावश्यक तडकभडक र बाहिरी सौन्दर्यलाई बढी प्रसय दिएको देखिन्छ।
सामाजिक सञ्जाल खासगरी टिकटक, फेसबुक र इन्स्टाग्रामको स्टोरिज् हेर्ने हो भने अधिकांश सामाग्रीहरूमा नारी स्वतन्त्रताको वकालतको कुराभन्दा बाहिरी सौन्दर्यता र तडकभडकलाई प्रसय दिइरहेको पाइन्छ। यस किसिमको तडकभडक, उछृङ्खल/भड्किलो गीत/सङ्गित र गतिविधी देख्दा लाग्छ महिलाहरू कतै आफूलाई ‘अब्जेक्टिफाइङ’ त गरिरहेका छैनन्।
हुन त हरेक व्यक्तिको आआफ्नै बुझाई र धारणा हुन्छ जसलाई आलोचना गर्ने मेरो कुनै मनासाय होइन तर यदी सबै नारीहरू पुरुषसरहको समान सहअस्तित्व चाहन्छन् भने तिनै पुरुषलाई लोभ्याउन र उसको मन जित्न किन आफ्नो सौन्दर्यताको उपयोग गरिरहेका छन्? किन पुरुषको लागी आफूलाई अब्जेक्टिफाइङ गरिरहेका छन्? किन आफूलाई पुरुषको तुलनामा कमजोर र पुरुषप्रतिको निर्भरतालाई जोड दिइरहेका छन्?
के नारीहरू साँच्चै पुरुषको लागि एक सहअस्तित्व/सहकर्मीभन्दा सहायक मात्र हो? के नारीहरूले आफ्नो तडकभडक र बाहिरी सौनद्र्यलाई प्रसय नदिइकन पनि पुरुषसँग समान सहअस्तित्व कायम गर्न सक्दैनन्?
यसो हुनुमा परापूर्वककालदेखि जडो गाडीआएको पितृसत्तात्मक सोच नै प्रधान भएको कुरामा कुनै दुई मत छैन। पितृसत्तात्मक सोच र व्यवहार पुरुषसँगसँगै महिलाहरूमा पनि विद्यमान छ। अहिलेका आधुनिक र सभ्य कहलाउन खोज्ने महिलाहरूमा पनि यसको लेप अझै बाँकी छ जसले गर्दा नारी स्वतन्त्रता र सशक्तिकरणमा अपेक्षाकृत व्यवहारिक परिवर्तनहरू भएको पाइन्न।
हामी साँच्चै लैङ्गिक समानता र समतामुलक समाज चाहन्छौँ भने हाम्रा सोचहरू बदलिनु आवश्यक छ, व्यवहार परिवर्तन हुनु आवश्यक छ अनि हाम्रो बुझाइलाई फराकिलो बनाउन जरुरी छ।
कानुनमा जतिसुकै आमूल परिवर्तन आओस् तर हाम्रो सामान्य सोच र व्यवहारमा नै कुनै फेरबदल आएको छैन भने नारी स्वतन्त्रता र सशक्तिकरणको आवाज उठाउँदैमा त्यसले प्रतिफल दिन सक्दैन।
अन्तमा, तीज पर्वलाई नारी स्वतन्त्रता र सशक्तिकरणको दिवसको रूपमा मनाऔँ। नाकी अनावश्यक तडकभडक र बाहिरी सौन्दर्यता अनि पुरुषप्रतिको भक्तिभावको पर्यायको रूपमा।
Photo: Amit Machamasi
Read More From Nir Shrestha:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.co