शब्दसंग मेरो डिप लब पर्नु पछाडीको सबै रहस्य छताछुल्ल पार्न आतुर छु।’शब्द’कुन चाहिँ केटि होला जसले यो जस्तो केही न केहिको केटासंग लब गरि,अझ लब मात्र पनि होइन डिप लब सोचिरहनु भएको होला है।धेरै दिमाग नचलाउनुस् र नआत्तिनुस् पनि म मेरा प्रिय पाठकहरुलाई मेरी प्यारी शब्दको जिवनी नै पस्किने छु।अझै पुगेन भने तस्वीर कोरेर नै देखाइदिने हिम्मत पनि गर्ने छु।किनभने प्यार भन्ने कुरा खुलम्खुल्ला गरेकै मज्जा हुन्छ भन्छन्,के लुकाएर राख्नु खै?? अब प्रवेश गरुम् विषयवस्तु तर्फ।शब्द आखिर को हुन् त शब्द??त्यो थाहा पाउन धैर्य गर्नुस्।पहिला पढ्नुस् शब्दको जन्म प्रक्रिया।धेरै वर्ष अगाडीको कुनै एक कालखण्डदेखी कापी अनि पेन एक अर्काका परिपुरक थिए अझ हाम्रै भाषामा भन्नु पर्दा श्रीमान् श्रीमति नै थिए।कापी र पेनमा को श्रीमान् को श्रीमती यो विषयमा फैसला गर्ने सर्वाधिकार साहित्यिक अदालतका प्रधानन्यायाधीश सम्माननिय पाठकज्युलाई नै दिन्छु।
पाठक जि, तपाईं यो लेखक र शब्द बिचको डिप लब स्टोरी हो भनेर झल्काउने शीर्षक राखेर कापी र पेनको लबस्टोरी सुनाउने कस्तो बकम्फुसे लेखक होला भनेर गिज्याउदै हुनुहुन्छ होला है। केही छैन सहृदय तपाईंले गिज्याउनु भएकोमा धन्यवाद टक्राउदै पुन केही क्षण धैर्य गर्न अनुरोध गर्दछु। अँ,विषयवस्तु बद्लियो,म कापी र पेनको सम्बन्धमा थिए। कापी र पेन श्रीमान् श्रीमती हुन् भन्ने कुरा अवगत गराइसकेको छु।एकदिन म छटपटाइरहेको थिए के गरुम् के गरुम् भएर अनि गएर कापिको छेउमा बसे अनि उसको पानालाई पल्टाए र छेउमै टुलुटुलु हेरेर बसिरहेको पेनको मुख खोलेर पल्टिएको पानासंग स्पर्श गराए।केही क्षणको स्पर्श पछि, शब्दको जन्म भयो। अब यति भनेपछी त बुझिहाल्नुभयो होला,शब्द कापी र पेनको सन्तान हो र शब्दका वर्ण र वाक्य नामक दुई दिदिभाइ पनि छन् । वर्ण भाइ हो भने वाक्य दिदि।यो न्वारन बिल्कुल मैले गरिदिएको हो र यो न्वारानबाट व्युतिएको नामलाई मान्न या नमान्न पाठकहरुलाई छुट छ।
अब कुरा गरुम् शब्दको मेरो जीवनमा प्रवेश कहिले देखी भयो भन्ने विषयमा।विद्यालयको जीवन अर्थात् कक्षा १० ११ तिरको समयमा मेरो जीवनमा शब्दको प्रवेश भयो र त्यो समय नै मेरो शब्दसंगको यात्राको प्रारम्भिककाल हो । विभिन्न लेखकका सन्तानलाई नियाल्दै गर्दा,आफुमा पनि ती लेखकले जस्तै सन्तान जन्माउने हुतहुतिका बीच मेरो शब्दसंगको प्रेमिल यात्राको आरम्भ भयो ।शब्दसंगको सामीप्यता बढि रहेको बेलामा साहित्यिक प्रतियोगितामा प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुनुले नै पनि मलाई शब्दसंगको यात्रालाई थप प्रेमिल बनाउन प्रोत्साहन मिल्यो।
मेरी प्यारी शब्दको परिचय र ऊनीसंगको यात्राको सुरुवाती क्षणको बारेमा त बुझ्नु नै भयो होला।मेरी शब्द अजिवकी छिन्।उनी म जस्तै लाखौं करोडौं व्यक्तीसंग प्रेममा छिन्,म संग जस्तै।उनी कतिको बेहुली नै भइसकिन् र कति जनाको त आमा नै भइसकिन्।यति हुँदै गर्दा पनि उनिसंगको डिप लब लाई म पुनविराम लगाउन सक्दिन किन थाहा छ, किनभने जति जनाको बेहुली या आमा नै भएपनी सबैसंग उत्तिकै डिप लब गर्न सक्ने खुबी छ उनिसंग र मलाई त्यही खुबीले आफुप्रति आकर्षित गरिरहेकी छिन्। डिप लब,डिप लब भन्छ डिप लब गर्छे भन्ने के प्रमाण छ भनेर पनि धेरै पाठकलाई प्रश्न सोध्न मन लागिरहेको होला है।ल अब म प्रमाण पनि पेश गर्छु है त साहित्यिक अदालतको इजलासमा।मेरो बिहानको निन्द्रा खुलेदेखी बेलुकीको सपनीसम्म पनि मै संग लुटुपुटु भएर टासिएर बसिरहेकी हुन्छिन् मेरी शब्द।जब जब मेरा मनमा केही कुरा खेल्छन् उनी ती कुरालाई आफुमा परिणत गर्छिन् र मेरा मनका कुराको भारी आफ्नो काधमा थाप्छिन्।अँ अनि अझै कहिले काहीं पीडा यति मजबुत हुन्छ कि मलाई मेरी शब्द नै मन पर्दैन र म बारम्बार शब्दको घाँटी निचोर्छु र शब्द संग संगै कापीको पानाको समेत हत्या गरिदिन्छु तर मेरी प्यारी म देखी एक सेकेन्ड पनि टाढा बस्न नसक्ने भएर हो कि के भएर हो फेरि पुनर्जन्म लिन्छिन् उनी अर्को कुनै रुपमा।यति हुदा त पक्कै देखिन्छ नि होइन डिप लबको लक्षण। अनि अझै जब म रिसाउछु शब्द मेरो रिसको भ्याक्सिन बनिदिन्छिन् जब म खुसी हुन्छु शब्द मेरो खुसीको सहयात्री बनिदिन्छिन्।शब्दले मेरो जीवन र जगत् लाई नै उज्यालो बनाइदिन्छिन्।हजुरहरु जस्तो मेरो पाठकहरुलाई खुशी पार्ने पनि त मेरी शब्द ले नै त हो नि। त्यसैले म शब्दलाई यति धेरै माया गर्छु कि कहिलेकाहिँ त आफैं छक्क पर्छु अनि फूर्सद नहुँदा अथवा इच्छा नहुँदा नहुँदै पनि बाध्यतावश भए पनि शब्दसंग प्रेमिल भइदिन्छु ताकी उनले छोडेर नजावोस् भनेर।
यति हुदा हुँदै अब कसरी बनुम् म उसंग मेरो डिप लब परेको छैन भनेर?
डिप लब डिप लब भन्छस्,माया प्रेमको बन्धनमा फसेर केही नाप्दैनस् भनेर पनि तपाईं मध्ये केही पाठकले सोचीरहनु भएको होला है।के नाप्छु के नाप्दिन,यो बारेमा पनि केही प्रष्ट पारुम् है।
म स्वार्थी छैन।मैले शब्दबाट केही पाउने आशमा उनिसंग प्रेम गरेकै होइन र मैले शब्दबाट केही पाउने आशा राखेको पनि छैन । यति बुझ्नुस् कि,शब्दसंगको प्रेमको मैदानमा छु । प्रेमिकाको साथ पाएपछि जे फुर्छ उही दिप्दैछु– कहिले कविता अनि कहिले निबन्ध होला कि भन्दै । कविता,निबन्ध भएछ भने स्याबासी पाइएला भएनछ भने गाली यति त हो नि होइन।जे होस् शब्दसंगको डिपलब बाट धेरै चिज पाइरहेको छु मैले।मैले शब्दको मार्फतबाट साहित्यिक क्षेत्रलाई सकेको पनि दिइनैरहेको छु र शब्दसंगको सामीप्यताबाट कुनै दिन हजुरहरु जस्तै पाठकहरूबाट पाउने मायालाई नै मैले शब्दसंग डिप लभ गरेर पाएको सर्वोत्कृष्ट पुरस्कारको रूपमा लिने छु । अनि अर्को कुरा शब्द उनी नै हुन् जसले डिप लब गरेर भानुभक्त आचार्य,मोतिराम भट्ट,भैरव अर्याल जस्ता धेरैलाई अमर बनाइन् । अब उनै शब्दबाट मैले के पाउछु पाउदिन त्यो त भविष्य ले नै बताउला नि होइन र ।
मेरी प्यारी शब्दसंग प्रेम गर्नुको मुख्य उद्देश्य हिजो भन्दा आज र आजभन्दा भोली नेपाली साहित्यको श्रीवृद्धि गर्नु नै हो । राजनीतिको छाया र गुटवन्दीको दाग नेपाली साहित्यको विशेषता होइन है भनेर प्रमाणीकरण गर्न शब्दसंग आज भोलि पर्सि सदा सदाका लागी डिप लब गरिरहनेछु तर ब्रेक अप नहुन्जेल सम्म है।आखिर प्रेम न पर्यो,जति नै डिप भएपनी कुन बेला ब्रेकअप हुन्छ थाहा नै नहुने रहेछ आजकाल त।त्यसैले जुन दिन सम्म शब्दसंग प्रेममा हुन्छु तबसम्म मैले साहित्यिक क्षेत्रलाई पालनपोषण गरिरहने छु।
जय होस्।
लेखक परिचय:-
आयुष बडाल नेपाली साहित्यमा भर्खरै प्रवेश गरेका नव आगन्तुक कवि तथा निबन्धकार हुन्।कानुन संकाय अध्ययनरत आयुषका दर्जन भन्दा बढी कविता प्रकाशित छन्।
Facebook Comments