हे युवा कर्मठ हातहरु तिम्रा बांधेर बस्छौ कति
सत्कर्म गर्यौ भनेता तिमीले हुन्छ धेरै उन्नति
हुदैन अरुको परेर शरणमा होला है अधोगति
रम्न सिक सफल जनहेरी गर्छु भनी उन्नति ।
बाचा अनि प्रतिवद्धताहरु जेछन् गर्नुछ आजैदेखि
गर्छु परिवर्तन भनेर शुरुवात गरौं है आफैंदेखि
योद्धा हौ तिमी झुकेर चरणमा मिल्दैन शान्ति कतै
धोका पनि हुन सक्दछ यहां पुर्याउं है होस्सँधै ।
जन्म हो उत्तम मनुष्य जनको ज्ञान बुद्धि विवेकले
वस्यौं कर्म नगरी भने त्यसै धिक्कार्ला है लोकले
खुर्पाकै बिंड हुन्छ श्रीखण्ड पनि यहाँ सकेनौं चिन्न भने
उस्तै हो हविगत हाम्रो पनि यहाँ जानेन बुझ्न भने ।
सत्य कर्म दया र निष्ठाहरु हुन्हाम्रा अनुशासन
तन् मन् बचनले सुकर्म गरे यहाँ हुन्छ है सुशासन
छाडहै लालच गर्न अरुको सम्पत्ति र वैभव
हुँदैन चित्त बुझाउन तिमीले ज्ञान बुद्धिको आर्जन ।
बेला त्यो प्रतिकूल हुँदैन हरदिन नछाड कर्म त्यसै
सक्दैन जसले अगाडि बढ्न खुट्टा कमाउंछ यसै
लक्ष्य जो निर्धारण गर्दछ त्यही अर्जुन दृष्टि सरी
आखिर टाकुरो चुम्ने उही हो दिन्छ ध्यान सर्वोपरि ।
पर्खि वसेका स्वजनहरु यहाँ हेर्न तिम्रो उन्नति
त्यसैले तिमी बढ अघि हुन्छ सारा सम्वृद्धि
उत्कृष्ट छौ तिमी जनमा छाड है हिन् भावना
सक्छौ सक्छौ तिमी बढ अघि पुग्नुछ गन्तव्यमा ।।
(शार्दूल विक्रीडित छन्द)
-Sushil Rijal