म अनाथको कथा | Nepali Poem | Whiteshadow

अनाथ

थरी थरीका थर छन् यहाँ
कोहि बाहुन रे कोहि लिम्बु
कोहि जनजाती त कोहि आदीवासी
यहाँ थरको लागि झगडा हुँदो रहेछ
मन्दिर छिर्नु अघि थरकै परीक्षा उत्तीर्ण हुनु पर्दो रहेछ
विवाहको त कुरै छाडौँ साहेब माया गर्न पनि थर सोधिँदो रहेछ
यतिका महत्व बोकेको थर मलाई पनि चाहिएको छ।

नामको पछाडी एउटा थर राख्न मलाई नि मन नभएको होइन
तर मेरो थर के हो ??
अरुलाई यो त खड्का, यो त चेपाङ , यो त बी.क हो भन्छन्
तर मलाई किन यो त अनाथ हो भन्छन् ?
के अनाथ भन्ने आफैमा थर हो र ?
यदि हो भने अरु जस्तै नामको पछाडी अनाथ किन लेखिएन मेरा नागरिकतामा
एउटै थर भएको मान्छेको बनावट एउटै हुन्छ भन्छन् तर हामी अनाथको किन नभएको?
किन अनेक थरी भाको?

मान्छे भेट्न आश्रम आउँछन् अनि सोध्छन्
तिम्रो नाम? शिरीष
अनि थर ?? म चुप चाप
फेरी सोध्छन् तिम्रो थर नि ??
म स्तब्द
कसरी बताऊँ तिनीहरूलाई मानवता नै मेरो थर हो भनेर
कसरी सम्झाउँ मेरा बुबा आमाले मलाई जीवन मात्र दिन भ्याउनु भयो, थर दिन भ्याउनु भएन
कसरी देखाऊ तिनीहरूलाइ कि म कुनै झाडीमा फ्याकिएको मांसपिंड मात्र थिए, मेरो अस्तित्व थिएन
कसरी भनौँ तिनीहरूलाई कि मेरो परिवारमा नामले नै परिचय दिन्छ
यो सब भन्नु अघि नै उनीहरूले भन्दिनछन् ए यो त अनाथ पो हो
सबै उत्तर समेटिन्छन्, यो त अनाथ पो हो।

एक रातको सम्भोग, एक अण्डा अनि एक बिर्य गणित बिगार्दै गर्भमा एक बालक बस्यो १ चक्की गोलीको सेवन गर्देकी भए हुन्थ्यो नि आमा
समाज यत्ति निर्दयी छ भन्ने थाहा हुँदा हुँदै यसको सामना गर्न मलाई एक्लो किन छोडेउ?
मेरो कलिलो च्याल प्याल शरीर त्यो काँडै काडाँको झाडीमा फ्याल्दा तिम्रो हात कामेन आमा?
घरमा एकदिन पनि बास पाउँदिन थिए भने ९ माहिना गर्भमा किन राखेऊ?
याद छ आमा, मुमाले मलाई उठाउँदा मेरो शरीर रगतमै बगेको थियो रे !
यत्तिका रगत दिन सक्ने हजुरले १ मुठी माया देखाउन किन लोभ गर्नुभयो?
आउनुहोस् न आमा यी सबै प्रश्नको उत्तर दिनुहोस्
यसका उत्तर हजुर बाहेक कोहीसँग छैन
तँ पापी होस् तेरो यो जन्ममा पाप कराउँदैछ
अलिक धर्म कमाको भए पो हुन्थ्यो
यस्तै सुन्नु पर्छ समाजबाट त
मैले जन्मेदेखि भोगेको पीडा अनुभव गर्न नसक्ने कुल घरानाका मान्छेले मेरो पूर्व जन्मको खुलासा कसरी गर्दैछन? थाहा छैन मलाई
समाजले त भनी सक्यो मेरो पूर्व जन्मको पाप हो रे
हो माने मैले म पापी
अब यो पनि भन्देउ समाज कुन पापको सजाए यस्तो हुन्छ ?
आफ्नो आँखा नखुली घरको ढोका सधैँको लागि बन्द हुन्छ
आमाको तातो स्पर्समा बसेर अमृतपान गर्न नपाउँदै चिसो हावा खानु पर्छ
म फलानाको छोरो भन्न छोडेर म त अनाथ हुँ भन्नुपर्छ
अझ म त भाग्यमानी, मुमाले आश्रम ल्याउनुभयो
तिनीहरूको पाप के हो जसले फोहोरमै मुतेर फोहोरमै सुत्नु पर्छ
बिहानको छाक छोडेर बेलुका भोकै हुनुपर्छ
जिन्दगी फोहोरमै बिताउनु पर्छ
अनाथ उपनाम त पाएँ-पाएँ साथमा सडकछाप गुइए नाजायज जस्ता ताज भिर्नुपर्छ
८४ लाख जुनीसम्म नपखालिएको त्यस्तो कुन पाप थियो भन्देउ न समाज
अनाथ, नाजाएज, भाग्य फुटेको भन्नलाई मात्रै खोलिने त्यो मुख आज खोल्देउ न समाज
भन्देउ न कस्तो हो त्यो पाप
म आजै गएर सबैलाई भेन्ने छु नि
जिन्दगीमा जे गरे नि गर तर त्यो पाप सपनामा नि नगर
किन भन्ने प्रश्न छ भने मलाई सोध म भन्दिने छु अनाथ हुनुको पीडा
केहि गल्ती भएमा साला अनाथ न हो औकात देखाईहाल्छ भनेर कसैले भनेको सुन्नुको पीडा
म सुनाउँछु नि हिजुरलाई दुःखको कथा
थर नभएर अनाथ भएको कथा
हो म सुनाउँछु मेरो कथा ।

Photo by Elina Krima

Read Related Nepali Poem:

म को हु? | Poem By Secret Thinker

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *