पहेँलो घामले ल्याएको सुन्दर बिहानी देख्दा आझ उनी मख्ख छिन्।
अनुहारमा ठूलो मुस्कान उनि ढुक्क छिन् आज जिवनसाथी पाउँदै छिन्।
आफ्नो मनपर्ने लेहेङ्गा पहिरिएर सजिएको मण्डपमा बस्दा प्रफुल्ल छिन्।
वर्षौँ अघिदेखि अँगालेको आकृति जिवनसाथी पाउन उनी व्याकुल थिइन्।
उनको छोटो कपालदेखि नाता तोड्ने उसलाई सम्झिँदा उनी दङ्ग छिन्।
पाखुराको ट्याटुमा उनको चरित्र नाप्ने उसको तर्कले उनी झसङ्ग थिइन्।
२० जनाले ठुक्राएर जाँदाको पीडा उनी तमासे समाजलाई बुझाउन् कसरी ?
उनको आत्मसम्मानलाई पछारेर लछारेर पछि मलमपट्टी लगाइदिएजस्तो समाजले गर्छ जसरी ।
तर आज उनका असुरक्षाका भाटा मण्डपमा जलेर खरानी हुँदै छन्।
उनको निर्णय देखेर कि उनको बिदाइ सम्झेर आफन्त भक्कानिएर रुँदै छन्।
आफैँमा पूर्ण उनी स्वयम् लाई जिवनसाथी पाउँदा हर्षित छ उनको मन।
उनको स्वतन्त्रताका साथ सुखी जीवन जिउन परिवार आज उनलाई अन्मिने छन्।
आत्मासँग लगन गाँठो बाँधी अग्नि साक्षी राखी सात फेरा लिएकी छिन्।
हरेक दुःख सुखमा साथ छोड्दिन भनी आफ्नो आत्मालाई कसम दिएकी छिन्।
पहिलो कसम उनी समाजको इज्जतरुपी ढकमा आफ्नो आत्मविश्वास तौलिने छैनन्।
पितृसत्ताको अँगेनामा झोसिएका उनका सपनाको मैन दमनको रापले अब पग्लिने छैनन्।
दोस्रो फेरासँगै लिएको दोस्रो कसममा उनी लक्ष्मणरेखा नाघ्ने छिन्।
रीतिरिवाज र संस्कारको ढिकीमा पिसिएका उनका अधिकार उनी डटेर माघ्ने छिन्।
तेस्रो कसम उनी पुरुषपात्र बिना नै मातृत्वरुपी ममताको सुख लिनेछिन्।
कोपिलामै चुँडिएर नालीमा तड्पिएको फूललाई आफ्नो कोखको बँगैचामा फूल्न दिनेछिन्।
चौथो, उनी आमाका हाम्रा पालाका ढाडसमा नारीका अधिकार खोज्ने छिन्।
जन्मजात स्वतन्त्रताको अधिकारको चावी घरकाको हातमा किन सुम्पियौ आमालाई प्रश्न सोध्नेछिन्।
पाँचौँ, उनी आफ्ना कापीका सादा पानामा आफ्नो कहानी आफैँले सजाउने छिन् ।
सेतो वायुपङ्खी घोडामा उनलाई बचाउन कुनै राजकुमार हैन उनी स्वयम् लाई पाउनेछिन्।
छैठौँ फेरा सँगैको छैठौँ कदममा उनी संसारलाई आफ्नो घर मान्ने छिन्।
आवाजविहिनको आवाज बन्दै आफ्नो लक्ष्यलाई जीवनको अर्थसँग बाँध्ने छिन्।
सातौँ फेरामा सात जन्मको कसम हैन यहि जन्ममा सात जुनी फेर्नेछिन्।
असमानताको काँचुली फेरी महिला हर तहमा पुगेको आफ्नो जिवनकालमा हेर्नेछिन्।
उनी पहिलो बेहुली हुनेछिन् जो बिदाइको बेला पनि दुःखी हुने छैनन्।
आफ्नो गोत्रै भुली अर्काको पेवा बन्नुपर्छ भन्ने कुण्ठा उनको मनमा अब रहेनन्।
उनको विवाहको साक्षी पन्चेबाजा धेरैपछि हर्षको गीत बजाउँदै छन्।
उनको सफलतामा जल्ने आज उनको अगाडि आइ उभिन लजाउँदैछन्।
तर उनी भने निर्धक्क हुँदै गईन् बोकी आफ्ना आकांक्षाका झोला।
कुनै दिन मन आतिएर हार मान्ने अवस्था आए उनलाई पक्कै सम्झिनुहोला।
-Subhechchha Bhandari

