अहिले नेपालले व्यवस्था परिवर्तनको ठूलो अन्योलता सामना गर्नु परेको छ।
कतै “राजा आऊ देश बचाऊ”को आवाज गज्रिन्छ त कतै ‘गणतन्त्र जिन्दावाद’का सुस्केरा गुन्जिन्छन्।
राजावादी आन्दोलनमा सहभागी हुनुभएका नागरिकले यो कुरा बुझ्नु जरूरी छ कि अहिले हामी नेपाली क्रान्ति वा द्वन्द्व पछि देखा पर्ने परिणामको सामना गर्ने स्थितिमा छैनौँ ।
हजुरहरुको यस प्रकारको क्रान्तिको आगोले देशमा अराजकता मात्रै भित्र्याएको छ। पूर्वाधार विकासमा चुनौती सामना गर्दै आएको नेपालमा अलिअलि भएको पूर्वाधारमाथि हस्तक्षेप गर्नु, तोडफोड गर्नु कदापि औचित्यपूर्ण हुँदैन ।
विगत ८-९ दशकदेखि नै व्यवस्था परिवर्तनको श्रृंखलाबद्ध चरणहरू पार गर्दै यहाँसम्म आइपुगेको नेपालमा फेरी राजतन्त्र ल्याउनु यहाँ देखा परेका बेथिति, कुसंस्कार, भ्रष्टाचार एवं राजनीतिक अस्थिरताको पराकाष्ठाको समाधान गर्न उपयुक्त विकल्प होइन राजा आए पनि देशमा तत्कालै विपुल परिवर्तन आउन सक्दैन किनभने राजा ज्ञानेन्द्रसँग राज्य सञ्चालनका निमित्त कुनै प्रकारको रणनीति भए जस्तो मलाई लाग्दैन।
सडक आन्दोलन गरेर व्यवस्था परिवर्तन गर्नु पर्ने, जनताले आफ्नो आहुति दिएर सरकार विस्थापित गराउनु पर्ने, पत्रकारहरु मारिनु पर्ने, वम वर्षा गरेर शक्ति पदर्शन गर्नु पर्ने बाध्यता निरङ्कुश तन्त्रमा रहन्छ।
तर नेपाल एक लोकतान्त्रिक शासन व्यवस्था अंगालेको मुलुक हो ।
यदि दम्भ छ भने लोकतान्त्रिक पद्धतिले सरकार वा व्यवस्था परिर्वतन गरेर देखाउन म राजीवादी आन्दोलनमा लाग्नु भएका पलायनवादी र अवसरवादी नेताहरुलाई चुनौती दिन चाहन्छु ।
क्रान्ति अब सडकमा होइन चुनावका मतपत्रमा देखाउनु पर्छ । व्यवस्था परिवर्तन गरे पनि अवस्था परिवर्तन गरे पनि शन्तिपूर्ण ढङ्गले गर्नु पर्छ।
काम गरेर खाने मान्छेलाई दुःख दिनु हुँदैन । निर्दोषको ज्यान लिन, प्राकृतिक सम्पदाको दोहन गर्न, साझ बिहान काम गरेर छाक टार्ने सर्वहारालाई दुःख दिन हजुरहरुलाई छुट छैन । ठिकै छ सरकार प्रति वितृष्णा बढ़ेको छ तर यसरी अमानवियता अराजकताको पराकाष्ठा नाघ्नु त भएन नि ।
एउटा प्रसिद्ध भनाइ छ “A nation that debates the irrelevant will never solve the essential”अर्थात “अनावश्यक कुरामा बहस गर्ने राष्ट्रले कहिल्यै आवश्यक समस्याहरु समाधान गर्न सक्दैन” ।
वि.स २००७ साल देखि नै नेपालमा प्रजातन्त्र स्थापनका लागि ठूला क्रान्तिहरू भए र धेरै पटक यो देशमा जनताका इच्छा विपरीत गएर प्रजातन्त्रमाथि हस्तक्षेप समेत गरियो । राजाले फेरी पनि राजतन्त्र आए पछि प्रजातन्त्रमाथि खेलबाड नगर्लान भनेर भन्न सकिन्दैन ।
यदि उहाँबाट प्रजातन्त्रमाथि हस्तक्षेप भयो भने फेरी “ज्ञ्याने चोर देश छोड”का नारा गुन्जाउँदै, सडक तताउँदै, जनता मार्दै जाने हो त?
यसको जवाफ Rajendra Lingden, देशभक्त नेता Gyanendra Shahi , Rabindra Mishra जस्ता तमाम राजावादी नेताहरुले (जो अहिले नेपालमा जसरी भए पनि राजतन्त्र ल्याउन चाहनुहुन्छ )दिन सक्नुहुन्छ? कति सम्म यो देशले व्यवस्था परिवर्तनको समस्या भोग्नु पर्ने हो?
२००७ सालमा निरंकुश शासनको अन्त्यका लागि क्रान्ति भयो, २०४६ सालमा पञ्चायत विरुद्ध आन्दोलन भयो, २०६२/६३ मा राजतन्त्र विरुद्ध नै आन्दोलन भयो। त्यति बेला पनि क्रान्तिहरु आवश्यकताका उपज थिए तर फेरी अहिले २० वर्ष पुग्न नपाउँदै गणतन्त्रका विरुद्ध पनि आवाज सुनिन थालेका छन्।
यसरी अनावश्यक विषय बनि सक्यो व्यवस्था परिवर्तन यो देशका लागि र यो देशका भोलिका पुस्ताका लागि । व्यवस्थामा केही खराबी छन् त्यसलाई शान्तिपूर्ण ढंगले परिमार्जन गर्दै लग्नुपर्छ।
यसरी व्यवस्था नै परिवर्तन सही विकल्प होइन ।
कृपया हजुरहरुको क्षणिक लाभ र स्वार्थपूर्तीका लागि हाम्रो भविष्यलाई सङ्कटमा नपारिदिनुहोस्, विन्ती छ।
-Devyani Gautam
Read More From Other Writers:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com