झरी | कविता | Sandesh Dhakal | काव्यकुञ्ज कविता प्रतियोगिता

ए झरी
रोकिदेऊ न एकफेरी
तिमीसँग गहिरा कुरा गर्नुछ
आधा मेरो जिन्दगीको
अनि बाँकी तिम्रो अस्तित्वको
केहिबेर रोकिएर आउन सक्छौ?
तिम्रा पानीका एकएक थोपाहरुले
बिझाईरहेको छ मलाई
झस्काइरहेको छ मलाई कि
कतै म यिनै फोकाहरु जस्तै फुटेर त जाँदिन
कतै मेरो अस्तित्व पनि तिम्रै जस्तो
यसरी नै माटोमा नै त हराउँदैन ?
ए झरी,भनिदेऊ न मलाई
कसरी खुशी छौ तिमी यो सँग पनि?
तिम्रो अस्तित्व तिमी खसेको एकएक
थोपाहरुसँगै मेटिँदै गईरहेको छ
तैपनि दर्केर परिरहेछौ
के तिमी रुँदै छौ हो ?
यी पानीका एक एक थोपा
तिम्रा आँशु त होइनन्?
लाग्दैछ कसैले तिम्रो भावनामाथि खेलवाड गर्दैछ
यो माटोबाट आईरहेको गन्ध
कतै तिम्रो रोदनको गन्ध त होइन?
तिमी गर्जिरहेछौ
कतै त्यो गर्जाई
तिम्रो क्रन्दनको आवाज त होइन?
ए झरी रोकिदेऊ न एकफेरी
तिमीसँग गहिरा कुरा गर्नुछ ।।

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *