ती मझेरी आज पनि
शुन्य छन्
जहाँ हरेक साँझ
हरेक बिहान
मेरी आमाको नाडीका
चुराहरूको छिनछिन आवाजका
धुनमा ती झुल्ने गर्थे
निस्सहाय छन्
ती जल्न बाँकी मुढाहरू पनि
जो हरेक दिन
मेरी आमाको कमलो हातले
ठोसिएर
भविष्यलाई पकाउन
वर्तमानमा जल्ने गर्थे
दिनभरीको कामबाट
थाकेकी मेरी आमाले
आफ्नो थकान बिर्साउन लगाउने
सुस्केराको
स्वाद लिन नपाएका
ती मझेरी वरपर
भौतारिरहने हावाहरु पनि
ती भित्ताहरुसँग गुनासो गरिरहन्छन्
त्यो तिमीसंग अडेस लगाएर
आफ्नो मनको कुरा
सुनाईरहने ती
बुढी आमा कहाँ गइन् ?
खाना खाईसकेपछि
जुठो लोट्याउँदा
बसेका मेरी आमाका
हत्केलाका डोबहरु कतै
मेटिएलान कि भन्ने डर लाग्छ
अनि म
आफ्ना पाइला पनि
मझेरीको भुई नछुनेगरी कुनातिर राखी
हरेक पल आफ्ना पीडा आगोमा
जलाइ खरानी बनाइरहेकी
मेरी आमालाई सम्झन्छु।
आफ्नो उमेर कसौडीमा पकाई
मलाई जिवित राख्न
त्यही उमेर मेरा लागि भनी
पस्कँदेै गरेकी महान त्यागी
म मेरी आमालाई सम्झन्छु।
मनले आमालाई
सम्झदै गर्दा
आँखा भने
आमाकै आकृति खोजी गर्न
अन्धकारभित्र डुबुल्की मार्न पुग्छ
अनि
कान आमाकै आवाज सुन्न
अज्ञात शुन्यतातिर लम्कन्छ
आमाको वात्सल्य प्रेमका लागि
मझेरीमा बसी छट्पटाईरहने म
मेरो वरपर ब्याप्त सन्नाटा
भने
मलाई हेर्दै टोलाईरहन्छ।
-Ankit Shrestha

