तिमीले सुस्तरी हिँडेको देखेँ
सुस्तरी हिँड्ने घाम जस्तो लाग्यो।
जसले सुस्तरी नै हिँडे पनि
कयौँ युग हिँडिसकेको छ ,
जसले कयौँ युग बाँचिसकेको छ
र हाँस्दा मुहारमा थोते चन्द्रमा देखिन्छ।
जीवनलाई बाँध्दा बाँध्दा
खुकुला भए फलाम जस्तो बलिया हात ,
जीवनको तापले
कसिएका छाला पग्लिए ,
निधारभरि, गालाभरि, हातभरि
मुजा बनि समयको परिभाषा बसेको छ।
तिम्रो लठ्ठिको आवाजले
जीवनको ध्वनि सुनाइराखेको छ ,
तिम्रो मौनताले नै
जीवन व्याख्या गरिराखेको छ।
जमिनलाई मात्र हेरेर हिँडेको देख्दा
आकाशमा केहि छैन भन्न खोजे जस्तो लाग्छ ।
ए बा के तिमीलाई मन लाग्दैन
फेरि जवान हुन ?
फेरि हाँस्दै संसारको कुरा गर्न?
फेरि सिगरेट तानेर रवाफ देखाउन ?
जीवनको पल्लो छोरमा आइपुगे पछि
पुरा नभएका प्यारा सपना बारे कस्तो खयाल आउछ बा ?
मलाई त अहिले सम्म कसरी बाँच्ने
भन्ने कुराको फिकिर नै छैन हेरन
छ त सिर्फ कसरी उठ्ने र कसरी उड्ने
आज तिम्रो मुखबाट सुन्न मन लाग्यो
कोसिस गर्नु उठ्नु उड्नु लड्नु जित्नु हार्नु हराउनु र जिउनुको
परिभाषा के हो ?
जित्नु र जिउनुको फरक के हो ?
कति एक्लै लठ्ठि टेकेर टुकु टुकु हिँड्छौ।
जाऔँ आज कुदेर त्यो समयमा पुगौँ
जब तिम्रो सपनाको पनि
संसार देख्ने आँखा थियो ,
जब तिम्रो जोसलाई
कुनै अन्धो हुरीले पनि रोक्न सक्दैन थियो।
-Prabesh Acharya