Nepali Poem | निर्देशक | Abhishek Rai

Nepali Poem

“निर्देशक ”

रिल जीवनी लिएर आयो निर्देशक
ऐतिहासिक जीवनलाई चलचित्र नै बनायो निर्देशक ।
वाह!! सलाम छ
आलिसान मोटरगाडी अनि महलसितै खेलिरहदै बिताएको जिन्दगानी
के सत्य नै थियो त ?

संसारदेखि टाढाबसी, सपना बुन्दै
अभिनयको प्रसारण नै गर्छन्
रिल जिन्दगानी,दर्शकमाझ-
एकपलको समय नै बाँधीराख्छ सिनेमावाला ।

हामी पनि हर कोही नायक नायिका हौं
आफ्नै जीवनीको ।
निर्देशक निर्माता पनि आफै
छायाङ्कन हुदैंनन् पलहरू,
तीतो अनि मीठो सम्झना मात्रै रहिरहन्छ!
कुनै रि-टेक हुँदैन
बस चक्रझै चलिरहन्छ ।
बगेको खोलाझै-
उमेरसितै जवानी दौडी रहन्छ
कालो कपाल पनि सेतो भई फुल्छ
जीवनीको गाथासितै ।

बस कहिलेकाहीँ –
ऐना हेर्दै मुसुक्क हाँसेको!
दुःखमा मनको भावना आँसुसित बगेको
ऐक्लै ऐनाअघि बरबराएको ,
त्यसैले त ऐनाको अविष्कार भएछ ब्रह्माण्डमा।

रुमल्लिएर हिँडेको बटुवा पनि
खोलाको बगरमा बिसाई,
अंजुली भरी पानी लिई
आफ्नो प्रतिबिम्ब पानीको लहरमा भेटाउँछ ।
यही नै त रहेछ-
कसैले कागजको पन्नामा लेख्दैछ
जिन्दगी! त कसै सिनेमाको इन्द्रेणीझै
रमाउँदैछ जिन्दगी।

 

 

Read more from Nepali Poem

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *