बदल्नु र बद्लिनु
फरक बनाउनु अनि भैदिनु
भिन्नमा अभिन्न भएर
उस्ले खोजेको छ तरिका
आजिवन अबिरल बगिरहनुमा ।
धमिलो धमिलो
उस्को त अस्तित्व नै धमिलो
तपाइँका आँखा पनि बिचित्रका
सत्य भन्दा त
सत्यवानको भ्रम गहिरो
उस्मै मुक्षिन्छ पशुपतिको टिका
रङ्गिन , चमक , चहकिलो
तर भगवानकै आश्रम पछिको ढोका
अलि ओसिलो, बोझिलो
त्यहिँ बगेको छ
पाप पखाल्ने बगरको कथा
कालो निस्पट्टै कालो
अस्तुको लागि समेत अछुत
अँधेरोको रङ्ग गाढा गहिरो ।
फ्याँकिएकालाई डोर्याउनु
डोर्याएर त्यसमै बिलाउनु
अन्जानैमा आँफैलाई पगालेर
उसले देखेको छ जिन्दगी
‘कचरा’लाई ‘कमल’ बनाउनुमा ।
तर साँघुरो साँघुरो
उप्रती हेराइ साँघुरो
तपाइँका ब्यवहार मत्लबि
सह-अस्तित्व छ र कहिँ ?
सयमा शोषण- षड्यन्त्र पहिलो
साँच्चै उ होईन क्यारे
तपाइँको छाला, चिन्ह , बिचारको
बरु आँखै चिम्लिनुस्
कस्ले थाम्छ भार आकाशको ?
आकाशै खसेपछी भयो
उ नितान्त निलो
उदारता उचाइ बनेन तैपनि
बेविचारिलाई बिभेद नै पहिलो ।
भुल्नु भुलाउनु
गल्तिले चेतीनु चेताउनु
‘आँफु’को अंहकार अँठ्याएर
उस्ले खन्याइदियो अमृत
पत्थरलाई प्राण भरिदिनुमा ।
हँसिलो हँसिलो
उस्ले हुर्काएको पत्थरै हँसिलो
ठिकै छ उभित्र ‘उपकार’ देख्नुभएन
पत्त्थरको बोली सुन्नुभएको भए
उस्को मुस्कान बन्थ्यो कि मेरो ?
तर दिएन क्यारे तपाइँलाई
तर्कले उस्को तरलता देखाउन
त्यहिँ तरलले आफ्नो तह बुझि
हिँड्यो माटोको मानबता उठाउन
तपाइँका सङ्किर्ण सिमाना तोडेपछी
उ छ बेरङ्गी सिसाझैँ सङ्ग्लो
त्यसरि नै म सङ्ग्लिएर तिमीमैँ बिलाएँ
लौ देखाउ कुन रङ्ग बचेको छ
न कुनै तिम्रो न मेरो ।
-Pramod Kafle

