जन्मदिनको हार्दिक समवेदना । Nepali Poem | Anish Pokhrel

आजको दिन तिमी जन्मियौ-
म तिमीलाई पहिलो पल्ट देख्दैछु,
मेरी छोरी
तिमीलाई तिम्रो जन्मदिनको
हार्दिक शुभकामना ।
तर छोरी
तिमी जन्मेकै क्षण,
तिम्रो बुबाले ७औँ पल्ट नि छोरी
भन्दै तिमीलाई हेर्न समेत मानेनन्
त्यसैले छोरी
तिमीलाई तिम्रो जन्मदिनको
हार्दिक समबेदना ।

आज तिम्रो ५औँ जन्मदिन-
कापीकलमको भारी बोकाउ न त भन्दा
तिम्री आमाले तिम्रो हातमा
हसिया र डोको दिइ
स्यौलाको भारी बोकाएर
एकै शब्दले नासो सरह बनाइन
“पराइको नासो”,
त्यसैले छोरी
तिमीलाई तिम्रो जन्मदिनको
हार्दिक समबेदना ।

आज तिम्रो १३औँ जन्मदिन-
तिम्रो त्यो कोमल योनीबाट
रगतको धारा बग्दा
तिम्री हजुराआमाले
तिमीलाई त्यो मैलो भैंसीको
गोठभित्र थुन्दा
त्यो भुइको चिसो तिमीले तापिरहँदा
तिम्रो जीउले ऐया समेत भनेन,
त्यसैले नातिनी
तिमीलाई तिम्रो जन्मदिनको
हार्दिक सबेदना ।

आज तिम्रो १७औँ जन्मदिन-
तिमीले आफू बालिका भइकन पनि
७ घण्टाको
लामो प्रसव वेदना सहेर
एक मृत बालकलाई जन्मदियौ,
तिम्रा ससुराबाले
तिमीलाई त्यही निउमा
७औँ दिन खान दिएनन्,
त्यसैले मेरी बुहारी-
तलाई तेरो जन्मदिनको
हार्दिक समबेदना ।

आज तिम्रो २१औँ जन्मदिन-
सुखी रहुला भनी
परगाउँ गएका तिम्रा पुरुष
रातो रुमाल बेरेको
माटोको सानो घैटोमा फर्किए,
सातौँ जुनीसँगै रहुँला भनेका उनले
चट्ट छाडी जाँदा वेदनाले
तिमी मुर्छा परेको कसैले देखेनन्,
तिम्रो सिरको रातो अनि हातका चुरा
जीवनभरका लागि रङ्हिन सेतो रङ भएको
पनि कसैले देखेनन्,
तैले इन्द्रेणीको सातैरङ समेत
सेतो देख्न थालेको कसैले बुझेनन्
घाम उदाउन नपाउदै
त्यो पश्चिम् पुर्वमा सरेको कसैले देखेनन्
त्यसैले प्यारी
तलाई तेरो जन्मदिनको
हार्दिक समबेदना ।

बाबुद्वारा तिरस्कृत मेरी छोरी…
तिमीलाई जन्मदिनको
हार्दिक समबेदना…!

सजिलै अविछिन्न नासो भएकी मेरी छोरी..
तिमीलाई जन्मदिनको
हार्दिक समबेदना ।

समाजको कुरितीलाई पानी झै पिएकी मेरी नातिनी..
तलाई जन्मदिनको
हार्दिक समबेदना ।

समाजको, घरको अंश खाने भाग सकुशल दिन नसक्दा, आफ्नो खानाको भाग नपाएकी मेरी बुहारी
तलाई जन्मदिनको
हार्दिक समबेदना

इन्द्रेणी रङबाट सेतो रङमा परिवर्तन हुँदासम्म पनि आफ्नै धुनमा सहिरहेकी मेरी प्यारी
तलाई जन्मदिनको
हार्दिक समबेदना ।।।

तलाई जन्मदिनको
हार्दिक समबेदना ।।।

-Anish Pokhrel

Image by Ryan McGuire

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *