महोदय…….!
प्रत्येक ढोंगीहरूको ढोङसँगै
परिवर्तन भएको संविधानको धाराले तुँवाएको
मेरो देशको प्रत्येक पद्धतिका व्यवस्थापन पनि…
आज छिप्पिएर अजगको साँढ जस्तै भएछ ।
जसको सिङ छ र बेला–बेलामा सिँगौरी खेल्छ
अब त त्यसको भयानक दाह्रा पनि उम्रिएछ…
त्यसैले बेला—बेलामा टोक्न पनि झम्टिन्छ,
थुतुनो निक्कै बलियो भएछ…
त्यसैले आज आफ्नै बन्धनको पराकाष्ठा किल्लालाई उद्धिनी रहेछ ।
महोदय…..! आज तिम्रो बन्धनबाट खै…कसरी हो कुन्नि..!
व्यवस्थापन उम्किएर हरेकको मानसपट नै…
खलबलाउने गरी…सबै घेरोहरू भत्काउँदै….
सडक र गल्लीभरि यता–उता दगुरी रहेको रहेछ ।
यदि तिमीले बाँधेको व्यवस्थापनको किल्ला बलियो भएको भए
आज निर्मला पन्त जस्ता हजारौँ चेलीहरूको
नैराश्यको रोदन सँगै रौँ–रौँलाई कल्पाएर……
बिचलित बनाइदिने चित्कारह?…..
ऊखु बारी, धानबारी र मकैबारी भित्रै हराउने थिएन होला ।
महोदय…….! जहाँ तिमीले व्यवस्थापनलाई बाँधेको थियौ
त्यो किल्ला यदि बलियो भएको भए….
बुढेसकालले अङ्गालेको एउटा बूढो जहाज आत्मा हत्या गर्नलाई
पोखराको त्यो निलो आकाशबाट हाम फाल्ने थिएन होला….!
यता अर्को जहाज वैशालु बेहुली जस्ती सजिएर…सय किलो सुनको
गहनामा सजिएर विमान स्थलमा ओर्लिने थिएन होला……!
स्वदेशको मलिलो भूमिमा शून्य भएर…..
मरूभूमिमा बालुवाको रेतहरू भित्र जीवनको परिभाषासँगै
हत्केलाको ठेलाहरूमा भाग्य रेखा खोज्दै
नुनिलो पसिनाको थोपाह?ले सपनाको खाली ठाउँलाई भर्न
बिदेसिएका मेरा सन्तान कात्रोमा लपेटिएर देश फर्कने थिएन होला….!
महोदय…..! त्यो किल्ला यदि बलियो भएको भए…
त्यही सन्तान कात्रोमा लपेटिँदै गर्दा…
उमेरको असी बसन्तहरू पर भएका आमा–बुबाहरू
धमिलिएको आकाशतिर फर्केर
नुनिलो आँशुलाई नयनको मझेरीमा बाँध हाली
त्यही आँसुको समुन्द्रमा बैतर्नी तर्दै मृत्युको सिँढी
उक्लिनु पर्ने बन्धन र बाध्यता हुने थिएन होला…..!
महोदय….! यहाँ कस्तो बिडम्बनाहरू छन्
त्यो किल्ला यदि बलियो भएको भए….
आज उखु बेचेर ‘चिनी’ लिन सीमा पारी जानु पर्ने थिएन होला
टमाटर बेचेर ‘सस’ किन्ने थिएनौ होला…
काला बजारी गर्दै जडीबुटी विदेशमा बेचेर……
आज हामी सिटामोलको खाँचोमा मनै पर्ने थिएन होला….!
पतुर बेचेर मेड इन इन्डिया खोज्ने थिएनौ होला…!
आज पानी बेचेर विद्युत् किन्ने अवस्था हुने थिएन होला………!
यदि त्यो किल्ला बलियो भएको भए…..
अत्याचारमा पटक–पटक रेटिएर….विद्रोहको रागमा
सेकिएर तिम्रो सामु जनता जिउँदै जल्ने थिएन होला….!
महोदय…..!
खुकुरीको पिर अचानालाई….कहाँ थाहा हुँदो हो र…
यहाँ सरकार सधैँ व्यवस्थापनको धारिलो धार
हामी जनता जति सबै अचाना, यस्तो कहिले सम्म…??
महोदय…!
ठोक अब किल्ला बलियो
बाध त्यहाँ व्यवस्थापनलाई कसिलो र बनाऊँ एउटा
नयाँ सुन्दर र समृद्ध नेपाल जस्तो सबैको सपनामा होला ।
Read more from Adriano DinuThapa:
More Writing at Offline Thinker
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

