भर्जिन फिलिङ्स् ! || Nepali Poem | Sameer Sapkota

nepali poem

उही पुरानो जिन्दगी कति जिउनु,
उही पुराना भोगाइ कति भोग्नु,
उही पुराना कथा कति सुन्नु,
उही पुराना राग कति गाउनु,
“आइ मिस माइ भर्जिन फिलिङ्स्”

मलाई फेरी जन्मिनुछ,
भर्जिन रुवाइ रुनुछ,
भर्जिन हाँसो हाँस्नुछ,
“बा”को अँगालोमा सुरक्षित महसुस गर्नुछ,
“आमा”को काखमा निदाएर, “ठूलो मान्छे भएको सपना” देख्नुछ,
भर्जिन हिँडाइ पछिको विश्व विजेताको फिलिङ फेरी फिल गर्नुछ,

यो समाजको रङमञ्चमा रमाएको उह‌ी पुरानो नाटक कति गर्नु,
रित्तिएका हृदय रसाएको उही पुरानो कल्पना कति कल्पिनु,
उही पुरानो जिन्दगी कति जिउनु,
त्यसैले त,
“आइ मिस माइ भर्जिन फिलिङ्स्”

मलाई फेरी पहिलो पटक स्कुल जानुछ,
भर्जिन “क-ख-रा” पढ्नुछ,
भर्जिन “ए-बि-सि-डी” रट्नुछ,
राम्रो होमवोर्क गरेर फेरी म्यामको स्टार अनि किट्क्याट पाउनुछ,
जाँचमा फर्स्ट भएर फेरी गियरवाला साइकल कुदाउनुछ,
भर्जिन “फाइट” पछी प्रिन्सिपल म्यामको अफिस जाँदाको फिलिङ फेरी फिल गर्नुछ

यो कहिल्यै नसकिने म्याराथन दौडने साहस कसरी जुटाउनु,
उही पुरानै नभेटिने खुशीको मूल कति खोज्नु,
उही पुरानै जिन्दगी कति जिउनु,
उही पुराना भोगाइ कति भोग्नु,
त्यसैले त,
“आइ मिस माइ भर्जिन फिलिङ्स्!!”

कहिलेकाँही,
यी यादका कुन्यु भत्काउन मन लाग्छ,
यी रहरका भकारी रित्याउन मन लाग्छ,
समयसँग सम्झौता गरेर उही खुशी फर्काउन मन लाग्छ

हठात्!!
हठात् ,सम्झन्छु,
“बा”का चाउरी परेका गाला,
“आमा”का हिलोले खाएका पैँताला,
भाइका आशा भरिएका आँखा,
अनि,
मेरा ती गगनचुम्बी सपना!!

ती नियतीले बन्धकी राखेका सपनाका खातिर,
ती निर्दयी भागीको फेल नपरेका निर्दोष आँखाका खातिर,
ती हिड्ँदा-हिड्ँदै गलेका गोडाका खातिर,
ती जिम्मेवारीका बोझले कुप्रिएका काँधका खातिर,

यिनै यादका कुन्युको आड लाग्नुछ,
यिनै रहरका भकारीको भर पर्नुछ,
यिनै “भर्जिन फिलिङ्स्”हरुको समाधी बनाउनुछ!!

-फिरन्ते फिक्सनर

 

Image by Myriam Zilles

 

Read More Nepali Poem:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *