पाहुनासंगको कर्म | Nepali Poem | Aayush Badal

Aayush Badal
आगोको तापमा उम्लिएको चियाजस्तै
भकभकी उमाल्छु मेरो दु:खी मन,
लिटरका लिटर लोकल तीनपाने
संगसंगै
रित्याउँछु मेरो  बैंसालु योवन।शरीर र लाज
एउटै भाडोमा पकाइदिन्छु
ताल परे
आफ्नो ‘श्री’ नै बेचिदिन्छु।यात्रीहरु आउछन्
खाली थाल थाप्छन्-
उनीहरुकै लागि पकाएर
थमथिलो पारेको शरीर पस्किदिन्छु,
रित्तो गिलास थाप्छन् –
शरीरसंगै पकाएको
लाज पिलाएर प्यास मेटाइदिन्छु।

कर्म यस्तै गर्दै छु-
कहिले
विदीर्ण मनको
सहारामा
पाहुनाको हातको मुठ्ठीमा
खेलौना बनेर कब्जा भइदिन्छु

कहिले
जिर्ण तनको
सारथी भएर
फिक्स्ड प्राइजमा
आफैलाई बेचिदिन्छु ।

म यता आफूले आफूलाई नै बच्दै छु,
उता
जिल्ला प्रशासन कार्यालय बाढ्दै छ नागरिकता
र भन्दै छ –
त होस् नेपाली छोरी
यो देशको चेली

सुन्दा यस्तो-
अचम्म मान्छु,
गहबाट बहका बाढी ल्याइदिन्छु
फेरी पनि
पेट पाल्नै पर्ने रहेछ भन्ठान्छु
आफ्नो शरीर बेच्न तम्सिन्छु।

हिजो कोहि कसैले
कोठीमा बेचिदिएको थियो मलाई,
आज स्वयम म आफै
आफैलाई बेचिरहेछु-
भट्टी कोठामा।

माइकबाट बनिरहेछु,
मेरो जात छैन
धर्म छैन
देश छैन
कुनै एक पुरुष त छैन
अनि कसरी हुन्छु म –
नेपाली छोरी
अनि
यो देशको चेली??

तर मान्दैन मेरा यी कुरा प्रशासन

उ पनि भनिरहन्छ:
त होस्
नेपाली छोरी
अनि
यो देशको चेली

तर प्रमाणित गर्न सक्दैन।

प्रिय प्रशासन,
बनाउन मन छ मलाई यो देशको चेली
त्यसो भए,
बन्द गराइदेउ-
आँखाबाट बगेका कोशीका अशान्त छालहरु
रिहा गराइदेउ-
झ्यालखानाभित्र पसेका बेचैन लहरहरु
अनि
बन्द गरिदेउ-
मलाई डाम्ने ठालुका गोलभेडा जत्रा नेत्रहरु।

यो सब गर्नको लागि-
दिलाइदेउ मलाई रोजगारी
अनि
गरिदेउ मलाई मुक्त
यो देहव्यापारको संसारबाट।

सक्दैनौ नि पूरा गर्न मेरा माग,
त्यसैले
मैले भट्टी चलाइरहेछु
अनीि
पाहुनासंगको कर्म  गरिरहेछु।

-Aayush Badal

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *