Nepali Poem | माइतीघरको मर्म | Sugam Dulal
शान्तिको बिहा गराउन
घरले ठूलो ऋण लियो
विवेक र आदर्श बेचेर
परदेशीलाई दाइजो दियो
र पठाइदियो छोरीलाई
नफर्किने बाटो।
त्यसैबेलादेखि घर माइतीघर बनेको हो।
ऋण दिएकाहरू
साउ बटुल्न
ब्याज असुल्न
पालैपिच्छे माइतीघरको ढोका ढक्ढक्याउँछन्
डाक्टर रोग देखाउँदै आउँछन्
मास्टर भोक देखाउँदै आउँछन्
किसान शोक देखाउँदै आउँछन्
चुकुल लगाएर बसेका बुबा-आमाले
सबै आरोप सुनेका छन्
त्यही पनि कान थुनेका छन्
माइतीघरको भान्सा रित्तो भएको छ
र गुनासो बोकी आउने
अनेक पाहुनाहरू
भोकै फर्किन्छन्
एक झोला गाली दिएर
र खाली पेट लिएर
माइतीघरबाट।
माइतीघरको भित्ता चर्किन थालेको छ
धारा चुहिन थालेको छ
रंग उड्न थालेको छ
र फुटेका सिसाको प्वालबाट
पस्न थालेको छ
आश्रु ग्यासको धुँवा
जुन धुँवाले छोपिदिने गर्छ
माइतीघरको मर्म
र पस्न थालेको छ
ढुंगा र गिटीको थुप्रो
जुन पालै पिच्छे बजारिन्छ
माइतीघरको शरीरमा
र छोड्ने गर्छ
गहिरो चोटको खत
माइतीघरमा दिनैपिच्छे आक्रोश पस्छ
गर्जन पस्छ
गुहार पस्छ
पुकार पस्छ,
तर यत्रो साल बित्दासम्म
बिहा भएपछि हराएकी शान्ति
माइत पसेकी छैन।
Read more from Sugam Dulal
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com