स्ससस…
जाऊ, यहाँ हल्ला नगर
मेरो देश ब्युँझिन सक्छ
धेरै लामो निन्द्रा सुतिसक्यो
सायद अब ब्युँझिने बेला भाको छ
जाऊ हल्ला नगरिदेऊ
मीठो तन्द्रा भंग हुन सक्छ
सगरमाथाको देश मेरो देश, पवित्र पावन भूमि मेरो देश,
शान्तिको द्विप बालिरहेको मेरो देश
संसारलाई शान्तिको आभाष दिँदै सुताईरहेको मेरो देश
आज आँफै मस्त निन्द्रामा छ
कैयौं नेपालीको रातको चैन लुटेर
हेर त देश दिउँसै मस्त सुतिरहेको छ
तिमीलाई थाहा छ मेरो देश कहिले ब्युँझेको थियो ?
के तिमीलाई याद छ र त्यो दिन ?
सायद छैन होला …
धे~रै पैला मेरो देश ब्युँझिरहन्थ्यो रे
रातदिन जागा बसेर हरेक नेपालीको निन्द्राको रक्षा गरिरहन्थ्यो रे
सुन्दा कति अचम्म लाग्छ है ??
तर अहिले ?
अहिले हेर त दिउँसै निदाई~रहेको छ
स्ससस … यहाँ हल्ला नगर
मेरो देश ब्युँझिन सक्छ
देशमा सास्ती दिनदिनै बढ्दो छ
सामानको भाऊले आकाश चुमिसक्यो
हेपाहा प्रवृतिले कहिल्यै छोडेन
निमुखा सँधै हेपिएको हेपिएई छन्,
अनि गरीब सँधै थिचिएको थिचिएई
बस् आफ्नो भागमा पर्ने अलिकति हक खोजिरहेका छन् सबै
आफ्नो हिस्साको अलिकति न्याय खोजिरहेका छन्
“न्याय नपाए गोर्खा जानु”
लाग्छ गोर्खा मेरो देशमा नै पर्दैन
नत्र न्यायको अभाव हामीलाई किन त ?
कसैले भन्थ्यो “विश्वमा शान्तिको अभाव खड्किएको बेला बुद्धको देशमा जानु”
तर मेरो देश त मज्जाले निदाईरहेको छ
मेरो देश त्यो दिनदेखि नमज्जाले निदाको हो रे
जुन दिन शान्तिको देशमा शान्तिकै कमी महसुस भएको थियो रे
त्यस दिनदेखि कहिल्यै ब्युँझेको छैन रे
लाग्छ बुद्ध अरु नै कुनै नेपालमा जन्मेका हुन्
नत्र शान्तिको खोजी हामी नेपालीलाई नै किन हुन्थ्यो र?
अझ कसैले भन्थ्यो,”बहादुरीका किस्सा कतै सुन्यौ भने सम्झनु त्यो पक्कै पनि नेपाली नै हो”
लाग्छ आज सबै बहादुर जति तिनै किस्सामा मात्र सिमित भईसकेका छन्
नत्र आज दिनदिनै आफ्नै सिमाना मिचिँदा पनि
किन कोही बहादुर देखा पर्दैनन् त ?
थाहा छ मेरो देश निदाईरहेको छ
स्ससस …
मेरो देश सुतिरहेको छ
जाऊ, यहाँ हल्ला नगर
देश ब्युँझिन सक्छ ।।
मदन भण्डारी मर्दा पनि निदाईराथ्यो मेरो देश
विरेन्द्र मर्दा त झन के उठेको थियो र ?
६२/६३ मा जनताको रगतले आफ्नै छाती रंगिदा समेत उठेन
७२ को भुँइचालोमा आफ्नै मुटु थर्किँदा पनि उठेन
कैयौं नेपालीसँगै सुते, कैयौँ धरोहर ढले
तर पनि उठेन मेरो देश
उठाउने प्रयास धेरै गरियो
आवाज धेरै उठाइयो
तर अँह कहिल्यै उठेन मेरो देश
थाहा छ नि तिम्लाई अनिदो मै उठियो भने कस्तो हुन्छ ?
एक दिनको अनिदोले सात दिन पिरोल्छ रे
सुत्न देऊ मज्जाले देशलाई
स्ससस …
जाऊ, यहाँ हल्ला नगर
देश सुतिरहेको छ, ब्युँझिन सक्छ ।।
गरीबको घरमा एउटा जीवनजलको झोल समेत नहुँदा
धनीको उपचार हस्पिटल चहारी चहारी हुन्छ
शहरमा फालाफाल डाक्टर हुँदा गाउँमा रोगीको महामारी हुन्छ
टाईफाईडले मर्न लाग्दा सिटामोलले काम चलाउनु पर्छ
जनहित र सु-समृद्दीको लागि आवाज उठाउनेलाई
जहिल्यै अनसनको त्यही छिँडी नै नसिब छ
माफियाको शास्ती,सरकारको नाईं नास्ती
अनि जनता बिरामीसरी आस्ति …
लाग्छ देश अब कहिल्यै नउठ्ने गरि निदाईसकेको छ
उपचार गर्छु भन्दै कसैले निन्द्राको औषधी दिएजस्तो छ
कहिले दुधे बालिका त कहिले पितृ हजुरआमा
कहिले निर्मम महिला त कहिले गर्भवती आमा
एकपछी अर्को बलात्कार भईरहँदा पनि
देश सुतिरहेको थियो
अब के उठ्ला र ?
हुम्ला,जुम्लाका कत्ती गाउँमा बाटो छैन,बत्ती छैन
तर पनि सपनामा मेट्रो रेल कुदाएको देखेर दङ्ग छ मेरो देश
धान रोप्दै किसान शहरको पिचसम्म आइसकेका छन्
भत्केको पिच अनि जमेको पानीले मुखमा हेर्दै गिज्याईरहेको छ तर पनि
समुद्रमा पानीजहाज कुदाउने सपनाले उदङ्ग छ मेरो देश
सरकार मेट्रो आउँदै गर्छ पहिला जुम्ला जाजरकोटमा बाटो पुर्याईदेउ
पानीजहाज बरु कुदाउँदै गरौंला नि,
देशमै पैला हिँड्न सक्ने बाटो खुलाईदेऊ
पानी परे हिलो नत्र बादलभन्दा बाक्लो धुलो
मिलेछ भने हावाबाट बत्ती पनि निकालौंला बरु
पहिला खुला भएर फेर्न मिल्ने एकमुठ्ठी सास दिलाईदेऊ
सक्छौ गरेर देखाईदेऊ नत्र आशाको भुमरीमा नराख जनतालाई
हरेक दिन हरेक नेपाली एउटा न एउटा पीडामा नै छ,
अभाव हरेकलाई उस्तै छ
तर देशलाई त के नै छ र ? मस्त निन्द्रामा छ
स्ससस …
यो आवाज उठाउने ठाउँ होइन,
जाऊ, यहाँ हल्ला नगर
मेरो देश सुतिरहेको छ, ब्युँझिन सक्छ
स्ससस … !!
Photo by Daria Shevtsova
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker

