प्रेमिल मौसम,
प्रेमले लपक्क रातो पोतिएको काठमाडौँ,
फुसफुसाउँदो बादल र रापिँदो रविको रमाइलो लुकाछिपी,
अनि,
एक तोला प्रेम खोज्न निक्लिएको म ।
मैले प्रेम खोजेँ,
ती बाँधिएका अँगाला र पोष्ट्याइएका सेल्फिहरुमा,
ती प्लान गरिएका “डेट” र कन्जुस्याइँ नगरी खाइएका कसमहरुमा,
ती “कस्ट्युमाइज” गरिएका “बर्थ डे” केक र महिनै पिच्छे मनाइएका “एनिभर्सरी” हरुमा ।
खोइ,
एक लाल पनि प्रेम भेटिएन,
ती पार्कका बेन्च र सिनेमा हलका कुनाका सिटहरुमा,
ती नगरकोट गैरहेका युगल जोडी र सिद्धिपोखरीका डिलहरुमा,
एक आना पनि प्रेम भेटिएन,
ती पाँच सयका वेश्या र पचास हजारका कलगर्लहरुमा,
ती रत्नपार्कका सडकपेटी र ठमेलका होटेल र लजहरुमा,
अहँ, प्रेमको नामोनिसान भेटिएन,
ती रित्तिएका सम्बन्ध र खोक्रिएका नाताहरुमा,
ती जोखिएका फाइदा र किनिएका साथहरुमा ।
प्रेम भेटियो त,
त्यो आमाको काख र दशैँमा खिचिएका फोटाहरुमा,
ती खाना खाँदाका गफ र बा ले किनीदिनुभएका दश रुपैँयाका खेलौनाहरुमा,
ती आमासँग मन्दिर गएर मनाइएका जन्मदिन र बा ले सबैलाई बाँड्न ल्याइदिनुभएका चक्लेटहरुमा।
हो,
मलाई फेरी भेट्टाउनुछ, त्यही किलोका किलो अर्ग्यानिक प्रेम ,
हो,
मलाई फेरी जिउनुछ, आमाका क्विन्टलका क्विन्टल प्रेम अटाउने आँखामा,
हो,
मलाई फेरी रमाउनुछ , बा का टन् का टन् प्रेम रसाउने हृदयमा ।
-Sameer Sapkota