बाबालाई चिठी | Nepali Poem | Suman Ghale | Letter to Father

यो वर्षदेखि बा तिम्रो अठासी लाग्यो है?

तिम्रा ति  गह्रौँ काँध मल्लिन भयो है ?

तिम्रा ति हत्केलाहरुमा चिरा पर्‍यो  है ?

तिम्रा ति बहादुरी गालाहरु चाउरियो है ?

तिम्रा ति नयनहरु

अनि तिम्रा ति पाँउहरुको चाल खस्किए पनि,

बाँ तिम्रा ति ओस्ठे शब्दहरु अझै ताजै छन् ।

सानो छ्दाँ हात समायौँ तिमीले,

अनि जब म वयस्क भएँ जिम्मेवारी थमायौँ तिमीले,

तिम्रा ती गह्रौं शब्दहरूको इन्कार गर्दिन म,

कारण ती त मेरा पथप्रदर्शक भएका छन् ।

तिम्रा ती चम्किला मुहारलाई बिर्सिदिन्न म,

कारण ती त मेरो जिउने आधार बनेका छन्,

निराशामा जिउने आशा बनेका छन्।

 

हो मलाई थाहा छ म निर्बल छु,

यो राजधानीको कोलाहलबीच एक्लिएको छु,

अपरिचितहरुसामु आफ्नो पहिचान खोज्न मिसिएको छु

तर संकोच नमान्नु है बा

यी नै भिडबाट तपाईंको शिर उठाउने

अनि यिनै अपरिचितहरुसामु परिचित गराउने प्रयत्न गर्दैछु।

 

खिन्न त लाग्ला बाबा, कारण म तपाईंदेखि टाढिएको छु,

बुढेसकालमा सहारा दिन छोडेर परदेशिएको छु,

तर बाबा चिन्तित नहुनु होस्

म एक दिन अवश्य फर्केर आँउनेछु

कारण मलाई तपाईको शरिरमा टालिएको त्यो  पूरानो गेला पनि त फेर्नु छ

आमाको त्यो चिराचिरा भएर सिलाइएको चोलाको तुना पनि त रङ्गाउनु छ

बहिनीले पनि त्यहि पोहोर दशैंमा कान्छा मामाले ल्याइदिनु भाको गून्यु नै लाइरा होलिन् है बाबा ?

उनलाई पनि त एक जोड नयाॅ लुगा लाउने ईच्छा होला नि है ?

म सबै आकांक्षाहरुको संसारलाई नया रुप दिन फर्कि आउनेछु

 

अस्ति बिहान पल्लाघरे कृष्ण झ्यालखानामा पर्‍यो रे

त्यो माइलाको छोरो हरि लागुऔषधमा समातियो रे

रामे र श्यामे त सुन तस्करीमा समातियो रे

जस्ता समाचारहरुदेखि नआतिनु है बाबा

कारण तपाईंका पुत्रका हत्केला अनि नयनहरु

तपाईंको मार्गदर्शनले अभिप्रेरित छन्

मानवताबादी सोचले ग्रस्त छन्

 

बधुराम काकालाई एउटा पत्र थमाइदिएको छु

जहाँ तपाईं मेरो सन्चो बिसन्चोका खबरहरु मात्र पाउनुहुनेछ

ए साच्ची! आमालाई पनि ढोक प्रणाम छ भनिदिनू है

बिचरा उनी मेरो बाटो हेर्दै बस्दिहुन्

मीठो मसिना हातमा पर्नासाथ मलाई सम्झिदो हुन्

हरेक दिनको दुर्घटनाका सामाचारहरुदेखि तर्सिदो हुन्

उनलाई ढुक्क हुनुहोस भनी भनिदिनुस् न है बा,

समाज नवीकरणको गह्रौं भारी बोकिरहेको म

समाज परिवर्तनका वकालतहरु लिई तपाईहरुसामु अवश्य उपस्थित हुनेछु।

-Nepali Poem by Suman Ghale

 

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *